माओवादीमा नाम फेर्ने प्रस्ताव- रुकुम, रोल्पा, कर्णाली र गोर्खाको आँखाले हेरेरमात्रै हुँदैन – Nepal Press

माओवादीमा नाम फेर्ने प्रस्ताव- रुकुम, रोल्पा, कर्णाली र गोर्खाको आँखाले हेरेरमात्रै हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव आएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ठूलो जनसंख्या भएको काठमाडौंलगायतका शहरी क्षेत्रमा पार्टी विस्तार गर्न आवश्यक भएकाले नाम फेर्न प्रस्ताव राखेका हुन् ।

रुकुम, रोल्पा, कर्णाली, गोर्खाको आँखाले हेर्दा नाम सही भए पनि काठमाडौंसहित ठूला शहरमा उपयुक्त नभएको उनको भनाइ थियो ।

उनले अधिवेशनमा सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव राखे ।

प्रस्तावमा भनिएको छ, ‘मुख्य नेतृत्वको छुट्टै महत्व रहेको छ । बाँकीले योभन्दा राम्रो गर्ने कम सम्भावना रहेको छ । आजको विज्ञान प्रविधि र प्रतिस्पर्धासमेतलाई ध्यान दिइ युवा पुस्तालाई निर्णायक स्थान दिन अर्को तरिकाबाट सम्भव नभएकाले र व्यापक जनवादमा उभिएको बलियो केन्द्रीकरण गर्न आवश्यक छ ।’

नेता शर्माले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनोट गर्न सम्बन्धित चुनाव क्षेत्रका संगठित सदस्यको मतबाट टुङ्गो लगाइ सम्बन्धित तहको पार्टीले अनुमोदन गर्ने, प्रदेश पार्टी कमिटीलाई स्कुलिङ, संगठन, आर्थिक र सामाजिक क्षेत्रका कामका साथै आफ्नो तहको निर्वाचन, सरकार निर्माणसँग सम्बन्धित सबै निर्णय गर्ने अधिकार प्रदान गर्ने, प्रदेश अध्यक्ष, स्थायी वा पीबीमा भोटिङ राइटसहित पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् ।

उनको प्रस्तावमा स्थानीय तहका पार्टीहरुको पनि सोहीअनुसार अधिकार र प्रतिनिधित्व गर्ने व्यवस्था राख्ने, जबसमा एक तिहाइभन्दा बढी पार्टी सदस्यहरु नरहने र दुई तिहाइ गैरपार्टी सदस्य हुनुपर्ने उल्लेख छ ।

शर्माको ८ बुँदे प्रस्तावमा भनिएको छ, ‘सम्बन्धित पार्टीको बढीमा दुई जनामात्र जबसमा पठाइनेछ । पार्टीको वैचारिक, राजनैतिक एवं नीतिगत मार्गनिर्देशन स्वीकार गरी समाजवादी उद्देश्यमा प्रतिबद्ध भई जनवर्गीय स्वत्व र स्वायत्तता प्रयोग गर्नेछन् । पार्टीले विचार र नीति सम्प्रेषण गर्न जवस प्रमुखहरुको एक संयोजन समिति बनाउनेछ । जवसहरुले आ–आफ्ना मुद्दाका अलावा राष्ट्रियता जनजीवीका, भ्रष्टाचारविरुद्ध सामाजिक न्यायको पक्षमा आन्दोलन गर्न स्वतन्त्र हुनेछन् । मोर्चा संगठनले आफ्नो भाषा, संस्कृति, पहिचानको पक्षमा संघर्ष र रक्षा गर्न पाउने उल्लेख गर्दै पार्टीले आत्मनिर्णयको अधिकारको सैद्धान्तिक मान्यतालाई आत्मसात गरेर पहिचानलाई स्वीकार गर्ने र पार्टी सदस्यताका लागि नेपाली नागरिकका साथै गैरआवासीय नेपालीले पनि आवेदन दिन पाउनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर