नेतृत्वसामु नेताहरूकाे आलोचना- कांग्रेस न आफ्नो खुट्टामा उभियो न त भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नसक्यो – Nepal Press

नेतृत्वसामु नेताहरूकाे आलोचना- कांग्रेस न आफ्नो खुट्टामा उभियो न त भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नसक्यो

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्न पाँच वटा प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा नेताहरुले सुझाव दिने क्रममा भ्रष्टाचारविरुद्धको विषयमा कांग्रेस अडिग छ भन्ने सन्देश दिन नसकेको भन्दै नेतृत्वकाले आलोचना गरेका छन् ।

बैठकमा ललितपुर सभापति जीतेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताए । कांग्रेसले शिक्षा, स्वास्थ्य र रोजगारीलाई युवासँग जोडेर योजना बनाउनुपर्ने उनको धारणा छ ।

गोरखा सभापति नन्दु न्यौपानेले नेपाली कांग्रेस पार्टी आज आफ्नै खुट्टामा उभिन नसकेको बताए । उनले भने, ‘गोरखामा गठबन्धन दलको विचार नमिलेका कारण समस्या भएको छ । नेपाली समाजमा कांग्रेसको ठूलो योगदान छ र आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुपर्छ ।’

मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसलाई विकास निर्माणसँग जोड्ने र भ्रष्टाचार अन्त्य गर्न नेतृत्व गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसले भ्रष्टाचार अन्त्य गर्न नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ ।’

बागलुङ सभापति जीतबहादुर शेरचनले पार्टीमा देखिएको निराशालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए । गठबन्धन रणनीतिक कुरा भएको र त्यो तत्कालीन समयमा निर्णय गर्नुपर्ने उनले बताए ।

धादिङका सभापति रामनाथ अधिकारीले महासमिति सदस्यहरुले जहाँबाट भोट हाल्यो, हामी एकै ठाउँमा छौं भन्ने बिर्सिएको गुनासो गरे । गठबन्धनले एकतर्फी रुपमा सरकार चलाइरहेको छ भन्ने सन्देश गएको उनले बताए ।

उनले भने, ‘गठबन्धनबारे निर्वाचनको समयमा निर्णय लिन सकिन्छ । निर्वाचन सकेको केही महिनामै जनतामा निराशा छायो ।’

नवलपरासीका सभापति महेन्द्र जीसीले प्रदेश सरकारलाई जनताले जोकरको रुपमा लिएको बताए । उनले पार्टीकाे केन्द्रीय सदस्य हुनेहरू तलबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै राख्न पनि सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर