राष्ट्रियसभामा सुदूरपश्चिमको मतभार : कांग्रेस सबैभन्दा अगाडि, राप्रपा पुछार – Nepal Press

राष्ट्रियसभामा सुदूरपश्चिमको मतभार : कांग्रेस सबैभन्दा अगाडि, राप्रपा पुछार

कैलाली । राष्ट्रियसभामा सुदूरपश्चिमबाट निर्वाचित तीनजनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिनाअगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ ।

यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको हो । रिक्त हुने यी तीनजनाको ठाउँमा अहिले काङ्ग्रेसबाट ८८ जना माओवादीबाट ३० जनाभन्दा बढी एमाले र राप्रपाबाट प्रत्येक जिल्लाबाट तीन कलस्टरमा तीन-तीन जनाको नाम सिफारिस गरिएको छ ।

नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा आफ्नो पार्टीलाई गठबन्धनबाट भाग पर्ने अवस्थामा मात्रै नाम सिफारिस गर्ने तयारी गरेको छ ।

अहिले सत्ता गठबन्धन भित्रका चार दल कांग्रेस माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । यहाँ सत्ता गठबन्धन मिलेर चुनाव लड्ने अवस्थामा एमाले र राप्रपाले उम्मेदवार उठाउने बाहेक अर्को उपलब्धि हासिल गर्न सक्ने अवस्था हुने छैन । तर, केन्द्रमा भइरहेको छलफल कुन मोडतर्फ पुग्न त्यस आधारमा सिट बाँडफाँट टुंगो लाग्छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो ।

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ ।

कसको कति मतभार ?

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । राप्रपा र स्वतन्त्रका १/१ जना छन् ।

स्थानीय तहमा पनि सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका छन् । कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदे सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।
एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको । २ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एकजनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । राप्रपाको मतभार सुदूरपश्चिममा ५३ मात्रै छ । यहाँ एकजना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर