प्रधानमन्त्री कपमा सात शतक, सबै टीयू मैदानमा – Nepal Press

प्रधानमन्त्री कपमा सात शतक, सबै टीयू मैदानमा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक पूरा भएका छन् । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिम र मधेश प्रदेशबिचको खेलमा दुवै टीमका खेलाडीले शतक पूरा भएका हुन् । मधेश प्रदेशका मयन यादवले पहिलो इनिङमा सुदूरपश्चिमविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

उनले १ सय २८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि नरेन भट्टले खेलको दोस्रो शतक प्रहार गरेका हुन् । उनी १ सय २२ बलमा १३ चौका र १ छक्कासहित १ सय २१ रन बनाएर आउट भए ।

योसँगै जारी प्रतियोगितामा शतक प्रहार गर्ने खेलाडीको संख्या ७ पुगेको छ । यसअघि नेपाल पुलिस क्लबका रसिद खान, सशस्त्र प्रहरी बल (एपिएफ) का सन्दीप जोरा, त्रिभुवन आर्मी क्लबका कप्तानका विनोद भण्डारी, कोशी प्रदेशका सुजन थपलिया र बागमती प्रदेशका आशुतोष घिरोइयाले शतक प्रहार गरेका थिए ।

रसिद खानले बागमती प्रदेशविरुद्ध १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । सोही खेलमा उनले बलिङतर्फ २ विकेटसमेत लिएका थिए । उक्त खेलमा पुलिस ६८ रनले विजयी भएको थियो ।

एपीएफका सन्दीप जोराले पनि बागमती प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । उनले १ सय १७ बलमा १ सय १२ रनको शतकीय इनिङ खेलेको थिए । उक्त खेलमा एपीएफ ८९ रनले विजयी भएको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले मधेस प्रदेशविरुद्ध १ सय १३ रनको शतकिय इनिङ खेलेका थिए । उनले ३ वर्षपछि शतक प्रहार गरेका हुन् । यसअघि २०७७ मा भएको प्रधानमन्त्री कपमा विनोदले गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए ।

कोशीका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए । उनले पुलिसविरुद्ध १ सय ५ रनको शतकीय इनिङ खेल्दै टिमलाई संकटमोचन गरेका थिए । शतकका बाबजुद हारबाट जोगाउन भने सकेका थिएनन् । उक्त खेलमा कोशी पुलिससँग ७ विकेटले पराजित भएको थियो ।

बागमतीका ओपनर आशुतोष घिरोइयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । उनले कोशीविरुद्ध १ सय ११ बलमा १ सय १८ रन बनाएका थिए । उक्त खेलमा बागमती ६४ रनले विजयी भएको थियो ।

यसपालिको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ३ मैदानमा भइरहेको छ । काठमाडौँको टियु क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा भइराखेको छ । हालसम्म प्रतियोगिताका २३ वटा खेलहरू सम्पन्न भएका छन् ।

मुलपानी ७, सिद्धार्थमा ८ र टियु मैदानमा ८ वटा खेल सम्पन्न भइसकेका छन् । प्रतियोगितामा हालसम्म ७ वटा शतक प्रहार भइसकेका छन् । ती सबै शतक टीयु क्रिकेट मैदानमा प्रहार भएका छन् । उत्तिकै मात्रामा खेल भए पनि अन्य मैदानमा भने हालसम्म कुनै शतक प्रहार भएका छैनन् ।

आधा खेल नसकिँदै सात शतक

यस प्रतियोगितामा १० टिम सहभागी छन् । यी सबै टिमले सबैसँग खेल्नेछन् । हालसम्म २३ वटा खेल सकिएको छ । आधा खेल अझै बाँकी छ । अहिलेसम्म प्रतियोगितामा ७ शतक प्रहार भइसकेको छ । यसअघिका कुनै पनि संस्करणमा अहिले जति शतक प्रहार भएका थिएनन् । यसअघि २०१८ र २०२२ मा भएको संस्करणमा ४–४ वटा शतक प्रहार भएका थिए ।

यस प्रतियोगिता पहिलो पटक राउन्ड रोविनको आधारमा सञ्चालन भएको छ । यसअघि एक टिमले बढीमा ६ खेल खेल्न पाउँथे । तर, यसपालि हरेक टिमले कम्तीमा ९ खेल खेल्न पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर