जलवायु परिवर्तनको असर कम गर्न नीति कार्यान्वयनमा जोड – Nepal Press

जलवायु परिवर्तनको असर कम गर्न नीति कार्यान्वयनमा जोड

रुपन्देही । बढ्दो जलवायु परिवर्तनको असर रोक्नका लागि वातावरण संरक्षणमा सरकारको नीति कार्यान्वयनलाई विज्ञहरुले जोड दिएका छन् ।

जलवायु परिवर्तनसँगै उत्पन्न हुने प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा जोड दिन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने उनीहरुको सुझाव छ ।

पर्यावरण संरक्षण समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको ’पर्यावरणीय मुद्दा’ विषयक अन्तरक्रियामा सहभागीहरुले वातावरण संरक्षणमा सामुहिक रुपमा कलम चलाउन सुझाव दिए ।

वातावरण विज्ञ तथा पत्रकार डिआर घिमिरेले जलवायु परिवर्तनका कारण विश्वले निकट भविष्यमै ठूलो चुनौतिको सामना गर्नुपर्ने चेतावनी दिए । पृथ्वीको बढ्दो तापक्रम, प्रदूषण, पानीको मुहान सुक्दै जानु तथा हरियाली वन जँगलभित्रका जमिन समेत सुख्खा र खुइँलिँदै जाँदा प्रकोपको जोखिम बढ्दै गएको उल्लेख गरे ।

यसैगरी वातावरण विज्ञ तथा सामुदायिव वन समन्वय समिति तिनाउ गाउँपालिका संयोजक दलबहादुर गुरुङले मानवीय क्रियाकलापले प्रदुषणमा भएको वृद्धिलाई कम गर्न सञ्चार जगतले कलम चलाउनुपर्नेमा जोड दिए । हरियाली संरक्षणका लागि डढेलो नियन्त्रण, जलाधार क्षेत्रको संरक्षण, फोहरमैला व्यवस्थापन तथा प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्नुका साथै अव्यवस्थित शहरी बिकासलाई रोक्नुपर्नेमा जोड दिए ।

विगतमा सामान्य मानिएको जलवायु वरिवर्तनको मुद्दाले विश्वका विकसित राष्ट्रहरुले अहिले मूल मुद्दा बनाएर अघि बढेको बताउँदै उनले नेपालमा पनि राजनीतिक मुद्दाको रुपमा यसलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

समाजकी अध्यक्ष गंगा पोखरेलले प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई कम गर्नुका साथै हरेक व्यक्ति तथा परिवारमा वातावरणमैत्री व्यवहारको बिकासमा जोड दिइन् ।

पर्यावरण संरक्षणका लागि हरेक व्यक्तिले आफूबाट सुरु गरी परिवार र समाजमा अभियानकौ रुपमा अघि बढाउनुपर्ने बताइन् । वातावरण प्रदूषण र यसबाट निम्तिन सक्ने विपदबारे भिडियो सामग्री प्रस्तुत गर्दै उनले बुटवलमा बढ्दो प्रदूषण तथा सम्भावित संकटबारे उल्लेख गरेकी थिइन् ।

समाजका महासचिव कृष्णप्रसाद घिमिरले सबैको समन्वयमा पर्यावरणीय संरक्षण अभियान चलाउन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *