डिलासैनी : १० शय्याको प्रस्तावित अस्पतालबाट मनोपरामर्शसहित यी सेवा उपलब्ध हुने – Nepal Press

डिलासैनी : १० शय्याको प्रस्तावित अस्पतालबाट मनोपरामर्शसहित यी सेवा उपलब्ध हुने

काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिकाले प्रस्तावित १० शय्याको आधारभूत अस्पतालबाट प्रदान गरिने सेवाहरू सार्वजनिक गरेको छ ।

विभिन्न कारणले प्रस्तावित अस्पतालको भवन निर्माणमा विवाद झेलेको पालिकाले विवाद समाधान भएसँगै सेवाहरू सार्वजनिक गरेको हो ।

डिलासैनी पालिकाको वडा नम्बर ७ धामी गाउँमा रहेको डिलासैनी स्वास्थ्य चौकीबाट तत्कालका लागि १० शय्याको अस्पतालबाट प्राप्त हुने सेवाहरू प्रदान गरिने पालिकाले जनाएको छ ।

नयाँ भवन निर्माणका लागि तयारी भइरहेको र छिट्टै भवन निर्माण सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए ।

अस्पतालले गत साउनदेखि सेवा दिइरहेको भए पनि औपचारिक रूपमा मङ्गलवारबाट सेवा सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष जोशीले बताए । मेडिकल अधिकृतको नेतृत्वमा अस्पतालमा स्वास्थ्यकर्मीहरूको टीम खटिएको उनले बताए ।

गाउँपालिकाले मनोपरामर्श सेवासहित विभिन्न १९ प्रकारका सेवाहरूलाई प्राथमिकता दिएको छ । अध्यक्ष जोशीका अनुसार चौबिसै घण्टा आकस्मिक सेवा, एक्स-रे सेवा, ल्याब सेवा, गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा अस्पतालबाट प्राप्त हुनेछन् ।

दुर्गम क्षेत्रका नागरिकहरूलाई गाउँघरकै स्वास्थ्य संस्थाबाट सेवा पुर्‍याउने उद्देश्यले अस्पतालले सेवा विस्तार गरेको हो ।

डिलासैनीमा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि स्थानीयहरूले १० रोपनी जग्गा दिइसकेको र भवन निर्माण कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर