९ करोड बढीको कारोबार गर्दै सकियो भैरहवाको प्रादेशिक महोत्सव – Nepal Press

९ करोड बढीको कारोबार गर्दै सकियो भैरहवाको प्रादेशिक महोत्सव

रुपन्देही । चेम्बर अफ कमर्श रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित छैटौं लुम्बिनी प्रादेशिक महोत्सवमा ९ करोड बढीको कारोबार भएको छ ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभीमानी नेपालीको पहिचान बचाऔं’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर- ८ स्थित अञ्चलपुरमा मंसिर ६ सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चलेको थियो ।

महोत्सवमा करिब ९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनका अनुसार महोत्सव १ लाख ५० हजार दर्शकले अवलोकन गरेका थिए ।

महोत्सव समापनमा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले महोत्सव आयोजना गर्न आवश्यक मण्डपको व्यवस्था गर्न सबै मिलेर जग्गाको खोजीमा लाग्नुपर्ने बताए ।

उनले पर्यटनको विकास गर्न डण्डा कोरिडोर आवश्यक रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा मेला महोत्सव सञ्चालन झन खर्चिलो भएको बताए ।

उनले विदेशमा मेला महोत्सव सरकारी निकायले सञ्चालन गर्ने र निजी क्षेत्रले स्टल राख्ने गरेको तर नेपालमा महोत्सव निजी क्षेत्रले सञ्चालन गरे पनि मन्त्रालयहरुबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर