स्थानीय तहले बाँडेको गुणस्तरहीन महिनावारी प्याडको कथा- विद्यालयले नष्ट गर्‍यो ९ हजार प्याकेट – Nepal Press

स्थानीय तहले बाँडेको गुणस्तरहीन महिनावारी प्याडको कथा- विद्यालयले नष्ट गर्‍यो ९ हजार प्याकेट

चितवन । २०७४ सालको चैत ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याविनेटले २०७५ सालको वार्षिक नीति कार्यक्रमको ड्राफ्ट पास गर्‍यो । जसमा बहुसरोकार र विशेषगरी स्वास्थ्य एउटा चर्चित कार्यक्रम पनि थियो, सबै सामुदायिक विद्यालयका छात्राहरूलाई सरकारले निःशुल्क महिनावारी प्याड वितरण गर्ने ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरिन् । सोही वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा सरकारले स्थानीय तहमार्फत महिनावारी प्याड वितरण थालेको हो ।

नि:शुल्क बाँडिँदै आएको प्याड पछिल्लो समय छोरीहरूको पाठेघरमा संक्रमणको कारण बन्ने जोखिम बन्दै गएको पाइएको छ ।

एउटा उदाहरण- चितवनको राप्ती नगरपालिकाले वितरण गरेको महिनावारी प्याडलाई लिन सकिन्छ । राप्ती नगरपालिकाकै बढी विद्यार्थी अध्ययन गर्ने विद्यालय हो, आदर्श माध्यमिक विद्यालय वीरेन्द्रनगर । यस विद्यालयले २०७९ सालको साउन ५ गते व्यवस्थापन समितिस्तरीय एउटा निर्णय गरेको छ ।

व्यवस्थापन समितिको बैठकको ४ नम्बर प्रस्तावमा महिनावारी (सेनिटरी) प्याड डिस्पोज गर्ने सम्बन्धमा छलफल गरेको छ । तर, त्यो महिनावारी प्याड प्रयोग पछिको डिस्पोज भने होइन ।

छलफलपछि बैठकको माइन्यूटमा लेखिएको निर्णयमा लेखिएको छ- गत वर्ष कोरोना महामारीको समयमा राप्ती नगरपालिका नगरकार्यपालिकाको कार्यालय भण्डारा चितवनले यस विद्यालयका लागि सेनिटरी प्याड उपलब्ध गराएकोमा प्याड प्रयोगकर्ता विद्यार्थीहरूले सो प्याड त्यति प्रभावकारी नभएको प्रयोग गर्नमा अप्ठ्यारो भएको भन्ने जस्ता गुनासाहरू आएको र प्रयोग गर्न नचाहेकोले नगर कार्यपालिकाद्वारा उपलब्ध गराएको सो सेनिटरी प्याड डिस्पोज गरि नयाँ प्याड ल्याउन पहल गर्ने निर्णय गरियो ।

विद्यालय व्यवस्थापन समितिको नै निर्णयपछि बडीकेयर नामक महिनावारी प्याडको ९ हजार प्याकेट खाडल खनेर त्यसमा हाली आगो लगाइएको प्रधाननाध्यापक सोमनाथ तिवारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कँडेलका अनुसार विद्यार्थीहरूले लगाउनै नसकिने खस्रो र रगत पनि नसोस्ने गुनासो गरेर प्याड प्रयोग नै गरेका थिएनन् । कुल एक हजारको हाराहारी विद्यार्थी रहेको सो विद्यालयमा ६०० जना बढी छात्रा छन् ।

‘हामीले यो प्याड फिर्ता लैजानुस् भनेर पटक पटक नगरपालिकालाई पनि भन्यौं, अध्यक्ष कँडेलले भने, ‘तर, पालिकाले फिर्ता लैजान नसकिने बताएपछि व्यवस्थापन समितिको रेकर्डमा बस्ने गरी निर्णय गरेर नष्ट गरिएको हो ।’

सोही वर्ष राप्तीकै भण्डारा माध्यमिक विद्यालयले भने करिब ५ बोरा महिनावारी प्याड वितरक कम्पनीलाई नै फिर्ता पठाएको थियो । विद्यालयका प्रधानाध्यापक कुमारसिंह लामाका अनुसार एलर्जी हुने समस्या भएर विद्यार्थीहरूले प्रयोग गर्न छोडेपछि प्याड उत्पादक कम्पनीलाई नै फिर्ता पठाएर गुणस्तरीय प्याड ल्याउन लगाइएको थियो ।

यसै वर्ष पनि माडी नगरपालिकाका विभिन्न विद्यालयमा वितरण गरिएको महिनावारी प्याड पनि गुणस्तरीय नभएको गुनासो आएको छ । लम्बाइ जुनी ब्राण्डको उक्त महिनावारी प्याड छोटो र मोटाइ पनि २६५ एमएमको मात्रै भएको पाइएको हो ।

सामान्यतया बजारमा ३३० एमएम मोटाइको महिनावारी प्याड बिक्री हुने गर्छ । तर, अहिले विद्यालयमा पठाइएको प्याड पातलो र खस्रो भएकोले विद्यार्थीले प्रयोग गर्नै मान्न छाडेका छन् ।

सोमेश्वर माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य रहेका टीकाराम सुवेदी भन्छन्, ‘महिला शिक्षकहरू स्वयंले पनि महिनावारी प्याड प्रयोग गर्न समेत नसकिने खस्रो र रगत नसोस्ने रहेको गुनासो गर्नुभएको छ ।’

मानव स्वास्थ्यमा हानी गर्ने रासायनिक पदार्थ र प्रदुषणको नियन्त्रणमा काम गरिरहेको संस्था हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनका संस्थापक महेश नकर्मी विद्यालयमा वितरण गरिएको मात्रै होइन नेपालमा बिक्री भइरहेको अधिकांश प्याड महिलाको स्वास्थ्यको लागि हानिकारक रहेको बताउँछन् ।

अहिले विद्यालयहरूमा वितरण गरिएको प्याडको त विस्तृत अध्ययन हुन बाँकी नै होला । गुणस्तरको अध्ययन गर्न जरुरी छ, उनले भने, ‘नेपालमा बिक्री हुने ५० वटा हाराहारीको महिनावारी प्याडको गुणस्तर जाँच गर्दा महिला स्वास्थ्यमा हानी गर्ने केमिकल प्रयोग गरिएको पाइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर