हेटौँडाको सडक विस्तारमा राजनीति नगरौँ : मुख्यमन्त्री जम्कट्टेल – Nepal Press

हेटौँडाको सडक विस्तारमा राजनीति नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार विस्तारको विषयमा राजनीति नगर्न अनुरोध गरेका छन् ।

लामो समयदेखि विवादको विषय बन्दै आइरहेको सडक विस्तारको विषयलाई राजनीतिकरण हुँदा हेटौँडाको विकासमा समेत समस्या परेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले यो विषयलाई अब अतिरञ्जित गर्न नहुने बताए ।

शनिवार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक दलहरूले सडकलाई मुख्य केन्द्रबिन्दु बनाएर राजनीतिक गरेको भन्दै यो विषयले हेटौँडाको हित नहुने दाबी गरे ।

हेटौँडामा निर्माण सुरु भएको बाइपास सडकको भविष्यमा प्रश्न गर्दै मुख्यमन्त्री जम्कट्टेलले खोलाको बगरमा निर्माण गर्न लागिएको बाइपासको स्थायित्व काठिन रहेको बताए ।

बाइपास नै बनाउने भए हेटौँडाको पदम पोखरी क्षेत्रबाट बनाउनु पर्नेमा उनको जोड थियो । भिमफेदी कुलेखानी सुरुङमार्ग निर्माण नहुनुमा पनि राजनीतिक चलखेलकै कारण रहेको उनले दावी गरे ।

‘अहिले व्यवसायी, मन्त्री, नेताहरू सबै निराशा भएको देख्छु । तर निराशा नभएको सम्मानीय प्रधानमन्त्री मात्र देख्छु,’ उनले भने ।

उद्योग वाणिज्य संघले अब कृषकहरूलाई पनि सदस्य बनाएर कृषि पेसालाई प्रमोसन गर्नुपर्ने बताए ।

संघले बागमती प्रदेशको सबै जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई बजारीकन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “हेटौँडाको सडक विस्तारमा राजनीति नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

  1. एनजिओका नाममा पैसा लगेर खानेका फुर्ति हेर न फेरि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर