सुदूरपश्चिममा माओवादीका मन्त्री हेरफेर गर्न शीर्ष नेताको ‘ग्रीन सिग्नल’ – Nepal Press

सुदूरपश्चिममा माओवादीका मन्त्री हेरफेर गर्न शीर्ष नेताको ‘ग्रीन सिग्नल’

दलका नेता अल्पमतमा

कैलाली। सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलका नेता खगराज भट्ट आफ्नै संसदीय दल भित्र अल्पमतमा परेका छन् ।

सभामुख सहित ११ जना प्रदेश सभा सदस्य रहेको माओवादी संसदीय दलमा सभामुख सहित ७ जनाले वर्तमान सरकार र संसदीय दलमा माओवादी केन्द्रको उपस्थिति कमजोर भएको भन्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका शीर्ष नेताहरूलाई काठमाडौँ पुगेरै रिपोर्टिङ गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी अध्यक्ष, प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेरै सरकारको विषयमा गम्भीर हुन आग्रह गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका हुन् । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरे ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । शनिवार दुई मन्त्री र बाँकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन् । बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए ।

प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुले नै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगायतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिए ।

मन्त्री फेर्न शीर्ष नेता सकारात्मक

सभामुख सहितका ७ जना माओवादी सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई मात्रै सरकारमा रहेका आफ्नो पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरूको गुनासो गरेका होइनन् । उनीहरूले शनिवार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , सचिव तथा सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यलाई पनि भेटेर माओवादी मन्त्री हेरफेरको माग गरेका हुन् ।

उनीहरूलाई सभामुख बाहेकका अन्य ६ जना सांसदले भेटेर सक्रिय मन्त्रीलाई सरकारमा पठाउनु पर्ने बताएका थिए । आइतबार उक्त टोलीले बिहानै उपसचिव वर्षमान पुन अनन्तलाई समेत भेटिसकेको छ ।

‘मन्त्रीको काम सुस्त भयो सरकारले गति पाउन सकेन भनेर हामीलाई पनि गुनासो आइरहेको छ । यसरी त पार्टीलाई पनि नोक्सानी भइरहन्छ तत्कार अरू मन्त्री पठाउनु प¥यो माओवादी शीर्ष नेताहरूको भेटमा संयुक्त रूपमा उनीहरूले भनिरहेका छन् ।

पार्टी शीर्ष नेताहरूलाई बहुमत सांसदहरूले मन्त्री फेर्न विज्ञप्ति नै बुझाएका छन् ।

‘समयमै प्रभावकारी कार्य गर्ने गरी मन्त्रीहरूको नयाँ सेट सरकारमा पठाउन विशेष जोड सहित सुझाव दिन चाहन्छौँ’ बहुमत सांसदहरूको हस्ताक्षरमा बुझाइएको विज्ञप्तिमा भनिएको छ, ‘हामी संसदीय दलका बहुमत सदस्यहरूको भावना अनुसार अगाडी नबढेमा दलको विधान र संसदीय परम्परा अनुसार अगाडी बढ्ने समेत जानकारी गराउँदै यो ज्ञापन पत्र पेस गर्दछौँ ।’

बहुमत सांसदहरूले तत्काल मन्त्री हेरफेर नगरे संसदीय दलको नेता समेत फेर्न सक्ने जानकारी शीर्ष नेतालाई दिएपछि मन्त्री फेर्ने विषयमा शीर्ष नेताहरू पनि सकारात्मक भएको स्रोतको दाबी छ ।

‘अध्यक्ष तथा प्रधानमन्त्री उपाध्यक्ष , उपमहासचिव, सचिव तथा प्रदेश इन्चार्ज सबैलाई भेटेर हामीले ज्ञापन पत्र दिएपछि उहाँहरूले अवस्था गम्भीर रहेछ भनेर बुझ्नु भयो’ एक सांसदे भने, ‘जनताको काम गर्न नसकेर सरकारमा गएका मन्त्रीहरू झन्डा हल्लाउने मात्रै हो भने शीर्ष नेताबाटै मन्त्री फेर्नु पर्ने आवाज आयो ।’

ज्ञापन पत्र बुझाउन गएका ६ जना मध्ये सबैले आफूहरू मध्ये जसलाई मन्त्री बनाउँदा पनि समस्या नहुने तर, अहिलेका मन्त्रीबाट जनताको काम नहुने गुनासो शीर्ष नेताहरूलाई राखेका थिए ।

संसदीय दलका नेता खगराज भट्ट पनि अहिले काठमाडौँमै छन् । उनको उपस्थिति बिना नै बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई भेटेर दलका नेता तथा मन्त्रीहरूको गुनासो गरेको बारे भट्टले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतका अनुसार अहिले बहुमत सदस्यहरू दलका नेता भन्दा बढी मन्त्रीहरूसँग रुष्ट छन् ।

दलका नेताकै विरुद्धमा बहुमत सांसद जुटेपछि उनी निकट स्रोतले भन्यो ’ अहिले उहाँलाई हटाउने गरी बहुमत भएको होइन । बहुमत सांसदहरू त मन्त्रीसँग रुष्ट हुनुहुन्छ ।’

बहुमत माओवादीका सांसदहरूले भने आफ्ना मागहरू पनि गम्भीर नभए दलका नेता परिवर्तन सम्म पुग्न सकिने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर