सानिया मिर्जाको तोडियो घरजम, सोयब मल्लिकले पाकिस्तानी अभिनेत्रीसित गरे तेस्रो बिहे – Nepal Press

सानिया मिर्जाको तोडियो घरजम, सोयब मल्लिकले पाकिस्तानी अभिनेत्रीसित गरे तेस्रो बिहे

काठमाडौं । भारतकी पूर्व टेनिसस्टार सानिया मिर्जाका पति पाकिस्तानी क्रिकेटर सोयब मल्लिकले अर्को बिहे गरेका छन् । उनले पाकिस्तानी अभिनेत्री सना जाबेदसित तेस्रो बिहे गरेका हुन् ।

सोयब र सानियाबीच सम्बन्ध विच्छेद हुन लागेको चर्चा लामो समयदेखि चल्दै आएको थियो । सोयबले अचानक आफ्नो इन्स्टाग्राममा विवाहको तस्बिर पोस्ट गरेपछि फ्यानहरू स्तब्ध बनेका छन् । सोयबले आफ्नो पोस्टमा अत्यधिक नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको छ ।

सना जाबेदले पनि इन्स्टामा आफ्नो नाम पछाडि मलिक जोडेकी छन् । उनको यो दोस्रो बिहे हो । सानाले सन् २०२० मा पाकिस्तानी गायक उमैर जैसवालसित जोडी बाँधेकी थिइन् । चार महिना अगाडि मात्र उनीहरूको डिभोर्स भएको बताइएको छ ।

यसैबीच सानियाले सोयबसित सम्बन्ध विच्छेद भएको संकेत मिल्ने स्टाटस लेखेकी छन् । उनी इन्स्टामा लेख्छिन्, ‘विवाह कठिन छ, डिभोर्स कठिन छ । आफ्नो कठिनाइ आफैँ रोज्नुहोस् ।’

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सानियाले एकपक्षीय रूपमा सोयबसित डिभोर्स लिएकी छन् । पाकिस्तानको संविधानले ‘खुला’ प्रावधान अन्तरगत श्रीमतीले चाहेमा एक पक्षीयरूपमा सम्बन्ध विच्छेदको अधिकार दिएको छ ।

सोयब र सानियाको विवाह सन् २०१० मा भएको थियो । उनीहरूका पाँच वर्षीय छोरा इजान छन् । उनीहरूको सम्बन्धमा दरार आएको चर्चा सन् २०२२ देखि चल्न थालेको थियो । लामो समयदेखि उनीहरू एकसाथ देखिएका थिएनन् ।

सानियाभन्दा अगाडि सोयबको आयशा सिद्दिकीसित पहिलो विवाह भएको थियो । आयशासित डिभोर्स गर्दै सोयबले सानियालाई दोस्रो पत्नी बनाएका थिए । दुस्मनीपूर्ण सम्बन्धमा भएका दुई देशका स्टारको बिहेले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *