मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिताः दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी विजयी – Nepal Press

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिताः दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी विजयी

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा मधेस प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको हो । आर्मीले मधेसलाई २५।१२, २५।१२, २५ १३ मा रोक्दै विजयी भएको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मी क्लबका खेलाडी राजेन्द्र बिष्ट खेलको म्यान अफ द म्याच हुन सफल भएका छन् । बिष्टलाई नगद सहित सम्मान गरिएको थियो । दोस्रो खेल लुम्बिनी प्रदेश र बाग्मती प्रदेशबीच भएको खेलमा लुम्बिनी प्रदेश विजयी हुन सफल भएको छ । बाग्मती प्रदेशलाई खेलभरी दबाबमा राख्दै २५।२० २५।२३ २५।१९ बनाएर लुम्बिनीले सोझो सेटमा जित निकालेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै लुम्बिनी प्रदेशका खेलाडी कमल गहतराज म्यान अफ द म्याच घोषित भएका थिए । सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच भएको खेलमा कोशी प्रदेश विजयी भएको छ । यो खेल निकै प्रतिस्प्र्धात्मक चलेको थियो तर पहिलो सेट जितेको सुदूरपश्चिम प्रदेशका खेलाडीले दोस्रो, तेस्रो, चौथो सेटमा भने जित निकाल्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कोशी प्रदेशका खेलाडी बिष्णु बस्नेतलाई नगदसहित सम्मान गरिएको थियो ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच भएको खेलमा सोझो सेटमा गण्डकी प्रदेशले जित हात पारेको छ । २५।१४, २८।२६, २५।१३ बनाउँदै गण्डकी प्रदेश बिजयी भएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशका उत्कृष्ट खेलाडी हरि पान्डेयलाई नगदसहित सम्मान गरिेएको थियो । लिककम नकआउट अन्तरगत खेल चलिरहेको मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए ।

अहिले पहिलो चरणको खेल चलिरहेको उनको भनाइ छ । खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैयाँसहित कप मेडल प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगदसहित कप मेडल प्रमाणपत्र पाउने छन् । सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँसहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर