नायिकाहरुको कर्मकाण्ड: विदेश जानासाथ बिकिनी फोटोसुट – Nepal Press

नायिकाहरुको कर्मकाण्ड: विदेश जानासाथ बिकिनी फोटोसुट

काठमाडौं । बिकिनी अर्थात् महिलाहरुले लगाउने टु पिस पहिरन । पश्चिमा देशहरुमा सामान्य मानिए पनि नेपालमा भने महिलाहरुले यस्तो पोशाक आत्मविश्वासपूर्वक लगाइहाल्ने अवस्था अझै छैन ।

त्यसो त बिकिनी भनेको रेगुलर लगाएर हिँड्ने कुरा पनि होइन । खासगरि समुद्री तटमा घुमघाम गर्दा महिलाहरुले बिकिनी लगाउने गर्छन् । नेपालमा समुद्र नभएकाले पनि बिकिनीमा युवतीहरु अभ्यस्त नभएका हुन् । अरु त अरु, ग्ल्यामर फिल्डका युवतीहरु पनि बिकिनी लगाउन धकाउँछन् । यद्यपि, विदेश जाँदा भने उनीहरुको अनिवार्य काम नै हुन्छ- बिकिनी फोटोसुट ।

विभिन्न स्टेज कार्यक्रमहरुका लागि विदेश जाने नायिकाहरु बिकिनी फोटोसुट गर्न छुटाउँदैनन् । यस्तो लाग्छ कि यो नगरे विदेश र सी विच घुम्न गएको कुनै अर्थ हुँदैन । पछिल्लो समय ब्याक टु ब्याक नेपाली नायिकाहरुको बिकिनीका तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

नायिकाहरुले यसरी बिकिनी फोटो पोस्ट गर्दा प्रतिक्रियाको आँधी नै आउँछ । तर, सकारात्मक प्रतिक्रियाहरु भने कमै हुन्छन् । धेरैले भद्दा गालीगलौज गर्ने गर्छन् । शरीरमाथि अनेकथरि टिप्पणी हुन्छ । थोरैले प्रशंसा पनि गर्छन् ।

‘यही देखाउन विदेश गएको ? यो भन्दा छोटो लुगा भेटिएन ? बरु केही पनि नलगाए भइगो नि ?’ यस्तै यस्तै कमेन्टहरुले अभिनेत्रीहरुलाई हैरान पार्ने गरेका छन् । अब त उनीहरु यस्ता कमेन्टहरुसँग पनि बानी परिसके । जनताले पचाए पनि नपचाए पनि उनीहरुलाई बिकिनी फोटोसुट गरेर फेसबुकको वालमा टाँस्नै पर्छ ।

यहाँ बिकिनी फोटोसुट गरेका नायिकाहरु र उनीहरुले पाएको प्रतिक्रियाबारे चर्चा गर्न खोजिएको छः

वर्षा सिवाकोटी

चलचित्र ‘नाईं नभन्नु ल २’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका वर्षा सिवाकोटी गसिप र विवादहरुमा छाइरहन्छिन् । तर, उनको करिअरले भने खासै उछाल लिन सकिरहेको छैन । वर्षा ‘बोल्ड’ नायिकाको रुपमा चिनिन्नन् र अंगप्रदर्शनमा धेरै रुचि पनि राख्दिनन् । तर, एक पटक अमेरिकाको समुद्री तटमा गरेको बिकिनी फोटोसुटका कारण उनले धेरै ट्रोलको शिकार हुनुपर्‍यो ।

२०७८ साल चैतमा अमेरिका जाँदा उनले फ्लोरिडाको सी बिचमा रमाएका बेला आफूलाई तस्विरमा कैद गरेकी थिइन् । हरियो बिकिनीमा उनै निकै हट देखिएकी थिइन् । तर, वर्षालाई यस्तो हट अवतारमा देख्दा फ्यानहरु भने भड्किए । उनले धेरै नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको थियो । अन्ततः वर्षा आफ्नो सामाजिक सञ्जालबाट उक्त तस्विर हटाउन बाध्य भइन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञी नेपाली सिने जगतकी बोल्ड नायिकाका रुपमा चिनिन्छिन् । उनी सार्वजनिक कार्यक्रमहरुमा पनि छोटा लुगा लगाउने गर्छिन् । उनका लागि बिकिनी ठूलो कुरा होइन ।

साम्राज्ञीले केही समयअघि थाइल्यान्ड पुग्दा त्यहाँको माया बे बिच र फिफी आइल्यान्डमा बिकिनी सुट गरेकी थिइन् । पिंंक बिकिनीमा खुलेकी उनले तस्विर सँगसँगै रिलसमेत सेयर गरिन् । तर, उनका पोस्टहरुले त्यति महत्व पाएनन् । सधैं हट लुक्समै देख्दै आएकाले होला अरु अभिनेत्रीहरुलाई झैं फ्यानहरुले उनलाई नकारात्मक टिप्पणी गर्ने जाँगर पनि चलाएनन् ।

साम्राज्ञी बेलाबेलामा विदेश पुगी बिकिनी फोटोसुट गरिराख्ने गर्छिन् । २०७६ सालमा इन्डोनेसियाको बालीमा प्रेमीसँग रोमान्स गरेको तस्वीरलाई लिएर भने उनको चर्को ट्रोल भएको थियो । बिकिनी लगाएर गरेको फोटोसुटमा उनलाई प्रेमीले संवेदनशील अंगहरुमा स्पर्श र चुम्बन गरेका थिए ।

आँचल शर्मा

विवाहअघि भन्दा विवाहपछि बोल्ड अवतारमा देखिन थालेकी छन् नायिका आँचल शर्मा । प्रायः आफ्नो अभिव्यक्तिका कारण ट्रोल भइराख्ने नायिकाको हालै बिकिनी तस्विरले पनि राम्रै गसिप जन्मायो ।

आफ्नो श्रीमानसँग छुट्टी मनाउन फिलिपिन्स पुगेकी आँचलले बोरा आइल्यान्डमा बिकिनीमा तस्विर खिचाएकी थिइन् । श्रीमानले खिचिदिएको तस्विर पोस्ट गर्नासाथ उनलाई पनि आलोचनाको वर्षा भएको थियो । फ्यानहरुले उनका श्रीमानलाई पनि जोडेर भद्दा कमेन्ट्स गरे । योभन्दा अघि आँचलले बिकिनीमा खासै तस्विरहरु पोष्ट गरेकी थिइनन् ।

विवाहपछि शरीर मेन्टेन गरेकी आँचलले यसपालि सायद सहज भएकै कारण बिकिनीमा आफ्ना तस्विरहरु खिचाएकी थिइन् । तर, दर्शकलाई उनको सो तस्विर पाच्य भएन । कति दर्शकले त उनी फिलिपिन्स त्यही तस्विर खिचाउन मात्र गएको भन्ने जस्ता कमेन्ट्स पनि गरे ।

स्वस्तिमा खड्का

आँचल जस्तै स्वस्तिमा पनि विवाहित नायिका हुन् । श्रीमान निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को प्रदर्शनीमा सहभागी हुन निश्चल र स्वस्तिमा खड्का केही दिनअघि अष्ट्रेलिया पुगेका थिए ।

चलचित्रको प्रदर्शनीमा सहभागी हुनुका साथै यो जोडी घुमघामको लागि निस्केको थियो । घुमघामको क्रममा स्वस्तिमाले पनि अष्ट्रेलियाको सिड्नी बिच (क्रोनुला बिच) मा बिकिनी सुट गराइन् । श्रीमानले खिचिदिएको उनका तस्बिरहरु सार्वजनिक गरेलगत्तै उनलाई पनि प्रतिक्रियाको वर्षा भयो ।

अधिकतम चलचित्रहरुमा साधारण जीवनशैलीमा प्रस्तुत भइरहेकी नायिकालाई अचानक बिकिनीमा देख्दा कतिपय दर्शकले सहजै पचाउन सकेनन् । ‘दिमाग खराब’मा पनि उनले विपन्न परिवारकी गृहिणीको भूमिका निवाएकी थिइन् ।

अदिती बुढाथोकी

थोरै चलचित्रमा अभिनय गरेकी नायिका अदिती बुढाथोकी बोल्ड फोटोसुटमा भने अरुभन्दा धेरै अगाडि छिन् । उनी आफ्नो इन्स्टा पेजमा लगातार हट फोटोहरु सेयर गरिरहन्छिन् । फिगरले पनि साथ दिएर होला, अदितीको ट्रोल भने कमै हुने गरेको छ ।

केही दिनअघि मात्रै अदितीले बिकिनी लगाएका तस्विरहरु पोष्ट गरेकी थिइन् । दुबई पुगेर उनले ती तस्विरहरु खिचाएकी हुन् । उसो त उनी बेलाबेला आफ्ना बिकिनी लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट्याइरहन्छिन् ।

प्रियंका कार्की

ट्रोलहरुमा रमाउने नायिका हुन् प्रियंका कार्की । ट्रोल गर्नेहरुलाई उनी विभिन्न मसला दिइरहन्छिन्, जसमध्ये एउटा हो हट फोटोसुट । उनले पनि बारम्बार विदेश गएर बिकिनी फोटोसुट गर्ने गरेकी छन् । जति भद्दा कमेन्टहरु आए पनि प्रियंकालाई त्यसले कुनै असर गर्दैन । उनले गर्भवती अवस्थामा समेत बिकिनी फोटोसुट गरेकी थिइन् । एक पटक त उनले आफ्नी हुनेवाला सासू रविना देशराजसँग समेत बिकिनी फोटोसुट गरेकी थिइन् ।

नम्रता सापकोटा

खासै चर्चामा नरहेकी नायिका नम्रता सापकोटाले पनि बिकिनी फोटोसुटमार्फत दर्शकको ध्यानाकर्षण गर्ने प्रयास गरेकी छन् । भारतको भर्कला बिच पुगी उनले आफ्ना उक्त तस्विरहरु खिचाएकी थिइन् । तस्विरहरु सामान्य भएकाले गर्दा खासै नकारात्मक टिप्पणीहरु छैनन् । यतिबेला उनी भारत भ्रमणमा छिन् । भारतका विभिन्न स्थल र नदीहरु पुग्दै उनी आफ्ना तस्विरहरु सेयर गरिरहेकी छन् ।

रहर कि कर्मकाण्ड ?

सबैलाई थाहै छ, नेपाल भूपरिवेष्ठित देश हो । सानातिना नदी-खोला र स्विमिङ पुलमा चित्त बुझाउनु परेका नेपालीहरुको लागि आँखाले भ्याउनै नसक्ने समुद्र पक्कै पनि एउटा चाखको विषय हो । समुद्रमा पुग्नु, हेर्न पाउनु र त्यहाँ तस्विर खिचाउनु धेरैको सपना हुन्छ ।

विदेशी संस्कृतिलाई नियाल्ने हो भने समुद्री तटमा वयस्कदेखि वुद्धासम्मका महिलाहरु बिकिनीमै हुन्छन् । उनीहरुको लागि बिकिनी कुनै मुद्दा होइन । जसले जस्तोसुकै बिकिनी लगाए पनि कसैलाई कसैको मतलब हुँदैन । तर, नेपालका अभिनेत्रीहरुले भने विदेशमा गएर बिकिनी लगाउँदा मिडियामा समाचार र गसिपको बाढी लाग्छ । यस्ता समाचारमा सकारात्मक प्रतिक्रियाहरु निकै कम आउँछन् । आखिर किन ?

नेपालीहरु अहिले पनि महिलालाई साडी र गुन्यु चोलो वा कुर्ता सुरुवालमै हेर्न चाहन्छन् । यस्ता पोशाक लगाउने महिलालाई नै संस्कारी मानिन्छ । केही वर्ष अगाडिसम्म विवाहित महिलाले पाइन्ट लगाउँदा जिभ्रो टोक्ने गरिन्थ्यो । अहिले विस्तारै यसलाई सामान्य मान्न थालिएको छ । तर, अझै पनि बुहारीलाई छोरीले जस्तो पहिरन लगाएर हिँड्ने अनुमति छैन ।

विदेशी चलचित्रमा न्युड सिन हेर्दा पनि सामान्य ठान्ने दर्शकहरु नेपाली चलचित्रमा नायिकाहरुले सामान्य किस सिन दिँदा पनि आत्तिन्छन् । त्यस्तो सिन लामो समयका लागि गसिपको विषय बन्छ । नायिकाले विकिनी लगाएको दृश्यमा अझै पनि दर्शकहरु सिटी फुक्छन् । देशअनुसारको भेष भनेको सायद यही नै होला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *