सामान्य प्रशासन मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर – Nepal Press

सामान्य प्रशासन मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर

कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दाहालबाट महतोलाई

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत तीन जना सहसचिवको महाशाखा हेरफेर गरेकी हुन् ।

जसमा मन्त्रालयको महत्त्वपूर्ण मानिएको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रामकुमार महतोलाई दिइएको छ । महतो स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुमन दाहाललाई भने संघीय मामिला महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । संघीय मामिला महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव डा.नारायण रेग्मीलाई स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा शक्तिशाली र महत्त्वपूर्ण मानिन्छ । उक्त महाशाखाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकारका सचिवको जिम्मेवारीमा रहेका सहसचिव लगायत संघीय सरकारका सबै तहका कर्मचारी सरुवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।

आफूले भनेअनुसार सरुवा नगरेको र मन्त्रीलाई नै जानकारी नदिएर पनि सरुवा हुने गरेको भन्दै दाहाललाई कर्मचारी प्रशासन महाशाखाबाट सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

यस अघिका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि सुरुमा कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव कमल भट्टराईलाई दिएको भए पनि केही समय पछि उनलाई अर्को महाशाखामा सरुवा गरेर मन्त्रालयका तत्कालीन सहसचिव हेमराज तामाङलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । मोदी मन्त्रीबाट बाहिरिएसँगै तामाङ मन्त्रालयबाट सरुवा भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर