दाङको ट्रायल सेन्टरमा यस्ताे छ लहरेको लुट – Nepal Press

दाङको ट्रायल सेन्टरमा यस्ताे छ लहरेको लुट

दाङ । सल्यानका विपन बुढाथोकी २१ वर्ष पुगे । उनको आफ्नै मोटरसाइकल छ । तर, मोटरसाइल चालक अनुमतिपत्र(लाइसेन्स)भने छैन । त्यसैले मोटरसाइकलको लाइसन्स निकाल्न उनले यातायात कार्यालय दाङमा फाराम भरे । उनको ट्रायल आज थियो । उनी रा ७ प ७६२९ नम्बरको आफ्नै बाइक लगेर ट्रायल दिन बिहानै ट्रायल सेन्टर पुगे ।

तर, उनलाई ट्रायल दिनबाट रोकियो । उनलाई यातायात व्यवस्था कार्यालय दाङको ट्रायल(प्रगोगात्मक परीक्षा)मा सवारी साधनको ठेक्का लिएको जुम कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ पोखराका प्रतिनिधिले पैसा नदिएसम्म ट्रायल सेन्टरमा जानै दिएनन् ।

२१५ रूपैयाँ तिरेपछि मात्रै उनले ट्रायल दिन पाए । ट्रायलमा सवारी साधनको ठेक्का लिएको जुम कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ पोखराले आफ्नै सवारी साधन भएका परीक्षार्थीबाट समेत जबरजस्ती पैसा असुली रहेको छ ।

उसले यातायात व्यवस्था कार्यालय दाङसँग मोटरसाइकल भाडावापत प्रतिव्यक्ति करबाहेक १९० रूपैयाँ(करसहित २१४ रूपैयाँ ७० पैसा) लिनेगरी सम्झौता गरेको छ ।

तर, ठेकेदार कम्पनीले आफ्नै बाइक लगेर ट्रायल दिनेसँग समेत जबर्दस्ती रकम असुलिरहेको छ । ठेकेदारले खटाएका प्रतिनिधिलाई २१५ रूपैयाँ नदिएसम्म ट्रायल दिन पाइदैन् ।

‘म रा ८ प ८८ नम्बरको आफ्नै बाइक लगेर आएको हुँ’, ट्रायल दिन आएका विमल चन्दले नेपाल प्रेससँग भने, ‘तर, मैले २१५ रूपैयाँ नदिसम्म ट्रायल दिनबाट रोकियो ।’

विपन र विमल त प्रतिनिधि पात्र मात्रै हुन् । जुम कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ पोखराका दाङ प्रतिनिधि अरून भनेर चिनिने ऋषिराम लहरेको नेतृत्वमा रहेका युवाहरूले परीक्षार्थीसँग अवैध रूपमा जबरजस्ती पैसा असुल्दा यातायात कार्यालय भने मौन छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि आफैँ फिल्डमा खटिएका छन् । उनकै निर्देशनमा अन्य युवाले आफ्नै बाइक भएकासँग पनि रकम असुली रहेका छन् । ‘अरून दाइले सबैसँग पैसा लिन भन्नुभएको छ’, पैसा उठाउन बसेका एकजनाले भने, ‘दाइले भनेअनुसार पैसा उठाएका हौँ ।’ आफैँ फिल्डमा खटिएका लहरेले भने त्यसरी पैसा नउठाएको दाबी गरे ।

खुलेआम जबर्दस्ती रकम असुल्दा समेत फिल्डमै रहेका कमर्चारी मुखदर्शक छन् । कार्यालयका सूचना अधिकारी लोकबहादुर केसीले आफ्नै साधन भएकासँग पैसा लिनु गैरकानूनी भएको बताए ।

 


प्रतिक्रिया

2 thoughts on “दाङको ट्रायल सेन्टरमा यस्ताे छ लहरेको लुट

  1. आफ्नै साधन भएका सङग चाहिँ न उठाउनु पर्ने हो। यो एकदम गलत भइ रहेको छ।

  2. आफ्नै साधन भएका सङग चाहिँ न उठाउनु पर्ने हो। यो एकदम गलत भइ रहेको रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *