इजरालयबाट देखिएको देश छाड्ने लाम- विदेश बाध्यता कि रोजाइको काम ? – Nepal Press

इजरालयबाट देखिएको देश छाड्ने लाम- विदेश बाध्यता कि रोजाइको काम ?

ग्लोबलाइजेशनको जमानामा कुनै देशले आफ्ना नागरिकलाई विदेश नजाऊ भन्न सक्छ ? अवश्य पनि सक्दैन । आज अमेरिका, युरोपलगायत विश्वका विकसित र सभ्यताको हिसाबले अगाडि भनिएका देशका नागरिक मध्यपूर्वका विभिन्न देशमा रोजगारीका लागि आइरहेका छन् ।

एक हिसाबले विदेशिने कुरालाई विश्वव्यापीकरणसँग जोडेर हेर्दा सामान्य पनि हो । पछिल्लो समय नेपालमा विदेशिने प्रवृतिलाई राष्ट्रिय वहस बनाइएको छ । मानौं नेपालमा केही नभएर सबै मान्छे विदेश जान खोजिरहेका छन् जस्तोगरी प्रचार भइरहेको छ ।

नेपाल योभन्दा सयौं गुणा विकसित भए पनि विदेश जाने प्रवृतिलाई रोक्न भने सकिन्न । मान्छेले आफू जन्मेको ठाउँ छाडेर शहर पस्छ । सहर छाडेर विदेश जान्छ । यो आम प्रवृति भइसकेको छ । तर, नेपालको सन्दर्भमा विदेश रहर नभएर बाध्यता बनेको विषय नै प्रमुख हो ।

यो लेख लेखिरहँदा म अहिले इजरायलमा छु । तीन महिनाअघिको त्रासदी मैले भोगेँ र नेपाल प्रेसमार्फत नेपाली दर्शक पाठकहरुलाई पनि सकेसम्म देखाएँ । आज पनि म युद्ध भूमिमा छु र जुनसुकै बेला जे पनि हुनसक्छ । तर, पनि विदेश बसाई र रोजगारी आजको दुनियाँमा बाध्यतामात्र होइन रोजाइ बनिसकेको छ ।

नेपाली परिवेशको यतिबेलाको तीतो यथार्थ देशमा रहेका आम युवा यतिबेला देश छाड्न आतुर छन् । बढ्दो बेरोजगारी, भविष्यप्रतिको अनिनिश्चितता र राज्य प्रतिको नैराश्यताले सक्षम कामकाजी जमात देश छाड्ने सूचीमा आफूलाई उभ्याइरहेको छ । कति बेला देश छाड्न पाइन्छ ? भनेर कुर्दै म्यानपावर कम्पनी, एजुकेसन कन्सल्टेन्सी र दलालहरूको ढोका-ढोका चाहारिरहेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल छेउमा उभिएर बिदाईको मालासहितका फोटा खिचेको र आफन्तलाई हात हल्लाएर बिदाई गरिरहेको पल हरेक कामकाजी उमेर समूहको नेपालीमा सपनाजस्तै बन्न थालेको छ । पछिल्लो समय मध्यपूर्व, खाडी, अष्ट्रेलिया, युरोप र कामदारका लागि अन्य मुलुकमा युवा विदेशिने क्रम बढ्दो छ ।

अन्तर्राष्ट्रिय श्रम बजारमा पसिना बगाउन श्रमिकहरू जाने क्रम सुरू भएयताकै आकर्षक र निश्चिन्तमध्येको उत्कृष्ट मानिने एक श्रम गन्तव्यको रुपमा दक्षिण कोरिया चिनिएको छ । बर्सेनि भाषा परीक्षा पास गरेर कामदार भिसामा दक्षिण कोरिया जाने युवाहरू बढिरहेका छन् ।

युवा पुस्तालाई कोरिया पठाउने प्रयोजनका लागि खुलेका भाषा प्रशिक्षण केन्द्र र त्यहाँ कार्यरत कामदार कर्मचारी एवम् प्रशिक्षकहरु समेतको आर्थिक क्रियाकलाप नै एउटा नयाँ उद्यमजस्तै परिचय स्थापित भइसकेको छ नेपाली बजारमा । निरन्तर उत्साहमा रहेको कोरियाको श्रम बजार यसवर्ष भने निराशाजनक भयो ।

ईपीएस प्रणालीमार्फत उत्पादनमूलक तथा कृषि क्षेत्रसँगै पछिल्ला वर्ष सीप बिल्डिङमा पनि ठूलो संख्यामा कामदार लैजान थालेको छ । सन् २०२३ मा ३५ हजार ७०८ जनाले सीप बिल्डिङमा आवेदन भरे तर पास तीन हजार ९ सय ८९ मात्रै भएका छन् ।

सीप बिल्डिङमा आवेदन दिएकाले अन्य क्षेत्रमा परीक्षा दिन पाएनन् । यद्यपि उच्च अदालतमा रिट दायर गरेका १८ जनाले भने उत्पादनमूलक क्षेत्रमा फारम भर्न ईपीएस शाखाले बोलायो तर अरु ३० हजार जनाको बारे कुनै निकास निस्किएन । र, आवेदन भर्न पाउनुपर्ने भन्दै आन्दोलन सुरू भयो ।

शुक्रबार तिनै आन्दोलनकारीले भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी गरे । सार्वजनिक सम्पति बचाउने र चक्रपथ खुलाउने प्रयासको नाममा प्रहरीले दमनपूर्वक कारबाही अघि बढायो, गोलीसमेत चलायो । २ जनाको ज्यान गएको यो घटना यतिबेला नेपाल र विश्वभर रहेका नेपाली समुदायबीच निकै ठूलो पीडादायी खबरको रूपमा फैलिइरहेको छ ।

सामाजिक सञ्जालमा चासो र पीडामिश्रित रूपमा निकै चर्को विरोध भइरहेको छ । राज्यले श्रम गर्न पाऊँ भनेर माग गरिरहेको नागरिकको हत्या गरेको भन्दै केही स्थानमा प्रदर्शनसमेत सुरू भएको छ ।

नागरिकले देशभित्रै रोजगारी माग्दा त दिन सकेन, बरु रोजगारीका लागि देश छाड्छु भन्दा राज्यले हत्या गरेको भन्नेसम्म तर्कहरू सामाजिक सञ्जालमा भेटिएका छन् । यही तवरबाट आलोचना हुने, आक्रोश भड्किने र निराशा व्याप्त हुने हो भने निकै ठूलो सामाजिक संकट हुने निश्चित छ ।

ललितपुरको बालकुमारीमा भएको यो घटना श्रम बजारका लागि निकै पीडादायी घटना हो । यस्तो अवस्था किन बढ्दैछ भन्ने तर्फ राज्यको ध्यान पुग्न नसकिरहेको तीतो यर्थाथले भने झन् दीर्घकालीन चिन्ता थपेको छ ।

देश छाड्नेको यो लाम अन्तिम विकल्प हो त ? होइन । देश छाड्न नसक्नेहरुका लागि उपाय के त ? उपायविहीनताकै अवस्था आइसकेको हो ? होइन । अब नागरिक चेतनामा एउटा नयाँ विद्रोही चेत हुन आवश्यक छ ।

अहिले चोक, चिया पसल, यातायातमा भेटिने जो कोही युवा देशमा कुनै भविष्य नदेखिको नैराश्यता पोख्ने गर्छन् । संविधान जारी भएपछी खासगरी संघीयतापछि राज्यमा स्थायित्व र अवसरका ढोका खुल्ने, रोजगारीको अवस्था सिर्जना हुने र देशमै केही गर्न सकिन्छ भन्ने आश र सोच आम नागरिकमा थियो ।

यो संविधान निर्माण र यो व्यवस्थाको स्थापनाका लागि युवाहरूले बलीदान दिन तयार भएर आन्दोलित भएको निकट तथ्य पनि भुल्न सकिँदैन । तर, अपेक्षाविपरीतको अवस्था देखेपछि आम युवाहरूमा निराशा छाएको छ । जुन स्वाभाविक हो ।

गाउँ रित्तिन थालेको वर्षौं भइसक्यो । पछिल्ला वर्ष शहर पनि रित्तिन थालेका छन् । देश छाड्नका लागि लाठी र गोली खानसमेत नागरिकहरू तयार भएको यो अवस्था सांकेतिक रूपमा देश नै रित्तिन थालेको संकेत होइन र ?

युवाहरू किन तयार भइरहेका होलान्, यो प्रश्नले सरकार र राजनीतिक दललाई पोल्नुपर्ने होइन र ? आखिर जे अवस्था सिर्जना भईरहेको छ वा हुँदैछ यसको मुख्य जिम्मेवार नागरिक र देशको रक्षा गर्छौ भनेर जिम्मा लिने यिनै दलहरू र प्रणाली होइन र ?

लहड र यथार्थलाई छुट्याउनुपर्छ । व्यवस्था र प्रणालीमा भएका कमजोरीहरुलाई सुधार्न पर्छ । सक्नेहरुले छाडेको देशमा नसक्नेहरुले कसलाई सम्झेर बस्ने ?

उच्च सरकारी तहमा रहेर काम गरिरहेका कर्मचारी देखि नीजि क्षेत्रमा राम्रै आम्दानी गरिरहेका समेत भविष्यको चिन्ता र परिवार संगै सन्तानप्रतिको दायित्व प्रति चिन्तित हुँदै देश छाड्दैनन् भने आम सामान्य युवाहरु कसरी देशमा भविष्य देखुन् र बसुन् ।

देश छाड्नेको यो लाम अन्तिम विकल्प हो त ? होइन । देश छाड्न नसक्नेहरुका लागि उपाय के त ? उपायविहीनताकै अवस्था आइसकेको हो ? होइन । अब नागरिक चेतनामा एउटा नयाँ विद्रोही चेत हुन आवश्यक छ ।

आफैंभित्रको निरासा र लघुताभाष विरुद्धको विद्रोह । शान्त विद्रोह । शान्त संघर्ष । जुन विद्रोह र संघर्ष विना आक्रोस् उद्वेग र ध्वंश नयाँ रुपान्तरणको चरणमा लैजान पर्छ । देशभित्रैका सम्भावनाहरुमा केन्द्रित भएर काम गर्नु आवश्यक छ ।

लहड र यथार्थलाई छुट्याउनुपर्छ । व्यवस्था र प्रणालीमा भएका कमजोरीहरुलाई सुधार्न पर्छ । सक्नेहरुले छाडेको देशमा नसक्नेहरुले कसलाई सम्झेर बस्ने ? मानवीय चेतनाका हिसावले पनि आफू बाहेककाहरुका लागि पनि सोच्ने संकल्प हुन जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *