बोगटानको दुर्गम सेउडेखेतमा स्वास्थ्य ईकाई स्थापना – Nepal Press

बोगटानको दुर्गम सेउडेखेतमा स्वास्थ्य ईकाई स्थापना

काठमाडौं । डोटीको दुर्गम क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–१ को सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–१ र बढीकेकेदार गाउँपालिका–५ का गरी एक सय १२ परिवारलाई आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउने गरी स्थापना भएको स्वास्थ्य ईकाईको आईतवार गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिला र उपाध्यक्ष बिष्नादेवी बमले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटनको क्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले स्वास्थ्य इकाइबाट प्रदान हुने स्वास्थ्य सेवाको निरन्तरता र स्तरीकरणको लागि गाउँपालिकाले जिम्मेवारी लिने वताए । ‘नागरिक स्वस्थ भएमात्रै समाज र मुलुकको समृद्धि हुन सक्छ’ अध्यक्ष गड्सिलाले भने ‘गाउँपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको छ ।’

यस क्षेत्रका बासिन्दालाई आधारभूत स्वास्थ्य सुविधा लिनका लागि धेरै समस्या हुने भएको कारण स्वास्थ्य ईकाई स्थापना गरिएको बोगटान फुड्सिल गाउँपालिका–१ का वडाध्यक्ष खेमवहादुर घर्तिमगरले वताए । ‘यो स्वास्थ्य ईकाईबाट बोगटान गाउँपालिकाका सेउडेखेत, झ्यामतोला, गुइनडा र बडिकेदार गाउँपालिकाका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दाले सेवा पाउनेछन्’ वडाध्यक्ष मगरले भने ‘परिवार नियोजन सेवा, ओपिडी सेवा, खोप सेवा, पोषण सेवा, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य इकाईबाट प्रदान हुने छन् ।’

यसअघि यहाँका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन करीव ४ घण्टाको पैदल बाटो हिडेर जानु पर्ने अवस्था रहेको स्थानीय भीमवहादुर मगर बताउँछन् । उनी भन्छन् ‘सामान्य ज्वरो आएपनि चार घण्टा हिड्नु पर्ने वाध्यता रहेको थियो, अव केही सहज हुने आशा छ ।’ स्थानीय तुलक्षा मगरले स्वास्थ्य सेवा नियमित हुनु पर्ने माग गरिन् । उनले भनिन् ‘स्वास्थ्य सेवा सुरु भएको छ, अव यसलाई निरन्तरता दिनु पर्छ, एक दिन स्वास्थ्यकर्मी आउने तीन दिन नआउने भयो भने केन्द्र स्थापना गर्न आवश्यक छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर