‘शेयर बजार अब तल झर्दैन, बुलिसको यात्रामा निस्किसक्यो’ – Nepal Press

‘शेयर बजार अब तल झर्दैन, बुलिसको यात्रामा निस्किसक्यो’

काठमाडौं । यो साता शेयर बजारका लगानीकर्ताहरु निकै उत्साहित देखिए । लगातार बढ्दा बजारले पनि यही सातादेखि बुलिस चक्र समात्न खोजेको विश्लेषण भइरहेको छ ।

गत भदौ ७ गते २०१३.९३ विन्दुमा अडिएको बजार ३१.५२ अंकले घटेको थियो । सो बेला कारोबार १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँको भएको थियो । त्यसपछि बजार घटेर १८०० विन्दुसम्म आइपुगेको थियो ।

अहिले बजार फेरि फर्किएको छ । यो साता बजार २००० विन्दुमा उक्लिएको तथ्यांक नेपाल स्टक एक्सचेन्जसँग छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मक रुपमा केही लचिलो नीति लिएपछि शेयर बजारमा नयाँ माहोल देखिएको हो । यही साताको बुधबार कारोबार करिब १ वर्षयताकै उच्च भयो । बुधबार नेप्से सूचक ३५.३९ विन्दुले बढेर २१४१.८७ अंकमा पुग्यो । सूचकसँगै कारोबार पनि ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको भएको थियो । जबकि गत वर्षको पुस २६ गते ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि यही पुस ४ गते सबैभन्दा बढी कारोबार भएको हो ।

बियरिस चक्रले थला परेको बजारमा लगानीकर्ताको खर्बौं पूँजी गुम्यो । गत साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केही लचक नीति लियो । जसको प्रत्यक्ष असर अहिले शेयर बजारमा देखिइरहेको छ । शेयर धितो कर्जाको जोखिमभार घटाइनुले पनि लगानीकर्ताको विश्वास उचो बनाएको विज्ञहरु बताउँछन् ।

यता बैंकहरुको ब्याजदर सस्तो हुँदै आउँदा बजारप्रति माहोल बनेको देखिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउनु भनेको ऋणको ब्याजदर घट्ने आधार तयार हुनु पनि हो । मुद्दती निक्षेपको १२ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले अहिले ८ प्रतिशतको वरिपरि झारेका छन् । अब ऋणको ब्याजदर एकल अंकमा झर्ने अपेक्षा आम लगानीकर्ताको छ ।

ब्याजदर कम हुँदा शेयर धितोको कर्जा बढेको राष्ट्र बैंकको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा चार महिनामै ८१ अर्ब कर्जा प्रवाह गरिसकेका छन् । जबकि गत वर्ष यस्तो कर्जा करिब ६० अर्बको हाराहारी थियो ।

शेयर विश्लेषक मुक्ति अर्याल बजारमा अहिले लगानीकर्ताको आत्मविश्वास उच्च भएको बताउँछन् । उनका अनुसार बजार बुलिसतर्फ लम्किएको छ ।

अर्याल भन्छन्, ‘बजार बुलिस हुन पछिल्लो सबैभन्दा तल्लो विन्दुबाट २० प्रतिशत बढेको हुनुपर्छ । बुलिस हुन २२०० को विन्दु छुनुपर्छ । यसकारण बजार अहिले बुलिसतर्फ लम्किरहेको छ ।’

शेयर बजार सुध्रिँदा अर्थतन्त्रका अन्य सूचक पनि सुधारिने उनको भनाइ छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार सही हिसाबले अघि बढ्ने संकेत विगत ८ दिनको कारोबारले देखाएको बताउँछन् ।

उनी भन्छन्, ‘बजार १८०० विन्दुबाट पनि ७/८ पटक तल झर्न खोज्यो । तर, सकेन । अब तल झर्दैन । बजार बुलिसको यात्रामा निस्किसकेको छ ।’

अहिले बजार पूँजीकरण ३२ खर्ब ४२ अर्ब रहेको छ । पछिल्लो समय दैनिक ५ अर्ब रुपैयाँभन्दा माथिको शेयर खरिद बिक्री भइरहेको छ ।

विज्ञहरुका अनुसार आगामी दिनमा यी आधारहरुमा टेकेर शेयर बजार अगाडि बढ्नेछः

  • बैंकको ब्याजदर घट्नु
  • शेयर मार्जिन कर्जाको जोखिम भारित औसत १५० प्रतिशतबाट १२५ प्रतिशतमा झर्नु
  • महँगी नियन्त्रणमा रहनु
  • शेयर बजारमा नयाँ नयाँ ब्रोकर कम्पनीको प्रवेश हुनु
  • नयाँ स्टक एक्सचेन्ज खुल्ने अन्तिम तयारी
  • ब्रोकर कमिसन घटाउने तयारी
  • सोधान्तर नाफामा रहनु
  • रेमिट्यान्स मासिक औसत १ खर्ब भित्रनु
  • विदेशी विनिमय सञ्चितीको ऐतिहासिक रेकर्ड ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *