बढ्न थाल्यो शेयर धितो कर्जा, चार महिनामा ८१ अर्ब १६ करोड लगानी – Nepal Press

बढ्न थाल्यो शेयर धितो कर्जा, चार महिनामा ८१ अर्ब १६ करोड लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूबाट ८१ अर्ब १६ करोड रूपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको छ ।

चार महिनामा वाणिज्य बैंकहरूमार्फत ६३ अर्ब ६० करोड रूपैयाँ, विकास बैंकहरूबाट १४ अर्ब ९ करोड १० लाख रूपैयाँ र फाइनान्स कम्पनीहरूबाट ३ अर्ब ४६ करोड ९० लाख गरी ८१ अर्ब १६ करोड रूपैयाँ शेयर धितो कर्जामा लगानी भएको हो । वाणिज्य बैंकहरूबाट गत आवको कात्तिक मसान्तसम्म ५९ अर्ब ९१ करोड २० लाख कर्जा प्रवाह भएको थियो ।

गत असोज महिनामा मात्रै नेपाल राष्ट्र बैंकले १२ करोडको शेयर धितो कर्जा क्याप सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । शेयर धितो कर्जा क्यापलाई बढाउँदा कर्जा प्रवाह पनि बढ्ने आंकलन थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखमाथिको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाएर १२५ प्रतिशत बनाएको छ । यसले पनि कर्जा प्रवाहलाई प्रोत्साहन गरेको जानकारहरू बताउँछन् ।

 

यस्तो छ शेयर धितो कर्जा प्रवाहः

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नबिल बैंकमार्फत १० अर्ब ९४ करोड ६० लाख रूपैयाँ शेयर धितो कर्जा लगानी भएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले ६ अर्ब २९ करोड ९० लाख, एनआईसी एसियाले ४ अर्ब ६४ करोड ४० लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३० लाख र राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब २६ करोड ३० लाख रूपैयाँ कर्जा लगानी गरेका छन् ।

त्यसैगरी, सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५० लाख, सिटिजन्सले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५० लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४० लाख, लक्ष्मीसनराइज बैंकले ३ अर्ब २८ करोड ४० लाख, हिमालयन बैंक २ अर्ब ५२ करोड ३० लाख, नेपाल इनभेष्टमेन्ट मेघा बैंकले २ अर्ब ४० करोड ८० लाख, प्राइम बैंकले १ अर्ब ४२ करोड, एभरेष्ट बैंकले १ अर्ब ३६ करोड, सानिमा बैंकले १ अर्ब २२ करोड ३० लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९० लाख, एनएमबी बैंकले १ अर्ब ६ करोड ४० लाख र माछापुच्छ्रे बैंकले ४९ करोड ८० लाख रूपैयाँ मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

शेयर धितो कर्जा सबैभन्दा कम नेपाल एसबीआई बैंकबाट २ करोड ३० लाख रुपैयाँ प्रवाह भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर