दुई मन्त्रीमाथि संसदीय दलको बैठकमा माया र माधवका अनेकौं सवाल- प्रचण्डको हाँसो नै जवाफ – Nepal Press

दुई मन्त्रीमाथि संसदीय दलको बैठकमा माया र माधवका अनेकौं सवाल- प्रचण्डको हाँसो नै जवाफ

माओवादी सांसदले भने- नारायणकाजीभन्दा विष्णु पौडेल क्रान्तिकारी र नैतिकवान, शक्ति बस्नेत मन्त्री छन् भन्ने कुरा जाजरकोटबासीले हट्दा र शपथग्रहणमा मात्र थाहा पाउँछन्’

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकमा दुई वरिष्ठ नेतासमेत रहेका मन्त्रीहरूमाथि सांसदले प्रश्न उठाएका छन् । उनीहरूले एउटै व्यक्तिले सधैँ आकर्षक मन्त्रालयसहित सरकारमा सहभागी भइरहन पाउनुको कारणसमेत अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग मागेका छन् ।

शनिबार माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू सहभागी थिए । राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन र विश्वासको मतको प्रयोजनका लागि राखिएको बैठकमा दलका नेता प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनको बारेमा संक्षिप्तमा ब्रिफिङ गरेका थिए ।

बैठकमा सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव सापकोटा र जाजरकोटबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने मायाप्रसाद शर्माले गम्भीर प्रश्न उठाएपछि माहौल फेरिएको थियो । यद्यपि जवाफ दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले भने ती सांसदको प्रश्न र व्यंग्य सुनेपछि हाँसेर टारेको बैठकमा एक सहभागीले बताए ।

माओवादीका एक सांसदका अनुसार सिन्धुपाल्चोकका सांसद सापकोटाले मन्त्री छान्ने मापदण्डबारे प्रश्न उठाएका थिए । उनीसहित केही सांसदले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजीको नामै लिएर आलोचना गर्दै दबाब, प्रभाव र घुर्की देखाएर सधैँ मन्त्री बनिरहेको आरोप लगाएका हुन् ।

सापकोटाको भनाइ थियो– ‘मेरो घरमा तीन जना सहिद छन्, हाम्रो सापकोटा परिवारबाट ८ जना, गाउँभरिमा २२ जना सहिद छन्। मेरो गाउँमा माओवादीको जनाधार सबैभन्दा बलियो छ। ९० प्रतिशत मत मेरो वडा र पालिकाबाट मैले पाएको छ । विधि पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गर्नेलाई मन्त्री बनाउन थालियो। यस्तो विधि पार्टीमा कहाँ छ?
बैठकमा अमनलाल मोदी,सुर्यमान दोङलगायतले मन्त्री चयनको मापदण्डमाथि प्रश्न उठाउँदै कोही दोहोरिने,कोही हट्ने किन भन्ने प्रश्न गरेका थिए ।

सांसदहरुले एमाले उपाध्यक्ष विष्णु पौडेल माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठभन्दा धेरै क्रान्तिकारी र ‘डिग्निटी’ भएको नेता रहेछन् भन्दै गृह र अर्थ एमालेले नपाएपछि पौडेल सरकारमा नगएको उदाहरण दिएका थिए । उनीहरुले त्यति नैतिकता पनि नारायणकाजीमा नदेखिएको आरोप लगाएका थिए । रघुवीर महासेठभन्दा तलको वरीयतामा झर्न समेत तयार भएकोमा व्यंग्यसमेत गरेको एक सांसदले बताए ।

सापकोटाको भनाइ थियो- ‘विगतमा हाम्रो पार्टीमा मन्त्री छान्ने २ वटा मापदण्ड थिए । कि त पार्टी कमिटीबाट निर्णय हुन्थ्यो, कि नेतृत्वले गर्थ्यो । यसपटक के आधारमा गरिएको हो ? हाम्रो कमरेड नारायणकाजी आफूलाई क्रान्तिकारी भन्नुहुन्छ तर एमालेले गृह र अर्थ नपाएपछि विष्णु पौडेल सरकारमा गएनन्, तर उहाँले गृह नपाए पनि परराष्ट्रमा जानुभयो । कहाँ गयो क्रान्तिकारी नैतिकता ?’

 

शक्तिमाथि मायाको छायाँ

संसदीय दलको बैठकमा ऊर्जामन्त्री शक्ति बस्नेतको योग्यता र सधैँ मन्त्रीमा दोहोरिने मापदण्डबारे मायाप्रसाद शर्माले प्रश्न उठाएका थिए । उनले आफू कुनै बेला शक्तिभन्दा सिनियर नेता रहेको स्मरण गराउँदै शक्तिले बारम्बार खान पाइरहेको र आफूले मन्त्री बन्न नपाएको कारण मागेका थिए ।

शर्माको भनाइ थियो- ‘मेरो जिल्ला जाजरकोटका एकजना नेता हुनुहुन्छ शक्ति बस्नेत । म कुनै बेला उहाँको नेता थिएँ । उहाँ सरकारमा मन्त्री हुनुहुँदोरहेछ भन्ने कुरा अस्ति पदमुक्त हुँदा र फेरि शपथग्रहण गर्दा मात्र थाहा भयो । उहाँमा के त्यस्तो योग्यता क्षमता रहेछ सधैँ मन्त्री भइरहन पाउने, अनि ममा के कमी रहेछ मैले नपाउने ?’

शक्ति बस्नेत मन्त्री भएको जाजरकोटबासीले महसुस नगरेको उनको आरोप थियो । बैठकमा केही सांसदले नारायणकाजी श्रेष्ठलाई देशभरको कुनै एक निर्वाचन क्षेत्रबाट जितेर देखाउन र आजीवन मन्त्री बन्न चुनौतीसमेत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर