सर्वोच्चमा ६ न्यायाधीश सिफारिस- एकमात्र मुख्य न्यायाधीशमाथि प्रतिशोध, कांग्रेस कोटाबाट सुनिललाई मौका – Nepal Press

सर्वोच्चमा ६ न्यायाधीश सिफारिस- एकमात्र मुख्य न्यायाधीशमाथि प्रतिशोध, कांग्रेस कोटाबाट सुनिललाई मौका

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि एकजना खाली राखेर ६ जनाको नाम सिफारिस भएको छ । न्यायपरिषद्‌को मंगलबार बसेको बैठकले उच्च अदालतका एकमात्र मुख्य न्यायाधीश नृपध्वज निरौलालाई छुटाएर अन्यलाई सिफारिस गरेको छ ।

उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुलअजिज मुसलमान न्यायाधीशमा सिफारिस भएका छन् । त्यस्तै कांग्रेसको कोटाबाट नेपाल बारका पूर्वमहासचिव सुनिल पोखरेल र बालकृष्ण ढकाल पनि न्यायाधीश सिफारिस भएका छन् । माओवादी कोटाबाट न्यायाधीश सिफारिस हुने भनिएका महान्यायाधिवक्ता दिनमणि पोखरेल भने यसपटक छुटेका छन् । तर, सर्वोच्चको एक न्यायाधीश भने खाली राखिएको छ ।

न्यायाधीश सिफारिस भएकामध्ये पोखरेल र ढकाल कानून व्यवसायीबाट हुन् । ढकाल वामपन्थी पृष्ठभूमिका वकिल हुन् ।

निरौलालाई भने प्रतिशोध साँधेर सर्वोच्चको न्यायाधीशमा सिफारिस नगरिएको हो । उनी चोलेन्द्रशमशेर जबराका पालामा मुख्य न्यायाधीश भएका थिए । ७ मध्ये ६ मुख्य न्यायाधीश खाली छन् । उनी वरीयताका आधारमा र परिषद्‌ले बनाएको पछिल्लो मापदण्डका आधारमा पनि एक नम्बरमा सिफारिस हुनुपर्ने थियो ।

कांग्रेस कोटाबाट बरिष्ठ अधिवक्ता मेघराज पोखरेल,बिजय मिश्रा,सरिता शर्मालगायत दाबेदार थिए ।

उच्च अदालतका बरिष्ठतामा पहिलो नम्बरमा रहेका सत्यमोहन जोशी थारुलाई छुटाएर दोस्रो नम्बरकी सारंगा सुवेदीलाई सिफारिस गर्दा बरियतामा माथि रहेका रमेश प्रसाद राज भण्डारी,श्रीकान्त पौडेल,लोहितचन्द्र शाहलगायत पनि छुटेका छन् ।

यसैबीच उच्च अदालतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह,माधव पोखरेल,रमेशराज राजभण्डारी,श्रीकान्त पौडेल,नित्यानन्द पाण्डे र शान्ति सिंह थापा सिफारिस भएका छन् । नृपध्वज निरौलालाई भने डोटीबाट पाटनको उच्च अदालतमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *