शालीन आत्महत्याको पाठ: पारिवारिक विखण्डनले सन्तानको बिल्लिबाठ – Nepal Press

शालीन आत्महत्याको पाठ: पारिवारिक विखण्डनले सन्तानको बिल्लिबाठ

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका- १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शालीन पोखरेल गत फागुन १२ गते स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । उनको मृत्युलाई लिएर अनेक खालका बहस/विमर्श भइरहेका छन् ।

तर, शालीनको मृत्यु आत्महत्या नै भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । उनका पितालगायत परिवारजनले भने आत्महत्या नभएर ‘बलात्कारपछि हत्या’ भएको भाष्य बनाएका छन् । यसलाई मलजल गर्ने काम केही कथित अभियन्ताहरुले गरिरहेका छन् । कतिपयले ‘दोस्रो निर्मला पन्त’को संज्ञासमेत दिन भ्याएका छन् । प्रहरी स्रोतले भने अहिलेसम्मको अनुसन्धानमा त्यस्तो शंकास्पद मान्नुपर्ने आधार नभेटिएको बताएको छ ।

शालीनका पिता दीपेन्द्र पोखरेल भने विभिन्न मिडियाहरुमा अन्तर्वार्ता दिँदै बलात्कारपछि हत्या भएको ठोकुवा गरिरहेका छन् । उनकी आमा पनि आफ्नी छोरीलाई ‘दोस्रो निर्मला पन्त नबनाइदिनु होला’ भन्दै मिडियामा छाइरहेकी छन् ।

शालीनको ‘बलात्कारपछि हत्या’ हो वा ‘आत्महत्या’ ? प्रहरीको अनुसन्धानले भन्ला । यदि आत्महत्या नै हो भने पनि एउटी अवोध बालिकाले यति डरलाग्दो निर्णय किन र कसरी लिइन् ? के कुराले उनलाई यस्तो गलत बाटो चुन्न बल पुर्‍यायो ? उनले यस्तो निर्णय लिनु पछाडिको मनोविज्ञान केलाउने हो भने आमाबाबु सबैभन्दा दोषी देखिन्छन् । उनीहरुले अभिभावकको रुपमा जुन खालको जिम्मेवारी निर्वाह गर्नुपर्ने थियो, त्यहाँ उनीहरु चुकेको देखिन्छ ।

अहिले युट्युबतिर अन्तर्वार्ता दिँदै हिँडेका आमाबाबुले शालीनलाई ४ वर्षको हुँदादेखि नै आफूबाट अलग्याएका थिए । अभिभावकको जिम्मेवारीबाट उनीहरु फुत्त भागेका थिए । विगत १० वर्षदेखि अलग बसेका आमाबाबुको दुई वर्षअघि मात्रै डिभोर्स भएको थियो ।

डिभोर्सपछि उनीहरुले आआफ्नो घरजम गरे र शालीनलाई लगेर होस्टेलको कोठामा थन्क्याइदिए । यसरी आमाबुवाको सामिप्यता गुमाएका बच्चाहरु कस्तो मनोदशामा हुर्किरहेका छन् भन्ने यो घटनाबाट उजागर भएको अर्को संवेदशील पक्ष हो ।

हो, आफ्नो सन्तान गुमाउँदा आमाबाबुलाई असह्य पीडा हुन्छ नै । शालीनको मृत्युले परिवारमा परेको चोट अगणित छ । तर, शालीनले यस्तो डरलाग्दो निर्णय लिनुअघि परिवारले माया र प्रेम दियो कि दिएन ? होस्टेलमा बुवा एक पटक भेट्न गए । आमा दुबईमा थिइन् । दुबईबाट नेपाल आएर एकै पटक मिडियामा देखा परिन् । होस्टेलमा थन्काइएकी शालीनलाई सन्चो विसन्चोबारे कति पटक आमाबुवाले सोधे ? उनलाई अप्ठेरो, गाह्रो परेको वेला आमाबाबुले कतिको चासो राखे ? यो अर्को संवेदनशील प्रश्न हो ।

०००

एक अध्ययनअनुसार अमेरिकामा दुईमध्ये एक बच्चा (५० प्रतिशत)हरु आफ्नो अभिभावकको डिभोर्समा अदालतमा साक्षी बस्नुपर्छ । अभिभावकको सामिप्यतामा हुर्किएका बच्चाहरुभन्दा दुई गुणा ज्यादाले स्कुल छाड्ने गरेका छन्, जसको आमाबाबुको डिभोर्स भएको हुन्छ । अभिभावकले डिभोर्स गरेका बच्चाहरुमध्ये ३० प्रतिशतमा आजीवन नकारात्मक प्रभाव पर्छ । डिभोर्स गरेको परिवारका बच्चाहरुमा आत्मबल कमजोर हुने र आफैंप्रति पनि विश्वास कम हुने गर्छ ।

अमेरिकामा सन् २०२३ मा साइकियट्री रिसर्चले एक अध्ययन गरेको थियो । अध्ययनमा ६ हजार ६४७ जना सामेल थिए । यसमध्ये पनि ६९५ जनाको १८ वर्षभन्दा कम उमेरमै आमाबाबुको डिभोर्स भएको थियो ।

यस अध्ययनले के पुष्टि गर्‍यो भने अभिभावकको साथमा हुर्किएका छोराहरुभन्दा बाबुआमाको डिभोर्स भएकाहरुमा तीन गुणा ज्यादा आत्महत्याको सोच आउने गर्छ । त्यस्तै परिवारको साथमा हुर्किएका छोरीहरुभन्दा अभिभावकको डिभोर्स भएकाहरुमा ८३ प्रतिशत ज्यादा आत्महत्याको सोच आउने गर्छ । यसका अलावा समाजमा फिट हुन परिवारको डिभोर्स भएका बच्चाहरुले सामान्यभन्दा चार गुणा बढी समस्या झेल्ने गर्छन् । साथै उनीहरुमा हुने मानसिक समस्याको फेहरिस्त झनै लामो हुन्छ ।

यी अध्ययनले के पुष्टि गर्छ भने बाबुआमा अलग्गिएपछि कलिला बच्चाहरुले धेरै जटिल समस्या सामना गर्नुपर्छ । उनीहरुले समाजमा फिट हुन गर्ने संघर्षदेखि झेल्ने मानसिक समस्याहरुसम्म सामान्य बच्चाहरुको तुलनामा कैयौं गुणा ज्यादा हुने गर्छ ।

र, शालीन पोखरेलको घटनाले उठाएको अर्को संवेदनशील सवाल हो, हामीले बालबच्चालाई कस्तो पारिवारिक वातावरणमा हुर्काइरहेका छौं ? उनीहरुको मानसिक स्वास्थ्यलगायत अनेक समस्यामा परिवारको साथ छ कि छैन ? माया, प्रेम, स्नेह दिने सवालमा परिवार संवेदनशील छ कि छैन ? मिडियामा आएर प्रहरी अनुसन्धानलाई नै विथोल्ने गरी बोलिरहेका आमाबाबुले शालीनले भोगिरहेको मानसिक समस्याबारे कति पटक चासो राखे ?

०००

काठमाडौं उपत्यकामा बैंकिङ कसुरपछि दोस्रो स्थानमा छ डिभोर्सको मुद्दा । डिभोर्स गर्नेहरुको अदालतमा भीड लाग्छ । ठूल्ठूला कारणदेखि सानातिना घटनासम्ममै इगोका कारण डिभोर्सको निर्णय लिने जोडीहरु अदालत परिसरमा भेटिन्छन् । उनीहरु डिभोर्स गरेर स्वतन्त्र हुन त चाहन्छन् । तर, साथमा रहेको बच्चाप्रति उति संवेदनशील देखिँदैनन् । कि आमाले संरक्षकत्व लिन्छिन् कि बाबुले । तर, एउटा बच्चालाई त आमाबाबु दुवैको मायाको उत्तिकै जरुरत पर्छ भन्नेबारे उनीहरु सोच्दैनन् । बस्, भरणपोषणको लागि केही पैसा दियो, सक्कियो !

नेपालमा पछिल्लो समय डिभोर्स गर्ने क्रम तीव्र गतिमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । २०७७/७८ सालको सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी मुद्दा नै सम्बन्ध विच्छेदको छ । जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतमा डिभोर्सको कुल मुद्दा २७ हजार ४२५ वटा छन् ।

जबकि आजभन्दा १० वर्षअघि २०६७/६८ सालमा डिभोर्सको मुद्दा जम्मा सात हजार ७०४ वटामात्रै थियो । तर, १० वर्षको अन्तरालमा डिभोर्सको मुद्दा झण्डै चार गुणाले बढेको देखिन्छ । हरेक वर्ष डिभोर्सको मुद्दाको संख्या गुणात्मक हिसाबले बढिरहेको देखिन्छ । तर, बाबुआमाले डिभोर्स गर्दैगर्दा उनीहरुले बच्चाबारे किन सोच्दैनन् ?

मनोविद् सन्देश ढकाल भन्छन्, ‘हाम्रो समाज अहिले एकदमै व्यक्तिवादी भएर गएको छ । बाआमाले डिभोर्स किन गर्छन् ? आफ्ना लागि गर्छन् । बच्चाका लागि डिभोर्स गरेका हुँदैनन् । तर, डिभोर्स गरिसकेपछि आफ्नो बच्चाबारे दुवै अभिभावक गम्भीर हुन जरुरी छ ।’

०००

प्रहरी प्रधान कार्यालयको २०८०/८१ को माघसम्मको प्रतिवेदनअनुसार गएको साउनदेखि माघसम्म मात्रै १४६ बालक र ३२७ बालिकाले आत्महत्या गरेको देखिन्छ । २०७९/८० मा २६६ बालक र ५२९ बालिकाले आत्महत्या गरेका छन् । २०७८/७९ मा २५३ बालक र ४५६ बालिकाले आत्महत्या गरेका छन् । त्यस्तै २०७७/७८ मा २९४ बालक र ४७० बालिकाले आत्महत्या गरेका छन् ।

बालकभन्दा दुई गुणा ज्यादा बालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । बालिका बालकको तुलनामा बढी नै इमोसनल हुने र मनस्थितिमा उतारचढाव आइरहने भएकाले आत्महत्या गर्नेको संख्या बढी भएको हुनसक्ने मनोविद् ढकालको विश्लेषण छ । त्यसैले बाबुआमाले बालबच्चालाई राम्रो वातावरण दिन अत्यावश्यक रहेको उनी बताउँछन् ।

डिभोर्स गरिएका बाबुआमाका बच्चाहरुमा सामान्य बच्चाभन्दा किन ज्यादा जटिलता हुन्छन् त ? मनोविद् ढकाल भन्छन्, ‘आफ्ना बाआमा कामको सिलसिलामा कतै गएको बच्चाहरुलाई थाहा हुन्छ । सँगै नभए पनि कतै हुनुहुन्छ भन्ने हुन्छ । केही बिग्रेको छैन भनेर सोच्छन् । तर, बाआमाले डिभोर्स गरेका छन् भने बच्चाहरुले सोच्ने तरिका नै अलग भइदिन्छ । उनीहरुले अरुका बाआमा सँगै देखेका हुन्छन् । बाआमाले गर्ने स्याहारसुसार, हेरचाह र स्नेह देखेका हुन्छन् । अरु साथीहरु र आफूबीचको वातावरण फरक भएको महसुस गर्न सुरु गर्छन् र आफ्नो हिसाबले अर्थ्याउन सुरु गर्छन् । यो धेरै नै संवेदनशील कुरा हो ।’

घटनास्थलबाट प्रहरीले प्राप्त गरेको सुसाइड नोटमा शालीनले ‘सरी एभ्रीबडी, सरी ड्याडी मम्मी’ भनेर लेखेकी छन् । नोटका अक्षरहरु फरेन्सिक जाँचपछि शालीनले नै लेखेको पुष्टि गरिएको छ । यस अर्थमा उनले आमा र बाबुलाई सरी मागेको कुरा सामान्य हुनै सक्दैन ।

उनी आमा र बाबुविहीनताको डरलाग्दो मनस्थितिमा गुज्रिरहेकी थिइन् । हार्मोनहरु व्यापक रुपमा बदलिने उमेरमा उनलाई अभिभावकको कति खाँचो थियो, उनको नोटले पुष्टि गर्छ । तर, आमा पाकिस्तानी पुरुषसँग विवाह गरेर दुबईमा थिइन् । बाबु अर्को विवाह गरेर काठमाडौंमा थिए ।

संरक्षकत्व लिएकी आमा दुबई भएकीले भेट्न पाइनन् । तर, उनले शालीनको मनस्थितिबारे कति चासो लिइन् ? शालीनलाई कति स्नेह प्रदान गरिन् ? संरक्षकत्व भनेको होस्टेलको फिस तिरिदिनु, खर्चपानीमात्रै पठाउनु हो त ? शालीनकी आमामाथि तेर्सिएको सवाल हो यो । अनि युट्युबतिर आफ्नैखाले दाबी गरिरहेका बुवाले नौ कक्षापछि सँगै राख्ने कुरा गरेका थिए रे ! तर, शालीनले ६, ७ र ८ कक्षा पढ्दै गर्दा कहाँ थिए बुवा ? शालीनको तनाव, समस्याबारे कतिको चासो राखे ? पिताले दिनुपर्ने स्नेह दिए कि दिएनन् । दीपेन्द्र पोखरेलतिर तेर्सिएको सवाल हो यो ।

यस्तो वेला बच्चाहरुमा थरीथरीका विचार आउने, कुरा शेयर गर्ने मान्छे नभइदिँदा नकारात्मक विचारको पछि लागेर त्यस्तै क्रियाकलाप गर्ने खतरा हुने मनोविद् ढकालको विश्लेषण छ । बच्चाको मनस्थिति, उनीहरुले गरिरहेको क्रियाकलाप बुझाइदिने परिवारको सदस्य भएन भने नराम्रो निर्णय लिने सोच बच्चामा आउने ढकाल बताउँछन् ।

उनी भन्छन्, ‘बच्चाहरुले एकै पटकमा त्यस्तो निर्णय लिँदैनन् । यो क्रमिक रुपमा हुँदै जाने कुरा हो । आज एउटा घटना भयो, भोलि अर्को थपिँदै जान्छ । यस्तो वेला चाहिने मान्छे साथमा भइदिएन भने, सपोर्ट गरिदिने मान्छे भइदिएन भने जस्तो पनि घटना घट्नसक्छ । यसमा अभिभावक सचेत हुन जरुरी छ ।’

बाबुआमा अलग्गिएपछि पनि कसरी बालबच्चाको हेरचाह गर्न सकिन्छ ?

हाम्रो समाज एकदमै व्यक्तिवादी हुँदै गएको छ । अरुलाई जेसुकै होस्, आफूलाई ठीक हुनुपर्‍यो । डिभोर्स गर्ने भनेको छोराछोरीलाई सोचेर होइन, आफूलाई सोचेर हो । नयाँ संविधानले पनि डिभोर्स गर्न सजिलो बनाइदियो । साथै सामाजिक रुपमा पनि पहिला जस्तो जटिल हुँदैन डिभोर्स गरेका मान्छेलाई ।

यदि कोही बच्चाको बाआमा छुट्टिएका छन् भने नजिकका मान्छे, साथीभाइ, नातागोताले पनि राम्रो भूमिका खेल्न सक्छन् । खानपिन, बोलीव्यवहारमा परिवर्तन भएको छ, नराम्रो अवस्थाबाट बच्चा गुज्रिएको छ भने काउन्सिलिङ गर्न सकियो । यसमा स्कुलको पनि भूमिका हुन्छ ।

डिभोर्स गरेका अभिभावकहरु कानूनी हिसाबले तोकिदिएको भरणपोषण गरेर पन्छिन्छन् । उनीहरु सोच्छन्, ‘खान दिएपछि पुग्यो, लाउन दिएपछि पुग्यो । स्कुल गएकै छ । अरु के चाहियो र ?’ यो उमेरका बालबालिकालाई खान, लाउन दिएरमात्रै पुग्दैन । उनीहरुलाई माया, स्नेह पनि चाहिन्छ । उनीहरुको जिज्ञासा मेटाइदिने मान्छे पनि चाहिन्छ । यसमा अभिभावकहरु अलग्गिए पनि उनीहरुले बच्चालाई साथ दिनुपर्छ । साथै स्कुलको पनि उत्तिकै भूमिका हुन्छ । यसो गरियो भनेमात्रै अप्रिय घटना हुनबाट जोगिन्छन् बच्चाहरु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर