कमला नदीमा पूर्णिमा मेला : ‘देवता’ खेल्ने भगता, धामीझाक्री र श्रद्धालुको घुइँचो (तस्बिरहरु/भिडिओ) – Nepal Press

कमला नदीमा पूर्णिमा मेला : ‘देवता’ खेल्ने भगता, धामीझाक्री र श्रद्धालुको घुइँचो (तस्बिरहरु/भिडिओ)

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडेको कमला नदीमा विशाल कार्तिक पूर्णिमा मेला लागेको छ । कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालु, भगता र धामीझाक्रीहरुको घुइँचो लागेको हो ।

कमला नदीलाई गंगा सरह मानिन्छ । यहाँ कार्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्त्व रहेको छ । त्यसैले आजको दिन कमला स्नान गर्न गाउँगाउँबाट लाखौं मानिस उर्लिएका छन् ।

सिरहाको बन्दिपुरमा पर्ने उत्तराहिनीदेखि भारत विहारको जयनगरसम्म कमला नदीको दुबैतिर जताततै घुइँचो देख्न सकिन्छ । सर्वसाधारण स्नान र पूजापाठ गरी फर्किन्छन् । तर धामीझाक्रीहरु नवभगतालाई सतबैद (शपथग्रहण) गराउन व्यस्त देखिन्छन् ।

धामीले लोक भाकामा ‘महराई’ गाउँछन् । ‘महराई’ एक मन्त्र हो । मिर्दङ-मादल, झ्याली, ढोल र पिपही जस्ता बाजाको तालमा धामीले ‘महराई’ गाएपछि भगताको शरीरमा घरमा पूजिने कूलदेउता आउने मान्यता छ ।

तराई/मधेशका प्रायः हरेक हिन्दूले घरमा कूलदेवता पूज्छन् । देवतालाई घरका एकजना जो शुद्धि प्राप्त गरेका हुन्छन्, उसले मात्र पूजा गर्छन् । यदि देउता पूजने घरको व्यक्ति अशुद्ध भयो वा निधन भयो भने परिवारकै अर्का व्यक्तिको शरीरमा देउता आउन थाल्छ ।

देउता आउन थालेपछि कार्तिक पूर्णिमाकै दिन धामीको साहारामा शुद्धि प्राप्त गरिन्छ । शुद्धि प्राप्त गर्ने व्यक्तिलाई भगता भनिन्छ । धामीले कमलामा स्नानअघि भगतालाई ुसतबैदु अर्थात् शपथग्रहण गराउँछन् ।

सिरहा नगरपालिका १ का धामी हरिदेव पासवान भन्छन्- ‘देउता र भगता दुबैलाई शपथग्रहण गराउँछौँ । कमलेश्वरी मातालाई साक्षी राखेर भगताले सधैँ श्रद्धापूर्वक पूजा दिने र कूलदेउताले घर-परिवारको रक्षा गर्ने वचन दिन्छन् । यसलाई हामी ‘सतबैद’ भन्छौं ।’

पुरुष भगता पहेँलो धोती र महिला भगता पहेँलो रातो सारीमा सजिएका हुन्छन् । उनीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा कराउँछन् । भूत जस्तै हाउभाउ देखिने हुँदा ‘पूर्णिमा मेला’लाई भूत मेला भन्न थालिएको छ ।

सर्वसधारणले कमला नदीमा स्नान गर्दै कमलेश्वरी मातासंग घर-परिवारको रक्षा, सुख शान्ति र समृद्धिको कामना गर्छन् । कतिपयले मनोकामना पुरा भएको भन्दै बोकाको बली समेत चढाउँछन् । प्रायः व्यक्तिले झाप, लड्डु र फलफूल समेत चढाउँदै पूजापाठ गरेका छन् ।

कमला नदीमा स्नान गरेका सर्वसाधारण र सिद्धि प्राप्त गरेका भगता तथा धामीहरु नदीको तटमा दहीच्युरा खाने गर्छन् । यहाँको पानी कतिपयले घर लैजाने गर्छन् । कुनै पनि शुभ कार्य गर्नुअघि कमलाको पानी छर्किएपछि शुद्ध हुने जनविश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर