विस्मृतितर्फ पूर्वअर्थमन्त्री डा. महत, अल्जाइमर्सको गाढा प्रभावसँगै राजनीतिबाट टाढा – Nepal Press

विस्मृतितर्फ पूर्वअर्थमन्त्री डा. महत, अल्जाइमर्सको गाढा प्रभावसँगै राजनीतिबाट टाढा

काठमाडौं । ६ पटकका अर्थमन्त्री तथा नेपाली राजनीतिका एक चर्चित हस्ती डा. रामशरण महत एक वर्षदेखि लगभग गुमनाम छन् । देशको प्रधानमन्त्री र पार्टी सभापतिको दौडमा रहेका यी मूर्धन्य अर्थशास्त्री एकाएक कता हराए ? धेरैलाई चासो हुनसक्छ ।

पारिवारिक स्रोतकाअनुसार उनी राजनीतिक गतिविधिबाट टाढा रहनुको कारण हो कमजोर बन्दै गएको मानसिक स्वास्थ्य । डा. महतलाई ‘अल्जाइमर्स’ का लक्षणहरू देखिएका छन् । फलतः उनी धेरै कुराहरू भुल्न थालेका छन् । नजिकका मान्छेहरूलाई पनि ठम्याउन सक्दैनन् । देशका पछिल्लो राजनीतिक घटनाक्रम तथा अर्थतन्त्रको अवस्थाबारे उनी अपडेट छैनन् । अहिले सुनेका कुरा तुरुन्तै बिर्सिन्छन् ।

०००

नेपाल तथा संसारभरि नै व्याप्त एउटा दु:खदायी रोग हो अल्जाइमर्स । यो ६५ वर्ष काटेका वृद्धवृद्धाहरुलाई लाग्ने गर्छ ।

अल्जाइमर्सको मुख्य लक्षण भनेको स्मरणशक्ति ह्रास हुनु हो । भर्खरै भएका घटना तथा कुराकानीहरु विर्सिनेबाट समस्या सुरू हुन्छ । बिर्सने क्रम दिन-प्रतिदिन बढ्दै जान्छ । विस्तारै परिवारकै सदस्यहरूलाई नचिन्ने, सही तरिकाले सोच्ने तथा विश्लेषण गर्ने क्षमता समाप्त हुने तथा दैनिक व्यवहार आफैंले गर्न नसक्ने अवस्थामा पुग्छन् ।

विशेषज्ञहरूले अल्जाइमर्सका तीनवटा चरण पहिल्याएका छन् । पहिलो चरणमा समस्याहरू उति गम्भीर लाग्दैनन् । तर, बीचको र पछिल्लो चरणमा यसले गम्भीर र पीडादायी रूप लिन्छ । कालान्तरमा बिरामीलाई एक छिन पनि एक्लै छोड्न नमिल्ने अवस्था आउँछ ।

प्रारम्भिक लक्षणहरू

भर्खरै गरेको काम र कुराकानी बिर्सिने

सामानहरु गलत ठाउँमा राख्ने

मानिस, स्थान र वस्तुको नाम भन्न नसक्ने

बोल्दा सही शब्द चयन गर्न नसक्ने

एउटै प्रश्न बारम्बार सोधिरहने

सोच्ने र विश्लेषण गर्ने क्षमतामा तीव्र ह्रास

प्रायजसो अन्योल र अलमलमा पर्ने

बीचका लक्षण

अहिले दिनको कुन समय हो भनेर छुट्याउन नसक्ने

कुनै पनि कुरामा ध्यान केन्द्रित नहुने

आफ्नै परिवारका सदस्यहरुसँग सशंकित बन्ने

राम्ररी निदाउन नसक्ने

बोल्न वा भाषामा समस्या

मुड परिवर्तन भइराख्ने । डिप्रेसन, बेचैनी र निराशापन देखिने ।

दूरीको अनुमान गर्न नसक्ने

अरुले नदेखेका वा नसुनेका कुराहरु देखेको र सुनेको दाबी गर्ने

पछिल्ला लक्षण

खानेकुरा खान र निल्न नजान्ने

अरुको सहयोगविना यताउता सर्न वा शरीरको पोजिसन बदल्न कठिनाइ

शरीरको तौलमा डरलाग्दो गरी ह्रास आउने

दिशा वा पिसाब भएको थाहा नपाउने

बोली हराउँदै जाने

स्मरणशक्ति पूर्णरुपमा समाप्त हुने

अल्जाइमर्स के कारणले हुन्छ भन्ने ठ्याक्कै अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि, सबैभन्दा ठूलो ‘रिस्क फ्याक्टर’ पाको उमेर नै हो ।

त्यसो त उमेर बढ्दै जाँदा स्वभाविकरूपमा मानिसको स्मरणशक्ति घट्दै जान्छ नै । तर, यसको मतलब स्मरण शक्ति घट्नासाथ अल्जाइमरर्स नै भयो भन्ने हुँदैन । स्मरण शक्तिमा समस्या भएका हरेक तीनजना वृद्धवृद्धामध्ये एक जनलाई अल्जाइमर्स देखिने गरेको छ ।

अल्जाइमर्स भएका वृद्धवृद्धाको आयु सीमित हुन्छ । अध्ययनहरूले देखाएअनुसार यस्ता बिरामी औसत ८-१० वर्ष बाँच्छन् । कोही-कोही १५ वर्षसम्म पनि बाँच्न सक्छन् । तर, उनीहरूको पछिल्लो कालखण्ड असाध्यै कठिन र अस्तव्यस्त हुन्छ । कुन उमेरमा अल्जाइमर्स देखिएको हो भन्नेले पनि फरक पर्छ । उमेर जति धेरै भयो, समस्या त्यति तीव्ररुपमा बढ्छ । बिरामी स्याहार्न सबैभन्दा कठिन रोगमध्ये अल्जाइमर्सलाई लिइन्छ ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयी र अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन अल्जाइमर्स पिडित थिए । नेपालमा साहित्यकार प्रा.डा. डीपी भण्डारी (दुर्गाप्रसाद भण्डारी) लाई अल्जाइमर्स भएको थियो । उनको ८४ वर्षको उमेरमा निधन भयो ।

अल्जाइर्सको माउ बिरामी चाहीँ डिमेन्सिया हो । अर्को शब्दमा डिमेन्सियाको एउटा मुख्य हाँगो हो अल्जाइमर्स । अध्ययन अनुसार अहिले संसारमा ५ करोड ५० लाखभन्दा बढी मानिसहरु डिमेन्सियाबाट पीडित छन् । उनीहरुमध्ये ६० प्रतिशतभन्दा बढी आर्थिकरुपमा विपन्न राष्ट्रमा बसोबास गर्छन् । प्रत्येक वर्ष १ करोड नयाँ डिमेन्सीयाका बिरामीहरू थपिने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा प्रत्येक ३ मिनेटमा एकजना अल्जाइमर्सका रोगी देखा पर्छन् ।

चिकित्सकहरूका अनुसार बुढ्यौलीसँगै मस्तिष्कमा हुने विभिन्न रसायनमध्ये एसिटाइल कोलिन भन्ने रसायनको कमिबाट स्नायूहरुमा हुने क्षतिका कारण यो रोग लाग्छ । ६५ वर्ष पुगेपछि हरेक पाँच वर्षमा यो रोगको जोखिम दुई गुणाले बढ्दै जान्छ । संसारभर मानिसहरुको मृत्यु हुने विभिन्न कारणमध्ये डिमेन्सीया सातौंमा रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

डिमेन्सीया भएकामध्ये ६० देखि ७० प्रतिशतलाई अल्जाइमर्स भएको पाइन्छ । अल्जाइमर्स निको पार्ने कुनै औषधि अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि, यसको प्रभावलाई केही हदसम्म नियन्त्रण गर्ने र विकास क्रमलाई अलिकति घटाउने औषधिहरु पाइन्छन् । अल्जाइमर लागेका बिरामीहरुमा अन्य स्वास्थ्य समस्या र संक्रमणको जोखिम अत्यधिक हुन्छ ।

०००

डा. महतलाई गत वर्ष मंसिरमा भएको चुनाव अघिसम्म राजनीतिमा सक्रिय थिए । गत वर्षको बजेट भाषणका बेला उनले मिडियाहरूमा टिप्पणी गरेका थिए । यद्यपि, उनका टिप्पणी पहिलेजस्ता प्रखर भने थिएनन् ।

अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महत, जो उनका भाइ पनि हुन्, गत असारको बजेट भाषणअघि दाइलाई भेट्न घरमै पुगेका थिए । त्यसबेला डा. रामशरणले लिखितरूपमा नै आफ्ना सुझावहरु भाइलाई थमाएर पठाएका थिए । यद्यपि, स्रोतकाअनुसार ती सुझावहरु त्यति संगती मिलेका भने थिएनन् ।

८-१० महिना अगाडिसम्म डा. महत मुलुकको राजनीति र अर्थव्यवस्थाको बारेमा बोल्न सक्थे । सञ्चारमाध्यमलाई प्रतिक्रिया पनि दिने गरेका थिए । तर, अहिले उनी पत्रकारको प्रश्न डिल गर्न सक्दैनन् । केही अघिसम्म उनी प्रधानमन्त्री, राष्ट्रपति, पार्टी सभापतिलाई भेट्न गरेका थिए । एक महिनादेखि भने त्यो क्रम पनि बन्द भएको छ । उनी कतै पनि गएका छैनन् । उनको दिनचर्या परिवारभित्रै बित्ने गरेको छ । कहिलेकाहीँ परिवारका सदस्यले उनलाई नजिकका मान्छेहरुकहाँ भेटघाटका लागि लैजान्छन् ।

डा. महत पुराना कुराहरु झल्झली सम्झिन्छन् । प्राय पुराना कुराहरु नै गर्न रुचाउँछन् । तर, अहिलेका ताजा कुराहरु उनको दिमागमा रहँदैनन् । डा. महतलाई कुनै शारीरिक रोग छैन । उनको खानपिन र जीवनशैली सामान्य नै छ । तर, उनी अलिकति दुब्लाउँदै गएका छन् ।

डा. महतको परिवारमा अहिले श्रीमती, एक छोरा एक नाति छन् । उनका छोरा रक्षक महत कानून व्यवसायी हुन् । उनी अमेरिकामा अध्ययन र उतै प्राक्टिस गरेका थिए । बुझिएअनुसार अमेरिकामा उनको आफ्नै ‘ल फर्म’ छ । यद्यपि, नेपालमा पनि काम गरिरहेका छन् । उनलाई राजनीतिमा रुची छैन । उनकी पत्नी बैंकर पृथ्वीराज पाण्डेकी दाईकी छोरी हुन् । उनका पितालाई माओवादीले हत्या गरेका थिए ।

डा. महतकी पत्नी पहिले रत्नराज्य क्याम्पसमा अध्यापन गर्थिन् । अहिले भने अवकाश लिएकी छन् । छोरी विदेशी प्रोजेक्टमा काम गर्छिन् । उमेर पुगे पनि उनले विवाह गरेकी छैनन् ।

डा. महतको घर महाराजगञ्जको बाँसबारीमा छ । छोराले बूढानीलकण्ठमा अर्को घर बनाएका छन् । महत दम्पती अहिले छोराकै घरमा बस्छन् ।

०००

नेपालमा डा. महतजति अर्थतन्त्रमा विज्ञता भएको राजनीतज्ञ नगण्य छन् । वा छँदै छैनन् भन्दा पनि हुन्छ । २०४६ सालपछि उनी ६ पटक अर्थमन्त्री भए । एकताका त ‘चिसो भनेकै कोकाकोला’ भनेजस्तो ‘अर्थमन्त्री भन्नासाथ रामशरण महतको नाम आउँथ्यो ।

उनी पछिल्लो समय २०७० देखि २०७२ सालमा अर्थमन्त्री बनेका थिए । भूकम्पपछिको पुनर्निमाणका लागि दाता सम्मेलन गरेर विदेशी सहायता जुटाउन उनी सफल भए । त्यसवापत उनले एउटा अन्तर्राष्ट्रिय संस्थाबाट ‘उत्कृष्ट अर्थमन्त्री’ को अवार्ड पनि पाएका थिए ।

निकट स्रोतकाअनुसार पछिल्लो कालखण्डमा नेपालको अर्थतन्त्रमा आफूले गरेको योगदानको अन्तर्राष्ट्रिय जगतले मूल्यांकन गरे पनि देशभित्रै भने जस नपाएकोमा असन्तुष्टि व्यक्त गर्ने गर्थे । पार्टीले पनि आफूलाई उचित स्थान नदिएको उनको गुनासो थियो । तर, आजकाल उनी यसरी समिक्षा गर्न सक्ने अवस्थामा छैनन् ।

पछिल्लोचोटि ६ वर्षअघि शेरबहादुर देउवाले आफ्नो सरकारमा डा. महतलाई अर्थमन्त्री बनाउन खोजेका थिए । त्यसबेला महतले अर्थमन्त्रीमा मात्रै चित्त नबुझाएर उपप्रधानमन्त्रीसमेत मागे । देउवा दिन तयार नभएपछि महतले सातौंपटक अर्थमन्त्री बन्न चाहेनन् ।

खासमा डा. महतलाई देशको प्रधानमन्त्री र पार्टी सभापति बन्ने आकांक्षा थियो । उनी विश्वमा थुप्रै सफल अर्थमन्त्रीहरू प्रधानमन्त्री बनेको उदारहण दिने गर्थे । कांग्रेसको पछिल्लो महाधिवेशनमा उनलाई सभापतिका सम्भावित प्रत्याशीका रुपमा समेत हेरिएको थियो । तर, उनी पदाधिकारीमा लडेनन् । केन्द्रीय सदस्यमै चित्त बुझाएर बसे ।

२०७४ को चुनावमा डा. महत पहिलोपटक पराजित भएका थिए । त्यसबेला बलियो वाम गठवन्धनसँग उनी थोरै मतले हारे । त्यो हारले उनको राजनीति अलिकति खस्किएको थियो । गत मंसिरको चुनावमा उनले टिकट नै पाएनन् । देउवाले उनको क्षेत्र माओवादीलाई सुम्पिदिए । उनी समानुपातिकमा पनि समेटिएनन् । त्यसपछि डा. महतले एक अन्तरवार्तामा राजनीतिबाट अवकाश लिने बताएका थिए ।

नेपालमा उदार अर्थव्यवस्थाको जग बसाल्ने जस भनौं वा अपजस डा. महतलाई जान्छ । सरकारी स्वामित्वका धेरै संस्थानहरूलाई निजीकरण गरेकोमा उनले आलोचना खेप्दै आएका छन् । यद्यपि, निजी क्षेत्रलाई माथि उठाउन उनले गरेको योगदानको भने धेरैले प्रशंसा गर्ने गर्छन् ।

डा. महतले पार्टीबाट राजीनामा दिएका छैनन् । उनी अहिले पनि कांग्रेस केन्द्रीय सदस्य हुन् । तर, पार्टीको वैठकमा जान छाडिसकेका छन् । निकटस्थका अनुसार उनी अब पूर्ण निस्क्रिय भए ।

यो पुसबाट ७२ वर्ष पुगेका छन् डा. महत । अहिले राजनीतिको केन्द्रमा रहेका अधिकांश नेताहरू उनकै उमेरका वा अझै बढी छन् । यदि मानसिक अवस्था सामान्य भएको भए महतसँग केही समय थियो, नेपाली राजनीतिमा योगदान दिने । तर, अब त्यो सम्भावना रहेन । देशको प्रधानमन्त्री र पार्टीको सभापति बन्ने उनको अभिलाषा मानसिक स्वास्थ्यका कारण अधुरै रहने भयो ।


प्रतिक्रिया

3 thoughts on “विस्मृतितर्फ पूर्वअर्थमन्त्री डा. महत, अल्जाइमर्सको गाढा प्रभावसँगै राजनीतिबाट टाढा

  1. मैले पनि करिव नौ वर्ष आमाको अल्जाइमर्स झेलेँ, थुप्रै अनुभव र अनुभूति सँगालेको छु । अल्जाइमर्स रोगीका रुँगालुलाई जति गाह्रो अरुलाई नहोला । यद्यपि मैलेचाहिँ अवसरकै रुपमा लिएँ । तिनै अनुभव अनुभूति र आमाको व्यवहार र बोली टिपेर झन्डै ६० हजार शब्दको किताब तयार भैसकेको छ ।

  2. २०७४ को चुनावमा डा। महत पहिलोपटक पराजित भएका थिए । गलत तथ्य हो । उनी ०४८ सालको आम निर्वाचनमा पनि पराजित भएका थिए । नुवाकोटमा एमालेका गणेश पण्डितसंग महत पराजित भएका हुन् ।

  3. छोटकरीमा भन्नुपर्दा उहाँ हाम्रो अर्थव्यवस्थाको अमूल्य निधि हुनुहुन्छ। उहाँलाई अलि चाँडै नै यो रोगले समाय जस्तो छ, हुन त स्मरण शक्ति कमजोर भै जाने अहिले धेरैलाई नै छ । हामीलाई रोगको उपचार भन्नासाथ एलोपेथिक मात्रै सम्झना आँउछ। आयुर्वेद र homeopathy पनि उत्तिकै असरदार र पार्श्व प्रभाव समेत हुँदैन । यस रोगको लागि homeopathic मा औषधि देखिन्छन्, उहाँको परिवारलाई सम्पर्कमा हुने जो कोहीले पनि तुरुन्तै यस कुराको जानकारी दिनुहोला । साथै हरेक दिन दुई वटा ओखर २/३ घण्टा पहिले भिजाई बेलुकी खाने गर्नु पर्छ। तर homeopathic उपचारले देशी औषधिले जस्तै २/४ महिनामै नतिजा नदिन सक्दछ। लामो समय पछि जरूर फल पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर