एक जना बिरामी पनि सन्तुष्ट नहुने देशकै ठूलो क्यान्सर अस्पताल ! – Nepal Press

एक जना बिरामी पनि सन्तुष्ट नहुने देशकै ठूलो क्यान्सर अस्पताल !

अस्पताल प्रशासनले भन्याे- सेवा हुँदाहुँदै बाहिर पठाए कार्यकारी निर्देशकलाई सम्पर्क गर्नु

चितवन । अस्पतालमा उपचार गरेपछि केही बिरामीलाई चित्त नबुझेपनि सामान्यतया डाक्टरको उपचारबाट खुशी भएर बिरमीहरु फर्किने गर्दछन् । तर, चितवनको भरतपुरमा रहेको देशकै ठूलो मध्ये एक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आउने एक जना पनि बिरामी सन्तुष्ट नभएका पाइएको छ ।

यो अस्पतालका क्यान्सर रोगको उपचारको लागि स्थापित सरकारीस्तरको अस्पताल हो । २५ वर्षअघि क्यान्सर रोगको उपचारका लागि स्थापित ४५० शैयाको यस अस्पतालका उपचारमा आउने एक सय जना बिरामीमा गरिएको एउटा अनुसन्धानमा कोही पनि बिरामीले सन्तुष्ट रहेको बताएनन् ।

चितवनको भ्रष्टाचारविरुद्ध अभियान चितवन संस्थाले यस अस्पतालमा उपचार गराउन पुगेर फर्किएका एक सय जना बिरामीसँग अध्ययन गरेको थियो । तिमध्ये ७५ जनाले असन्तुष्ट रहेको बताए भने २५ जनाले ठीकै भन्ने जवाफ दिएका छन् ।

नागरिक प्रतिवेदनको रुपमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनका अनुसार उपचार गराउन गएका सय जनाले नै एक घण्टाभन्दा बढी उपचारका लागि लाइनमा बसेका थिए भने ८० जनाले अस्पतालमा कार्यरत कर्मचारीले समयको पालन नगरेको गुनासो गरेका थिए । अझ संवेदनशील कुरा के भने अस्पतालमा गएका ति सय जनामध्ये एक जनाले पनि उपचार गराउन पुनः सोही अस्पताल जाऊँ भनेर सिफारिस गरेका छैनन् ।

प्रतिवेदनका अनुसार क्यान्सर अस्पताल पुग्ने अधिकांशले काम गर्ने प्रक्रिया अति जटिल, जानकारी प्रभावकारी नदिने, डाक्टरहरुले पनि समयको पालन नगर्ने बताएका छन् ।

बिरामीलाई निजीमा बोलाउँछन् डाक्टर

क्यान्सर अस्पतालले विभिन्न प्रकारका क्यान्सर रोग सम्बन्धी उपचार र क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा पनि काम गर्दै आएको छ । अस्पतालकै तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा वार्षिक साढे ६ हजारको हाराहारीमा नयाँ क्यान्सर बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् । तर, अस्पतालमा विपन्न सहायता लगायतका सहुलियत सेवा र उपचार गर्ने मेडिकल सुविधा हुँदाहुँदै पनि डाक्टरहरुले अस्पतालबाहिरका निजी अस्पतालमा उपचारको लागि बोलाउने गरेका छन् ।

केही बिरामीको जाँच गर्ने सेवा अस्पतालमा हुँदाहुँदै पनि भरतपुरका अन्य अस्पतालमा पठाएका प्रमाणहरु समेत सामाजिक सञ्जालमा प्रकाशित हुने गरेका छन् । केही दिनअघि माडीको बाँदरझुलाका एक बिरामीको प्याथालोजी सेवा क्यान्सरमा नहुने भन्दै अन्त पठाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

भरतपुरको चौबीसकोठीमा रहेको जयबुद्ध अस्पतालमा आउन भनेर डाक्टरले लेखेको टेलिफोन नम्बरसहितको चीट समेत सार्वजनिक भएको थियो । केही दिनअघि भ्रष्टाचार निवारण अभियान चितवनले अस्पताल परिसरमै गरेको सार्वजनिक सुनुवाइमा समेत त्यही अस्पतालबाट सेवा निवृत्त नर्स सीता ज्ञवालीले क्यान्सर अस्पतालका डाक्टर, कर्मचारी र एम्बुलेन्स चालकले समेत कमिसन लिएर बिरामीलाई निजी अस्पताल पुर्याउने गरेको बताइन् ।

त्यतिमात्रै होइन अस्पतालमा निःशुल्क औषधि किन्न समेत निकै सकस छ । अस्पतालको वार्षिक आम्दानी ८८ करोड ६४ लाख ७७ हजार रुपियाँ बराबर रहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल बताउँछन् ।

अस्पतालको कूल आम्दानीमध्ये २३ करोड रुपैयाँ नेपाल सरकारबाट अनुदान आउने गर्दछ । सरकारको पूर्ण स्वामित्व भएपनि महंगो औषधि अस्पतालमा नपाउने दीपक ढकालको गुनासो छ । बीमा भएको र निःशुल्क पाउने औषधिसमेत अस्पताल बाहिर किन्न पठाउने उनले गुनासो गरे । निःशुल्क पाइने औषधिमा पनि कागजात मिलाउनै समस्या रहेको माडीका शिव पाठक बताउँछन् । उनका अनुसार एक सय रुपैयाँको औषधिको लागि ३० रुपैयाँको फोटोकपी गर्नुपर्ने अवस्था रहेको छ ।

‘बाहिर पठाए कार्यकारी निर्देशकलाई सम्पर्क गर्नु’

अस्पतालभित्रै सेवा भएर पनि निजीमा बोलाउने प्रवृत्तिबारे गुनासो बढ्दै गएपछि अस्पताल प्रशासनले बाहिर बिरामी बोलाए कार्यकारी निर्देशकलाई सम्पर्क गर्न सूचना जारी गरेको छ ।

अस्पताल प्रशासनले माघ १४ गते सूचना जारी गर्दै अस्पतालमा नै फार्मेसी, प्याथालोजी, रेडियो डायग्नोसिस तथा इमेजिङ, शल्यक्रिया, रेडियशन अंकोलोजी, मेडिकल अंकोलोजी, ऐनेस्थोलोजी र कार्डियोलोजी लगायतका सेवा अस्पतालमा रहेको जनाएको छ । यदि यी सेवा अस्पतालमा नै नदिइ अन्त पठाएमा कानूनअनुसार कारबाही गर्ने जनाउँदै तुरुन्त कार्यकारी निर्देशकलाई सम्पर्क गर्न भनिएको छ ।

बीपी कोइराला मेमोरियल अस्पताल २०५७ सालबाट चितवनको भरतपुरमा औपचारिक सुरुवात भएको हो । यस अस्पतालमा कार्यरत कर्मचारी संख्या ८१२ जना रहेको अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए । तर, अस्पतालमा राजनीतिक नियुक्ति हुने कारणले अस्पतालभित्रै कर्मचारीबीचमा समन्वयको अभाव हुँदा बिरामीलाई मर्का पर्ने गरेको अध्ययनले देखाएको छ ।

 


प्रतिक्रिया

One thought on “एक जना बिरामी पनि सन्तुष्ट नहुने देशकै ठूलो क्यान्सर अस्पताल !

  1. २०६३ सालमा अस्पतालमा नर्सको हेलचेक्राइले बाबा गुमाउंदाको पीडा र आफु सानो उमेरको कारण क्षतिपूर्तिको आवाज उठाउन नसकि न धन न ज्यान भएको ताजा स्मरण छ उक्त हस्पिटलको। तर अहिले पनि त्यहीं नेै रहेछ 😪😪😪

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर