सुदूरपश्चिममा गठबन्धनको जोड घटाउ- माओवादीलाई एक सिट घाटा, कांग्रेसलाई दुई बोनस ! – Nepal Press

सुदूरपश्चिममा गठबन्धनको जोड घटाउ- माओवादीलाई एक सिट घाटा, कांग्रेसलाई दुई बोनस !

एमालेले तीन, कांग्रेस २ र माओवादीले एक पदमा उम्मेदवारी दिने

कैलाली । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम सत्ता गठबन्धनको तर्फबाट कांग्रेस र माओवादीलाई भाग परेको छ ।

तीन सिटमा कांग्रेस माओवादी सहित नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दाबी गरे पनि उनीहरूले भाग पाउन सकेनन् ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

माओवादीले २ सिट गुमाउँदा सुदूरपश्चिममा गठबन्धनबाट अहिले एक सिट मात्रै पाउँदा कांग्रेसले कुनै पनि सिट नगुमाउँदा अहिले २ सिट पाएको छ ।

अन्यबाट निर्वाचित माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष समेत रहेका चौधरी स्थानमा नेपाली कांग्रेसले सिट पाएको छ । उक्त कलस्टरमा कञ्चनपुरका बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतको दाबी छ ।

माओवादीले जितेको अर्को अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा पनि कांग्रेसले नै उम्मेदवार बनाउने भएको छ । यो कलस्टरमा कांग्रेस कैलालीका सभापति समेत रहेका कांग्रेस नेता नारायणदत्त भट्ट उम्मेदवार बन्ने भएका छन् ।

महिला कलस्टरमा यस अघि एमालेकी इन्दु कडरियाले जितेकी थिइन् । अहिले गठबन्धनबाट उक्ल कलस्टरमा माओवादीले केन्द्रीय सदस्य बैतडीकी रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०६४ को संविधान सभा सदस्य पनि हुन् ।

सत्ता गठबन्धनले भागबन्डा गरेर तीन पदमा उम्मेदवार बनाउँदा एमालेले भने सबै पदमा उम्मेदवारी दिने भएको छ ।

प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका आकाङ्क्षीहरूका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुङ्गो लगाएको हो । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ ।

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो ।

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । राप्रपा र स्वतन्त्रका १÷१ जना छन् ।

स्थानीय तहमा पनि सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका छन् । कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदे सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।

एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ ।

नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको । २ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एकजनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । राप्रपाको मतभार सुदूरपश्चिममा ५३ मात्रै छ । यहाँ एक जना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर