रुग्ण उद्योग अब निजी क्षेत्र र सेनाले सञ्चालन गर्ने, प्रधानमन्त्री भन्छन्– एक सातामै राष्ट्रले परिणाम देख्छ – Nepal Press

रुग्ण उद्योग अब निजी क्षेत्र र सेनाले सञ्चालन गर्ने, प्रधानमन्त्री भन्छन्– एक सातामै राष्ट्रले परिणाम देख्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार अघि बढेको बताएका छन् ।

पर्साको वीरगञ्जमा आइतबार सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको बताए ।

‘हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौं । विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना छ । कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ’, उनले भने, ‘यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ । यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे । त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ ।

सबैको राय सुझाव संकलन गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुने औंल्याए ।

‘पुराना योजना जस्ताका त्यस्तै छोडेर नयाँ योजना बाँड्ने प्रचलनलाई रोकेर पुरानालाई निरन्तरता र नयाँ योजना अपरिहार्य भएमात्रै बजेट केन्द्रित गर्ने र जनताले परिवर्तन देख्ने खालको योजना छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सिलिङ तोक्ने विषयमा पनि सबै मन्त्रालयसँग छलफल गरेरमात्रै तोक्ने, नीति तथा कार्यक्रम र बजेट पनि सबैको सहभागितामा निर्माण गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।’

उनले नेपाललाई नयाँ युगतिर लिने काम अहिलेको सरकारले गरिरेको पनि दाबी गरे । तर, त्यसका विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए ।

‘प्रचण्डको नेतृत्वमा ठूला काम भए भन्न प्रतिक्रियावादीलाई गाह्रो भइरहेको छ । त्यसैले यसका विरुद्ध लागिपरेका छन् । समाजवादी र प्रगतिशील शक्ति प्रतिवाद गर्न सफल हुन नसकेको अवस्था छ । प्रतिक्रियावादीले विषवमन गरिरहेका छन्’, उनले भने ।


प्रतिक्रिया

One thought on “रुग्ण उद्योग अब निजी क्षेत्र र सेनाले सञ्चालन गर्ने, प्रधानमन्त्री भन्छन्– एक सातामै राष्ट्रले परिणाम देख्छ

  1. भारतको टाटा समूहलाई बेच्न खोजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर