पोर्चुगलमा हुनुहुन्छ ? दुई हप्ता स्वास्थ्यप्रति सजग रहनुहोस् है – Nepal Press

पोर्चुगलमा हुनुहुन्छ ? दुई हप्ता स्वास्थ्यप्रति सजग रहनुहोस् है

लिस्वन, पोर्चुगल । यदि तपाई पोर्चुगलमा हुनुहुन्छ भने अरू बेलाभन्दा अहिले आफ्नो स्वास्थ्यमा अलि बढी ख्याल गर्नुपर्ने बेला भएको छ ।

पोर्चुगलमा पछिल्लो दुई हप्तादेखि मौसमी फ्लुको बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । यसबाट त्यहाँ रहेका नेपालीहरुमा समस्या हुनसक्ने भन्दै गैरआवासीय नेपाली संघले सचेत गराएको छ ।

पछिल्लो दुई हप्तामा मौसमी फ्लुको कारण ६२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने आगामी दुई हप्ता झनै कठिन अवधि हुने पोर्चुगलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी लिस्वन र भेफ डो टेजोमा रहेको अस्पतालहरूमा फ्लुको कारण आपत्कालीन सेवाहरू सञ्चालन गर्नुपरेको स्वास्थ्य मन्त्री म्यानुएल पिजारोले बताए ।

‘फ्लुको कारण अस्पतालमा आपत्कालीन सेवाहरू सञ्चालन गर्नुपरेको छ’, उनले भने ‘अत्यधिक उपस्थितिले व्यवस्थापन गर्न कठिनाइ परिरहेको छ, यो दीर्घकालीन समस्या हुन सक्छ ।’

अत्यावश्यक अवस्थामा पोर्चुगलको राष्ट्रिय चिकित्सा आपत्कालीन संस्थानमा र कम गम्भीर अवस्थामा एसएनएस २४ मा सम्पर्क गर्न मन्त्रालयले आव्हान गरेको छ । उपचार गर्न सहज बनाउन बिरामीको प्रकृति छुट्ट्याइएको मन्त्रालयको भनाई छ ।

‘बिरामीहरूलाई सम्पर्क गर्न सहज होस् भनेर हामी सम्पर्क लाइनहरूमा उल्लेख्य रूपमा वृद्धि गरेका छौँ’, उनले भने, ‘डिसेम्बर २६ देखि जनवरी २ सम्म ६२ हजारभन्दा बढी कल आएका छन् र यस अवधिमा अस्पतालमा सेवा सुविधाहरू दिइरहेका छौ तर त्यसमा केही कमी भए पनि सुधारको क्रम जारी छ।’

सम्पर्कमा आएका व्यक्तिहरूमध्ये एक तिहाइ व्यक्तिहरूको प्राथमिक सेवामा उपचार भएको पनि मन्त्रालयले जनाएको छ । विश्वव्यापी रूपमा आपत्कालीन अवस्थामा पनि पोर्चुगलमा बिरामीहरूको राम्रो हेरचाह गरिने गरेको पनि मन्त्री पिजारोको भनाई थियो ।

मन्त्री पिजारो भन्छन्, ‘जब बिरामीको संख्यामा बुद्धि हुन्छ तुरुन्तै हेरचाह गर्न कठिनाइ हुने गर्दछ, अबको दुई हप्ता मौसमी फ्लुको लागि सबैभन्दा कठिन अवधि हुनेछ, त्यसैले सबै जनालाई सजग रहन आग्रह गर्दछु ।’

गैर आवासीय नेपाली संघ, पोर्चुगलले पनि पोर्चुगलमा रहेका नेपालीहरूलाई आफ्नो स्वास्थ्यमा सजग रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष उमेश खड्काले पोर्चुगलमा रहेका नेपालीहरूलाई आफ्नो स्वास्थ्यलाई गम्भीरतापूवर्क लिँदै सजग रहन आग्रह गरेका हुन् ।

‘पोर्चुगलमा अहिले गम्भीर रूपमा मौसमी फ्लु फैलिरहेको छ र यो अवस्था अझै दुई हप्ता चल्नेछ’, उनले भने ‘त्यसैले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीहरूमा आफ्नो स्वास्थ्यलाई गम्भीरतापुर्वक लिँदै सजग रहन आग्रह गर्दछु ।’

उनले कहिँकतै समस्या परेमा संघमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

विकास लम्साल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर