‘१६-१७ वर्ष हुँदा पनि महिनावारी भएन ? पाठेघर नै नभएको हुनसक्छ’ – Nepal Press
नेपाल टक

‘१६-१७ वर्ष हुँदा पनि महिनावारी भएन ? पाठेघर नै नभएको हुनसक्छ’

स्त्रीरोग विशेषज्ञ डा. करिश्मा पाण्डे भन्छिन्- पेट दुःखेपिच्छे लिइने पेनकिलरले मृगौलामा असर गर्नसक्छ

काठमाडौं । योनीमार्फत पाठेघरको भित्री अस्तरबाट रगत र म्युकोसल तन्तुको नियमित स्राव हुनु महिनावारी हो । शरीरमा भएको प्रोजेस्टेरोनको स्तर घट्दा महिनावारी सुरु हुन्छ । यो गर्भावस्था नभएको संकेत हो ।

यति भनेपछि प्रोजेस्टेरोन भनेको के हो भन्ने कौतुहल जाग्नसक्छ । प्रोजेस्टेरोन भनेको मानव शरीरमा हुने एक अन्तर्जात स्टेरोइड हर्मोन हो, जुन सामान्यतया एड्रेनल कोर्टेक्स र गोनाड्स नामक ग्ल्यान्ड्सहरुद्वारा बन्छ । यसमा अण्डाशय र अण्डकोषहरू हुन्छन् । अण्डकोष पुरुषको प्रजनन प्रणालीको भाग हो, जसले शुक्राणु र हर्मोन बनाउँछ । अण्डाशय महिलाको प्रजनन प्रणालीको एक महत्वपूर्ण भाग हो, जसले हर्मोन उत्पादन गर्छ र नियमित महिनावारी र गर्भावस्थामा मद्दत गर्छ ।

पहिलो महिनावारी सामान्यतया १२ देखि १५ वर्ष उमेरको बीचमा सुरु हुन्छ । त्योभन्दा सानो उमेरमा सुरु हुने महिनावारीलाई पनि सामान्य नै मानिन्छ । महिनावारी चक्र (महिलाको महिनावारीको पहिलो दिनदेखि अर्को महिनावारीको अघिल्लो दिनसम्मको समय) को लम्बाइ महिलापिच्छे फरक हुन्छ । तर, औसतमा प्रत्येक २८ दिनमा महिनावारी हुन्छ । योभन्दा लामो वा छोटो (२३ देखि ३५) दिनको नियमित महिनावारी चक्रलाई पनि सामान्य मानिन्छ ।

महिनावारी हुँदा रक्तस्राव सामान्यतया २ देखि ७ दिनसम्म रहन्छ । गर्भावस्थाको समयमा महिनावारी रोकिन्छ । महिनावारी र गर्भावस्थाको सम्भावना, रजोनिवृत्ति (मेनोपज)पछि बन्द हुन्छ, जुन सामान्यतया ४५ र ५५ वर्षको बीचमा हुन्छ ।

यी त भए सामान्य महिनावारी र यसबेला हुने नियमित रक्तस्रावका कुरा । तर, सबै महिलामा महिनावारी सहज ढंगले सकिन्छ भन्ने छैन । सामान्यतया २८ दिनमा हुनुपर्ने महिनावारी कसैलाई नियमित नहुनसक्छ । कसैलाई समयभन्दा अगाडि हुनसक्छ, कसैलाई महिनावारी नै नहुने समस्या पनि देखापर्छ । महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, उच्च रक्तस्रावका कारण कसैलाई अस्पताल भर्ना गर्नुपर्ने सम्भावना पनि देखिन्छ । यस्तो अवस्था आखिर किन हुन्छ ? महिनावारीमा हुने यस्ता गडबडीको मूल कारण के हो ? महिनावारी ढिलो हुनाले शरीरमा केही जोखिम निम्त्याउँछ या निम्त्याउँदैन ? महिनावारी हुँदा बारम्बार पेनकिलर लिन मिल्छ या मिल्दैन ?

यी प्रश्नहरुको उत्तर खोज्न ह्याम्स हस्पिटलकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.करिश्मा पाण्डेसँग गरिएको कुराकानी-

– कसैलाई ५-६ महिनासम्म पनि महिनावारी नहुने समस्या हुन्छ । महिनावारीमा हुने यस्ता गडबडीको कारण के हो ?

अहिले धेरैजस्तोे आमाबुवा महिनावारीमा हुने समस्याका कारण चिन्तित हुँदै १३-१४ वर्षको नानीहरु लिएर अस्पताल आउनुहुन्छ । महिनावारी समयमा हुँदैन, भइहाले पनि अत्यधिक रक्तस्राव हुन्छ, मुर्छा परेर ढल्ने गर्छ जस्ता विभिन्न समस्या सुनाउनुहुन्छ । यस्तो किन हुन्छ भन्ने धेरैको जिज्ञासा हुन्छ । यसको मूल कारण के हो भने किशोरी अवस्थामा हाइपोथालेमस अर्थात पिट्युटरी ग्रन्थी परिपक्व भएको हुँदैन । यो ग्रन्थी परिपक्व हुन ४-५ वर्ष नै लाग्छ । त्यसपछि मात्र महिनावारी नियमित हुने हो । अपरिपक्व पिट्युटरी ग्रन्थीका कारण अत्यधिक पेट दुख्ने, अत्यधिक रक्तस्राव हुने र उच्च रक्तस्रावका कारण हेमोग्लोबिनको लेभल घटेर अस्पताल नै भर्ना हुने समस्या निम्तिने हो । त्यस्तो अवस्थामा हामीले उहाँहरुलाई रगत रोकिने औषधि दिन्छौ भने कहिले हर्मन सप्लिमेन्ट दिने गर्छौं ।

– कस्तो अवस्थामा कस्तो हर्मन सप्लिमेन्ट दिनुहुन्छ ?

हर्मन हेरेर हुन्छ । हामी महिलामा एस्ट्रोजन र प्रोजेस्टेरोन भन्ने हर्मन हुन्छ । भर्खरैको किशोरी नानीहरुलाई हामीले एस्ट्रोजन भन्ने हर्मन दिन मिल्दैन । किनकि त्यसले नानीहरु पुड्को हुने, हड्डीहरु नबढ्ने जस्ता समस्या निम्त्याउँछ । २० देखि ४० वर्षको महिलामा हुने गडबडीको भिन्नै प्रकारको उपचार हुन्छ । उहाँहरुमा यो समस्या के कारणले भइरहेको छ भन्ने बुझ्नुपर्छ । पाठेघरमा मासु पलाएर, डिम्बबाहिनी नली वा अण्डाशयमा केही खराबी भएर वा हर्मनमा असन्तुलन भएर हो, त्यो जान्न जरुरी छ । त्यो पत्ता लागेपछि, त्यहीअनुसारको उपचार गर्ने हो ।

कतिपय महिला कहिले हुन्छ, कहिले हुँदैन । त्यसैले यो सामान्य हो भनेर ढुक्कले बस्नुहुन्छ । महिनावारीमा हुने समस्यालाई हामीले त्यसरी बेवास्ता गर्नु हुँदैन । हामीले चिकित्सकको परामर्श लिन जरुरी छ । कहिलेकाहीँ पाठेघरभित्र मासु पलाएको हुन्छ । त्यो मासुबाट क्यान्सर हुनसक्छ । त्यही भएर आफ्नो समस्याबारे बुझ्न र जानकारी लिन जरुरी छ ।

पेट दुःखेपिच्छे लिइने पेनकिलरले पछि बाँझोपनभन्दा पनि मृगौलामा भने असर गर्नसक्छ । बाँझोपन चाहिँ विवाहपूर्व गरिने असुरक्षित यौन सम्पर्कपछि आफ्नै हिसाबले लिइने आपतकालीन गर्भनिरोधक चक्कीहरूको अत्यधिक सेवन र असुरक्षित गर्भपतनले निम्त्याउन सक्छ ।

– महिनावारी ढिलो सुरु हुनाले केही जोखिम निम्त्याउँछ कि निम्त्याउँदैन ?

कहिलेकाहीँ जेनेटिक्सले गर्दा पनि महिनावारी ढिला सुरु हुन्छ । आमा वा आमाको आमा ढिलो महिनावारी हुनुभएको छ भने आफ्नो पनि महिनावारीको सुरुवात ढिलो हुनसक्छ । यसमा आत्तिनु पर्दैन । तर, नानी १६-१७ वर्षको भइसक्यो र महिनावारी भएको छैन भने चिकित्सककहाँ जाँच गराइहाल्न सुझाव दिन्छु । किनकि कहिलेकाहीँ नानीहरुको पाठेघर नै नभएको पनि हुनसक्छ ।

– पाठेघर नै नभएकोबारे भने कसरी थाहा पाउने ? त्यसको केही लक्षण हुन्छ ?

त्यस्तो केही हुँदैन । जाँच गर्दाखेरि मात्र हामीले पाठेघर भए नभएको थाहा पाउने हो । जबसम्म जाँच गरिँदैन, तबसम्म पाठेघर भए नभएको थाहै हुँदैन । महिनावारी हुनुअघि छोरी मान्छेको स्तन र सेक्सुअल क्यारेक्टरस्टिक्सहरु विकास भइरहेको हुन्छ । परिवार आफैंले विचार गर्ने हो । आफ्नो सन्तानमा उमेरअनुसार हुनुपर्ने विकास भइरहेकोे छैन भने चिकित्सकको परामर्श लिनुपर्छ ।

– महिनावारी हुँदा बारम्बार लिइने पेनकिलरले पछि बाँझोपन निम्त्याउन सक्छ भन्ने सुनिन्छ । यो कतिको सत्य हो ?

महिनावारी हुँदा अत्यधिक पेट दुःखेमा पेनकिलर लिने गरिन्छ । पेट दुःखेपिच्छे लिइने पेनकिलरले पछि बाँझोपनभन्दा पनि मृगौलामा भने असर गर्नसक्छ । बाँझोपन चाहिँ विवाहपूर्व गरिने असुरक्षित यौन सम्पर्कपछि आफ्नै हिसाबले लिइने आपतकालीन गर्भनिरोधक चक्कीहरूको अत्यधिक सेवन र असुरक्षित गर्भपतनले निम्त्याउन सक्छ ।

– अचेलका किशोरीहरुले असुरक्षित यौन सम्पर्कपछि टाउको दुख्दा सिटामोल खाए झैं गरी गर्भनिरोधक चक्की खाइरहेका छन् भन्ने चर्चा पनि छ । बारम्बार लिइने यस्ता चक्कीहरुले शरीरमा कस्तो असर गर्छ ?

बारम्बार खाइने गर्भनिरोधक चक्कीले स्वास्थ्यमा पक्कै असर गर्छ । अचेल त माग्नासाथ पसलेहरु (ओटीसी अथवा ओभर दि काउन्टर मेडिसिन)ले सोध्दै नसोधी र बुझ्दै नबुझी चिकित्सकको सल्लाहविनै आपतकालीन गर्भनिरोधक चक्कीहरू दिनुहुन्छ । यस्ता आपतकालीन गर्भनिरोधक चक्की वा पिल्स भनेको पनि एउटा हर्मन हो । त्यसरी सोध्दै नसोधी बारम्बार यस्ता चक्कीहरु अत्यधिक मात्रामा लिइरहँदा कसैलाई धेरै रक्तस्राव हुने त कसैलाई समयमा महिनावारी नहुने समस्या निम्तिनसक्छ ।

पिल्स खाए पनि कहिलेकाहीँ बच्चा बस्नसक्छ । यदि त्यो बच्चा नलीमा गएर बस्यो भने आपतकालीन अप्रेशन गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटा नली नै गुमाउनुपर्ने समस्या निम्तिनसक्छ । बारम्बार गरिने असुरक्षित यौन सम्पर्क र खाइने आपतकालीन गर्भनिरोधक चक्कीले पाठेघरमा पीप जम्ने, कहिलेकाहीँ पाठेघर नै गुमाउनुपर्ने सम्भावना पनि हुन्छ ।

त्यसैगरी कहिलेकाहीँ नलीहरु ब्लक हुने र पाठेघरका भित्ताहरु पातलो हुँदै जाने तथा पाठेघरमा संक्रमण हुनसक्ने जोखिम बढ्छ । यो बाँझोपन निम्त्याउने कारणमध्येको एक हो । कुनै पनि आपतकालीन गर्भनिरोधक चक्कीहरु शत प्रतिशत प्रभावकारी हुन्छ भन्ने छैन । पिल्स खाए पनि कहिलेकाहीँ बच्चा बस्नसक्छ । यदि त्यो बच्चा नलीमा गएर बस्यो भने आपतकालीन अप्रेशन गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटा नली नै गुमाउनुपर्ने समस्या निम्तिनसक्छ । बारम्बार गरिने असुरक्षित यौन सम्पर्क र खाइने आपतकालीन गर्भनिरोधक चक्कीले पाठेघरमा पीप जम्ने, कहिलेकाहीँ पाठेघर नै गुमाउनुपर्ने सम्भावना पनि हुन्छ । त्यही भएर यसलाई हल्का रुपमा लिनुहुँदैन । गर्भनिरोधक पिल्सहरु छँदैछ, खान्छु अनि समस्या समाधान भइहाल्छ भन्ने होइन । यसले दीर्घकालीन समस्या ल्याउनसक्छ ।

– महिनावारी हुँदा शारीरिक सम्बन्ध राख्न मिल्छ या मिल्दै ? राखेमा स्वास्थ्यमा कतिको असर गर्छ ?

महिनावारी हुँदा महिलाको स्वास्थ्य कमजोर भइरहेको हुन्छ । शरीर सिथिल भएको हुन्छ । महिनावारीको समय शरीरले जतिसक्दो आराम मागिरहेको हुन्छ । त्यसैले त्यस्तो समयमा शारीरिक सम्बन्ध नराखेकै राम्रो हुन्छ । महिनावारीको समयमा भएको शारीरिक सम्बन्धले मानसिक हिसाबमा पनि राम्रो गर्दैन ।

– महिनावारीको समयमा गरिने शारीरिक सम्बन्धले बच्चा बस्ने सम्भावना कतिको हुन्छ ?

बच्चा बस्ने प्रक्रिया भनेको फरक कुरा हो । महिनावारीलाई हामी इन्डोमेटरियम सेड आउट भएको भन्छौं । हामी महिलामा पाठेघर, डिम्बबाहिनी नली र डिम्बाशय हुन्छ । महिनावारीको समयमा रक्तस्राव भइरहँदा हाम्रो अण्डाशयमा भएको अण्डाको विकास भइरहेको हुन्छ । महिनावारी भएको ३-४ दिन हुँदामात्र बल्ल अण्डा बढ्न थाल्छन् ।

म नियमित महिनावारी हुने महिलाको कुरा गर्दैछु । जब महिनावारी भएको ११-१२ दिन हुन्छ, तब एउटा रानी अण्डा भन्ने बन्छ । त्यो अण्डा बनेर फुटिसकेको अवधिबीच यदि श्रीमान-श्रीमतीबीच यौन सम्पर्क हुन्छ भने सो समयमा मात्र बच्चा बस्ने हो । महिनावारी भएको १-२ दिनमा त अण्डै हुँदैन । त्यसैले बच्चा बस्ने सम्भावना पनि हुँदैन ।

– अझै पनि महिलाहरु खुलेर आफ्नो समस्या राख्न हिचकिचाउँछन् । तपाईंकोमा परामर्शको लागि आउँदा महिलाहरु कत्तिको खुल्छन् ?

यो ठूलो समस्या हो, जुन अझै पनि छ । शहरीभन्दा गाउँ-गाउँबाट आउने महिलामा विशेषतः यो समस्या छ । जाँचको लागि गाउँबाट आउँदा श्रीमान र श्रीमती दुवै जना आउनुहुन्छ । जाँचको क्रममा हामी महिलालाई प्रश्न सोध्छौं । तर, उहाँहरु बोल्नुहुन्न । सबै कुरा श्रीमानले नै उत्तर दिइरहनुभएको हुन्छ । श्रीमानले नै श्रीमतीलाई तिम्रो महिनावारी कहिले भएको भनेर सोध्नुहुन्छ । श्रीमतीले श्रीमानको कानमा खुसुक्क यति गते भनेर भन्नुहुन्छ । हामी श्रीमतीलाई पेट दुख्छ भनेर सोध्छौं । उत्तर श्रीमानले दिनुहुन्छ ।

म महिला चिकित्सक भए पनि मसँग नै खुल्न लजाउनुहुन्छ । शहरी भागमा भने मैले यस्तो प्रवृत्ति अलि कम पाएकी छु । सायद जनचेतना भएर पनि होला । गाउँतिर सानै उमेरमा विवाह हुन्छ । उमेर कम हुँदा खुल्न गाह्रो हुन्छ, लाज हुन्छ । मैले केही बोले भने श्रीमान रिसाउने पो हो कि वा केही भनिहाल्ने पो हो कि भन्ने सोचले श्रीमानको अनुमतिमा मात्र उहाँहरु बोल्ने हो कि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर