प्रदेशकै दोस्रो सर्वाधिक राशीको सुर्यनगर गोल्डकप साेमबारदेखि – Nepal Press

प्रदेशकै दोस्रो सर्वाधिक राशीको सुर्यनगर गोल्डकप साेमबारदेखि

रुपन्देही । लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशीको ८ औंंं सस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ गतेबाट सुरु हुने भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडानम्बर १६ मा रहेको नवयुवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सूर्यनगर गोल्डकप सञ्चालन हुँदै आएको छ । यस पटकको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने आयोजक क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगर क्षेत्रमा आधुनिक खेल मैदानको रुपमा सूर्यनगर रङ्गशालाई अगाडि बढाउँदै लगिएको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि समेत नगरले विभिन्न बिधागत खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताए ।

स्थानीयस्तरमै दक्ष खेलाडी उत्पादन मात्र नभै सुर्यनगर गोल्डकपले नगरसँगै समग्र जिल्लालाई नै परिचित बनाउन सफल भएको वडाध्यक्ष भिमकाजी गुरुङले बताए । सूर्यनगर गोल्डकप बर्दघाट नगरको चिनारीसग जोडिएको उनले बताए।

ए डिभिजन लिगका राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडीहरुको सहभागिता हुने उक्त फुटबल प्रतियोगिताका संचालनका लागि झन्डै ५० लाख रकम लाग्ने क्लबका अध्यक्ष अमर थापाले जानकारी दिए । बर्दघाट नगरपालिकाको १० लाख र अन्य ब्यवसायी, स्थानीय र संघसंस्थाबाट बाँकी सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रथम हुने टिमले नगद ५ लाख र द्वितीय हुने टिमले ३ लाख हात पार्नेछ्न् । रंगशाला निर्माण र स्तरोन्नतिका लागि नगर र लुम्बिनी प्रदेश सरकारले समेत बजेट उपलब्ध गराउँदै आइरहेको छ । १५ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अपेक्षा छ । फागुन ७ गते गोल्डकपको समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *