लुम्बिनीका कांग्रेस सभापतिको दाबी- सबैसँग समन्वय गरेर सरकार जोगाउने प्रयास हुन्छ – Nepal Press

लुम्बिनीका कांग्रेस सभापतिको दाबी- सबैसँग समन्वय गरेर सरकार जोगाउने प्रयास हुन्छ

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले पार्टी केन्द्रसँग प्रदेशको विषय प्रदेश पार्टी र संसदीय दललाई जिम्मा दिन प्रस्ताव गरेको र त्यो विषयमा सकारात्मक तरिकाले छलफल भएको जनाएका छन् ।

प्रदेशमा पार्टी नेतृत्वको सरकार अल्पमतमा परेको विषयमा संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित काठमाडौंको बैठकमा सहभागी भएका सभापति पुनले कुन प्रदेशमा कुन दलसँग गठबन्धन गर्ने, समन्वय गर्ने विषय तत्तत् प्रदेशलाई जिम्मेवारी दिन माग गरेको बताए ।

‘सबै प्रदेशको एकै विषय नहुनसक्छ, एक ठाउँमा एक दलसँग सहकार्य गर्नुपर्ने हुनसक्छ, अर्को प्रदेशमा अर्कोसँग गर्नुपर्ने हुनसक्छ, त्यसैले यो विषय प्रदेशलाई जिम्मेवारी पार्टी केन्द्रले दिनुपर्छ भनेर हामीले स्पष्ट कुरा राखेका छौं यो सकारात्मक हिसाबले अगाडि बढेको छ, अन्य प्रदेशका साथीहरु पनि यसमा सकारात्मक हुनुहुन्छ’, उनले भने ।

कांग्रेसले नयाँ राजनीतिक समीकरण बनेपछि सबै प्रदेशमा आफू नेतृत्वको सरकार जोगाउन र सम्भव हुने ठाउँमा नयाँ बनाउनेबारे छलफल गर्न दलका नेता तथा पार्टी सभापतिहरुलाई काठमाण्डौमा बोलाएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशलाई दिने सहमति भएको सभापति पुनले बताए ।

‘एकल सरकार बन्ने स्थिति नभएको ठाउँमा केन्द्रको परामर्शमा अन्य दलसँग छलफल र सहकार्य गरेर अघि बढ्ने कुरा स्वभाविक हुन्छ, एमाले माओवादी गठबन्धनमा रहेकाबाहेक अन्य दललाई सहकार्य गर्न आग्रह गर्ने गरी छलफल भएको हो’ उनले भने ।

सभापति पुनले प्रदेशमा चौथो ठूलो शक्ति राप्रपासँग पनि कुराकानी भएको र त्यो सकारात्मक ढंगले अघि बढेको बताए । ‘नयाँ गठबन्धनमा नभएका र भएका पनि केही दलसँग विभिन्न तरिकाले कुराकानी भइरहेको छ, जति भएका छन् सकारात्मक छा्, राप्रपाले हामीले राखेको कुरा सहकार्यमा जाउँ नै भन्ने छ’ पुनले भने । यसअघि राप्रपाले आफ्नो कुनै गठबन्धनमा जाने विषयमा सहमति नभएको जनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर