देउवाको गृह जिल्लामा ओलीको क्रेज (तस्बिरहरु) – Nepal Press

देउवाको गृह जिल्लामा ओलीको क्रेज (तस्बिरहरु)

डडेल्धुरा । डडेल्धुराको ठाडो गल्लीमा विगत २० वर्षदेखि व्यापार गर्दै आइरहेका पुष्पक ठकुरीलाई आफ्नो पसल अगाडीको सडक राम्रो नभएकोमा चिन्ता छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २०४८ सालमै आश्वास दिएको उक्त सडक अहिले मर्मत भइरहेको छ । देउवा पाँच पटकसम्म प्रधानमन्त्री भएर पनि एउटा सानो सडक निर्माण गर्न ३२ वर्ष लगाएको उनी बताउँछन् ।

‘२०४८ सालमै आश्वासन दिएका कतिपय कुराहरू अझै पूरा भएका छैनन्’, उनले गनासो गरे, ‘पाँच पटक प्रधानमन्त्री भएर पनि डडेल्धुरामा जति विकास हुनु पर्ने हो भएको छैन । उहाँले आफूलाई र आफ्नो मान्छेलाई बनाउने काम गर्नु भयो डडेल्धुरा बनाउने काम गर्नु भएन ।’

ठकुरीले आफ्नो क्षेत्रमा सडक, खानेपानी लगायतका समस्या अझै उस्तै भएको बताए ।

केही वर्षदेखि अटो चलाइरहेका हर्कबहादुर ऐर साँघुरा सडक भएका कारण निकै समस्या भइरहेको गुनासो गर्छन् । उनी शेरबहादुर देउवा धेरै पटक प्रधानमन्त्री हुँदा पनि आफूहरूले त्यसको आभास गर्न नपाएको बताउँछन् ।

‘हामी त गरिखाने मान्छे सडक राम्रो नहुँदा निकै समस्या हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ज्यूले अरू ठाउँमा त धेरै गर्नु भएको होला यहाँ त राम्रो बाटो पनि बनाउनु भएको छैन ।’

यता आफ्नै जिल्लाबाट प्रधानमन्त्री भएका देउवासँग गुनासो गरिरहेका ठकुरी र ऐरले आफ्नो जिल्लामा आएका एमाले अध्यक्ष ओली प्रति भने सद्भाव देखाए ।

‘देउवाले आफ्नै क्षेत्रमा त्यति धेरै गर्न सक्नु भएन’, ठाकुरले भने, ‘यहाँ आउनु भएका ओलीले केही गर्नु हुन्छ कि भन्ने अपेक्षा गरेका छौँ ।’

स्थानीयले मात्रै होइन कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले पनि एमाले प्रति आशावादी भएको बताएका थिए । शुक्रबार ओली सहितका नेता कार्यकर्ताले डडेल्धुरामा रहेको अमरगढी किल्ला अवलोकन गर्न निस्किएका थिए । त्यस क्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले अमरगढी किल्लाको व्यवस्थापनमा चासो राखिदिन अपिल गरेका थिए ।

‘पहिले शेरबहादुर देउवालाई पनि अपिल गरेका थियौँ । अहिलेसम्म पनि केही भएको छैन अब तपाइहरूले पनि चासो राखिनु प¥यो’ मेयर जोशीले एमाले नेताहरूलाई आग्रह गरे ।

एमाले अध्यक्ष ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे,विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा पनि अमरगढी किल्लाको अवलोकनमा थिए। महासचिव शंकर पोखरेल सहित उपमहासचिव, सचिव सहितका अन्य नेताहरूलाई स्थानीयले अमरगढी किल्लाको संरक्षण र संवर्द्धनमा चासो राख्न अपिल गरेका थिए ।

कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए । तिनै अमरसिंहले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको पाइन्छ ।

१९४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । किल्लाभित्र युद्ध गर्नको लागि २६ वटा बंकर छन् ।३ वटा तोप राख्ने ठाउँ र एउटा सुरुङ मार्ग पनि छ ।

अमरगढी किल्लाको अवलोकन पछि एमाले अध्यक्ष ओलीले सबै भन्दा पहिले अमरसिंह थापाको सालिक फेर्न सुझाव दिए। अमरसिंह थापाको अनुहार मिलेको छैन जस्तो स्वरूप छ त्यस्तै सालिक हुनुपर्छ ओलीले भने , तत्काल यो ठाउँमा अमरसिंह जस्तै सालिक राखिनु पर्छ ।

देउवाको गृह जिल्ला पुगेका ओलीले शुक्रवार बिहानै देउवालाई फोन गरेर सदासायता देखाएका थिए ।

‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौँ । राम्रो छ यतातिर, तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि’, ओलीले देउवालाई भनेका थिए ।

२०४८ देखि देउवा निर्वाचनमा अपराजित छन् । तर, यहाँका नागरिक भने देउवाले लगातार ७ पटक जित्दा र ५ पटक प्रधानमन्त्री हुँदा पनि हुनुपर्ने जति विकास नभएको बताउँछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर