‘प्रहरीको शक्ति नेतालाई नसुम्पिनू, तस्कर-गुण्डा र अपराधीसँग हात मिलाएको दृष्य देख्नु नपरोस्’ – Nepal Press

‘प्रहरीको शक्ति नेतालाई नसुम्पिनू, तस्कर-गुण्डा र अपराधीसँग हात मिलाएको दृष्य देख्नु नपरोस्’

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्‍याएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्देशन दिए ।

‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस्। अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस्’, उनले भने, ‘कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’

कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न भनेका छन् ।

‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’, लामिछानेले भने ।

उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी पनि दिए । प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न रहेको देखिए हदैसम्मको कारबाही हुने भन्दै उनले थपे, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर