जुवा र जीवन – Nepal Press

जुवा र जीवन

मानव सभ्यताले विकास गरेको सबैभन्दा पुरानो खेलमध्येको एक खेल हो, जुवा । सर्वाधिक प्राचीन र अझसम्म पनि जीवित रहेको खेल पनि हो, जुवा । देवीदेवताका पालामा पनि जुवा खेलको अस्तित्व रहेको र जुवाको खेल देवलोकमा समेत प्रसिद्ध रहेको कुरा विभिन्न शास्त्रहरूमा उल्लेख पाइन्छ । महादेव र सतीदेवीको बीचमा जुवाको खेलको प्रसङ्ग स्वस्थानीमै पाइन्छ । वेद आदि ग्रन्थ तथा महाभारत, स्मृतिग्रन्थहरूमा समेत जुवा खेलको प्रसङ्ग आउने गरेको पाइन्छ ।

तिहारको समय छ । चाडबाडको समयमा जुवा आदि खेल खेल्ने र मनोरञ्जन गर्ने नेपाली परम्परा नै छ । दसैँको कोजाग्रत पूर्णिमा तथा तिहारको यमपञ्चकका बेलामा जुवा फुकाउने राणाकालमा प्रसिद्ध थियो । अन्य समयमा पनि बेलामौका पारेर जुवा फुकाउने चलन रहेको इतिहास हेर्दा थाहा पाउन सकिन्छ । प्राच्य विद्याका ६३ प्रकारमध्ये एक द्यूत अर्थात् जुवा पनि हो । समाज र शास्त्रलाई हेर्दा दुवैतिर जुवालाई सकारात्मक र नकारात्मक हिसाबले लिने गरिन्छ ।

नेपालमा भने जुवा खेल्न र खेलाउन कानूनले नै प्रतिबन्ध गरेको छ । जुवा ऐन २०२० ले नेपालमा जुवा खेल्न र खेलाउन प्रतिबन्ध गरेको छ । जुवा ऐन २०२० अनुसार ‘जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झिनुपर्छ । तर, सो शब्दले नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठालाई र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई जनाउँदैन ।’

मानव जीवनका हरेक सासमा दाउ छ । हरेक दाउमा हार र जीतको फैसला हुने गर्छ । जसले जित्यो, जीवन उसैले जिउन सक्यो । जसले दाउ हारेको छ, मृत्यु पनि उसैले पाएको छ । त्यसैले भन्ने गरिन्छ- जीवनको जुवामा जसले जित्छ, उसैले जिउने गर्छ । हार्नेले त मृत्युवरण नै गर्छ । त्यसैले जीवन एक जुवा हो । हुन पनि हो, जुवा नै एक त्यस्तो खेल हो, जसले मानव मनलाई बहलाउन गरिने अनेक खेलबहाडहरूमध्येको सबैभन्दा सजीव, नाटकीय र रोचक अनि जीवनको लाभ-हानि र उक्साइ-गडाइबीचको सबैभन्दा नजिकको तादात्म्य राख्ने गर्छ । त्यसैले पनि हाम्रो जीवन सदैव दाउमा रहेको हुन्छ । जीवनको जन्म पनि संयोग र मृत्यु पनि संयोग छ भने दुई संयोगका बीचमा रहेको दाउमा बाजी राखेर हामी जीवनको प्राण वायु लिने गर्छौं र जीवनमा खुशी लिने प्रयत्न गर्ने गर्छौं । जुवामा जतिको मानव तनमनको संयोग र सजीव उत्साह अन्य कुनै पनि खेलमा देखिन्न ।

जुवालाई असाध्यै नराम्रो, कुटील र घृणित खेल भन्ने पनि गरिन्छ । जति नै यसको कटु आलोचना गरे पनि समग्र जीवन नै एक जुवा हो भन्ने कुरा सबैले स्वीकार गरेकै छ । तर पनि जुवाको नराम्रो कुलतमा फसेर राजा नलदेखि युधिष्ठिरसम्मका महाप्रतापी पनि बिल्लीबाठ भएको र वनबास जानुपरेको कुरा त हामी सबैले सुनिआएकै र पढिआएकै हो । त्यस्तै स्कन्द पुराणमा महादेव र पार्वतीका बीचमा लक्ष्मीपूजाका दिनमा जुवा खेल भएको र उक्त खेलमा पार्वतीको जीत भएको र त्यही जीतको खुशीमा पार्वतीको आदेशमा भूमण्डलमा दीपावली गरिने र त्यसको भोलिपल्ट मुख्य रूपले जुवा खेलिने गरेको शास्त्रीय इतिहास पनि पाइन्छ ।

मानव जीवनका हरेक सासमा दाउ छ । हरेक दाउमा हार र जीतको फैसला हुने गर्छ । जसले जित्यो, जीवन उसैले जिउन सक्यो । जसले दाउ हारेको छ, मृत्यु पनि उसैले पाएको छ । त्यसैले भन्ने गरिन्छ– जीवनको जुवामा जसले जित्छ, उसैले जिउने गर्छ । हार्नेले त मृत्युवरण नै गर्छ । त्यसैले जीवन एक जुवा हो ।

श्रीमद्भगवद् गीतामा श्रीकृष्ण भन्नुहुन्छ- ‘द्यूतं छलयतामस्मि ।’ अर्थात्, छल गर्नेहरूमा म द्यूत (जुवा) हुँ । -श्रीमद्भगवद् गीता १०/३६

त्यस्तै जुवाकै कारणले गर्दा त्यत्रो महाभारत युद्ध भएको थियो । जुवामै लागेर सर्वस्व सिध्याएका धेरै व्यक्तिहरू हाम्रै समाजमा पनि छन् । ‘खेल्नु हुन्न जुवा र तास, घरबास हुन्छ उठीबास’ भन्ने पनि निकै सुनिएको उक्ति हो । तर, जीवनलाई नजिकबाट बुझेका दार्शनिकहरू भने जुवालाई जीवनको एक उच्च आदर्श मान्ने गर्छन् । अनिश्चित जीवनमा अनिश्चित दाउमा रहने जुवाको खेलले एकै क्षणमा राजालाई रङ्क र रङ्कलाई राजा बनाइदिन सक्छ । जुवामा हुने दाउको लाभ र हानिलाई महाशक्तिको सृष्टि र लयसँग सम्बन्ध जनाएर प्रकृतिसँग नजिकको सम्बन्धको तादात्म्य र दर्शन पनि हुन्छ । मानव कलपुर्जा जब समाधिमा पुग्छ तब अदृश्य भाग्यका उडिरहेका विन्दुलाई क्षणमै टिपेर आफ्नो पक्षमा जसले पार्नसक्ने क्षमता राख्छ, ऊ नै जुवाको बादशाह हो । जीवन नै एक जुवा भएकाले यो जुवा होशपूर्वक खेलिनुपर्छ भन्ने आदर्श समाजमा स्थापित मान्यता हो ।

धनी बन्न सकिन्छ भन्ने लालसा कसमा हुँदैन र ? कसले धनको बर्बादी चाहेको छ र ? जीवनको एक जुवामा एक पटक कोसिस गरेर सुखपूर्वक जिउने लालसाले नै मानिसलाई जुवाको खालमा धकेल्छ । समुन्नत भविष्यको पाना एक क्षण अगाडिकै भए पनि यसलाई उल्टाउन सक्छु भन्ने मानव कोसिस र लालसाका बीचमा जुवा एक दाउ बनेर उपस्थित हुन्छ । जुवाको यही दाउ नै मानिसमा लाभ र हानि अनि आशा र निराशाका बीचमा बडो रोचक बनेर खेल्छ । अनिश्चित संसारमा आफ्नो अदम्य आत्मविश्वास कायम राखेर खतराबाट फाइदा उठाउने ध्याउन्नमा मानिस सदैव लागिरहेकै हुन्छ । अदृश्य भाग्यका दैवी मुटुलाई पक्रन नसक्दा एक उच्च महत्वाकाङ्क्षा तुरुन्तै रसातलमा भासिन पुग्छ । अत्यन्तै शीघ्र रूपमा मान्छेको मुहारको भाव कतै परिवर्तन हुन्छ भने त्यो जुवामै हुन्छ । त्यसैले सच्चा जीवनको भरपूर रङ्गमञ्च कतै छ भने त्यो जुवामा नै रहेको पाइन्छ । त्यसैले पनि जुवाको महत्त्व नेपाली समाजमा अझ व्यापक बन्दै गएको छ भने १६ कौडाको खेल विस्तारित हुँदै गएर सबैखाले लाभहानिको उद्देश्य राखेर खेल्ने/खेलाइने खेल नै जुवा बन्न पुगेको छ । नेपाली समाजमा जुवा, तास, पासालगायतका संयोगका आधारमा हार र जीतको निर्णय गर्ने सबैखाले खेललाई जुवाकै उपमा दिइएको पाइन्छ ।

जुवाको अर्को विशेषता यो पनि हो कि जुवा कहिल्यै एकपक्षीय रूपले खेलिँदैन । जुवा सदैव बहुपक्षीय हुने गर्छ । जो व्यक्ति साँच्चै एकपक्षीय छ, ऊ सदैव जुवाको खालभन्दा बाहिर रहने गर्छ । मान्छे अरू कसैप्रति उत्सुक हुन्छ भन्ने त्यो मुख्य रूपले जुवामै देखिन्छ । दोस्रो पक्षप्रतिको उत्सुकता भन्नाले प्रेम, धन, यश, सफलता आदि नै किन नहुन् । दोस्रो पक्षप्रतिको उत्सुकता नै जुवाको खालमा प्रवेशको मुख्य द्वार हो । यदि दुवै पक्ष एकापसमा उत्सुक छन् भने त दुवै पक्ष निकै गहिरो जुवाको खालमा प्रवेश गरेको भनेर बुझ्दा पनि हुन्छ । यसरी दुवै पक्ष जुवाको खालमा प्रवेश गरेका छन् भने त्यहाँ अर्को पक्षका रूपमा ‘दाउ’ रहेको हुन्छ । त्यही दाउले नै एकलाई मालामाल र अर्काेलाई कङ्गाल बनाउने गर्छ ।

संसारमा निश्चित भन्ने कुनै कुरा छ भने त्यो केवल मृत्युमात्रै हो । मृत्युदेखि अतिरिक्त सबै कुरा अनिश्चित रहेको दुनियाँमा हरेक कदम अनिश्चित छ । अनिश्चितको यो दुनियाँमा मानव जीवन आकाशे खेती जस्तो छ । पानी परेमा खेती सप्रन्छ, अन्यथा हात लाग्यो शून्य । यही अनिश्चित खेलमा जीवन चलिरहेछ । एक मुट्ठी छरेर मानो भित्र्याउने सपना पनि जुवा नै हो भने जीवनको प्रत्येक कदम पनि जुवा हो । जसको कुनै निश्चय छैन कि कहाँ पुगेर अन्त्य हुन्छ । जब संसारमा जन्म र मृत्यु र त्यसका बीचमा परिवर्तनकारी घटना सबै संयोगका आधारमा हुने भएपछि समग्र मानव जीवन नै पनि एक विशाल जुवाको खाल बन्न पुग्छ । एक झलकमा के हुन्छ ? त्यसलाई मानिस भेट्टाउन सक्तैन । यदि त्यति भेट्टाउन मानव जीवनले सक्ने थियो भने मानव जीवनको सारा मोहनी नै त्यसै त्यसै हराएर जाने थियो होला । प्रतिक्षण सपना देखिँदै र अव्यक्त आशाहरू अझ घनीभूत हुँदै जान्छ जुवामा । भाग्यमानी व्यक्ति त्यही हो, जसले अनिश्चित जीवनमा उड्दै गरेको क्षणको मुटु भेट्टाएको छ । अन्यथा सबै आशा तुरुन्तै निराशामा बदलिन्छ । क्षणको मुटुलाई ठाउँमा पक्रन सक्नु नै जीवनको जुवाको सच्चा सफलता हो ।

धनी बन्न सकिन्छ भन्ने लालसा कसमा हुँदैन र ? कसले धनको बर्बादी चाहेको छ र ? जीवनको एक जुवामा एक पटक कोसिस गरेर सुखपूर्वक जिउने लालसाले नै मानिसलाई जुवाको खालमा धकेल्छ । समुन्नत भविष्यको पाना एक क्षण अगाडिकै भए पनि यसलाई उल्टाउन सक्छु भन्ने मानव कोसिस र लालसाका बीचमा जुवा एक दाउ बनेर उपस्थित हुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन्- ‘जुवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ । तर, दुनियाँले खराब ठहराइएका चिजहरूमा पनि औपदेशिकता पाउनु विचारशील मनुष्यको लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि नैतिक सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर ‘छिःछिः दुरदुर’ गरेका मान्छेमा पनि त्यत्तिका गुणहरू पाइन सक्तछन् कि मामुली कट्टर तर्सेर उठ्तछ । त्यस्तै जुवा खेल्नु खराब सम्झिएको छः तर, जुवाभित्र अनेक किसिमका उपदेशहरू पाइन्छन् । हामी कुनै चिजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो । तब जुवा खेल्नु चरित्र भ्रष्टको लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं ।’

मानव जीवन सदैव छलमा नै जीवित छ । संसार एक रङ्गमञ्च भएको कारणले पनि यहाँ सबै कुरामा छल हुने गरेको पाइन्छ । जीवनमा हुने छलको जुन स्थिति छ, त्यो जुवामा जत्तिको अन्यत्र कतै पाइँदैन । जीवन एक जुवा हो र जीवनको सर्वाधिक मार्मिक रुप छल हो, जुन जुवामा श्रेष्ठतम रूपले अभिव्यक्त हुने गर्छ ।

जीवनभर हामी जे पाउने प्रयत्न गर्छौं, त्यो सोचेकै तवरले कहिल्यै पनि पाउन सक्तैनौं । तर, यस्तो लाग्ने गर्छ कि प्राप्त गर्न चाहेको चिज अब अत्यन्तै नजिक छ र निकट क्षणमै त्यसलाई प्राप्त गर्नेछौं । यही आशा र आत्मविश्वासको दियोले हामीलाई निरन्तर जुवा खेलाइरहेको हुन्छ । हाम्रो जीवन सदैव हाम्रा इच्छा, कामना, वासना आदिका विस्तारका लागि नै जुवा खेल्ने गर्छ । यी सबै चिज केवल भविष्यलाई आधार बनाएर खडा हुने गरेको हुन्छ । जबसम्म भविष्य छ, जबसम्म भविष्यको आशा छ तबसम्म जीवनमा जुवा विद्यमान छ, व्यक्तिले जीवनमा जुवा खेल्ने गर्छ । जीवन एक जुवा हो भन्ने अभिव्यक्ति सर्वाधिक मात्रामा तब हुन्छ जब जीवन पूर्ण रूपले युवावस्थामा प्रस्थान गर्छ । भविष्यको वृक्ष खडा नहुँदो हो त मानिसका इच्छा, चाहना आदिले फैलने र हुर्कने मौका नै पाउने थिएनन् । भविष्यको वृक्षमा नै मानिसका इच्छा, चाहना, कामना आदि सहजै हुर्कन र फैलन सक्तछन् । तमाम इच्छा, कामनाका जाल वर्तमानमा अडिन सक्तैनन् र भविष्यको सहारामा जीवित हुन्छन् । यही भविष्यलाई आधार मानेर कि आयो कि त गयो भन्ने आत्मविश्वास राखेर नै मानिसले जीवन रूपी जुवा खेल्ने गर्छ ।

जुवाको अर्को विशेषता हो- जुवामा कहिल्यै कसैले जित्दैन । जीतको आशा देखाएर निरन्तर हराउनु नै जुवाको छल हो । हरेक व्यक्ति जीतको आशा बोकेर नै जुवा खेल्ने गर्छ र सोच्ने गर्छ कि अब चाहिँ उसको जीत निश्चित छ । आशा निराशामा बदलिन्छ । तैपनि मानिस जुवा खेल्न डराउँदैन । एक पटक भाग्यले साथ अवश्यै दिनेछ भन्ने आत्मविश्वास राखिरहन्छ । त्यही आत्मविश्वासले उसलाई कहिलेकाहीं जीतको स्वाद पनि दिन्छ । तर, त्यही जीतको स्वाद नै अझ बढी हारको निमन्त्रणा बनिरहेको हुन्छ । जसले जित्दै जान्छ, उसले पनि भन्ने गर्छ कि अब यति जितेपछि कहिल्यै जुवा खेल्नेछैन । तर, एक पटक जीत हासिल गरेको व्यक्तिले जुवामा सर्वस्व नलुटाएसम्म उसको जुवाको यात्रामा विराम लाग्दैन । निरन्तरको जुवाको लत नै उसको जीवनमा हारको प्रमुख कारण बन्न पुग्छ ।

आधुनिक इतिहास हेर्दा सिकन्दरको नाम सबैले सुनेकै हो । सिकन्दरले आफूले मर्ने बेलामा भनेका थिए- ‘मेरो अर्थी लैजाने क्रममा मेरा दुवै हात अर्थीबाट बाहिर झुण्ड्यादिनू । दुनियाँले देखून कि सिकन्दर पनि खाली हात नै जाँदैछ ।’ यसरी सिकन्दर पनि रित्तो हात संसारबाट बिदा भए । जितेका सबै कुरा उसका हातबाट छुटे । जीवनका सारा दौडधुप बेकार गए । सिकन्दरले जीवनभर जितिरहे । तर, अन्तिममा रित्तो हात फर्किएको घटनालाई दर्शनका क्षेत्रमा निकै महत्त्वपूर्ण उदाहरणका रूपमा लिने गरिन्छ ।

जुवाको अर्को विशेषता हो- जुवामा कहिल्यै कसैले जित्दैन । जीतको आशा देखाएर निरन्तर हराउनु नै जुवाको छल हो । हरेक व्यक्ति जीतको आशा बोकेर नै जुवा खेल्ने गर्छ र सोच्ने गर्छ कि अब चाहिँ उसको जीत निश्चित छ । आशा निराशामा बदलिन्छ । तैपनि मानिस जुवा खेल्न डराउँदैन । एक पटक भाग्यले साथ अवश्यै दिनेछ भन्ने आत्मविश्वास राखिरहन्छ ।

जीवनमा जति पनि जितेका चिज हुन्छन्, ती सबै एक दिन मृत्युले हामीसँग जबरजस्ती थुतेर लैजान्छ । जीवन अनिश्चित छ र यही अनिश्चित जीवनमा विजयको आशाले हामी समयको दाउ खेलिरहेका छौं । हार त निश्चित छ । तर पनि जीतको आशा अझ पनि रोकिएको छैन । देहान्तका समयमा बुद्ध सुखी थिए । किनकि उनका हात आत्मज्ञानले भरिएको थियो । सिकन्दरको हात खाली थियो । किनभने उनी संसार जितेर पनि आफूलाई जित्न सकेनन् र जितेका सबै कुरा उनीसँग मृत्युले अपहरण गरेर लग्यो ।

यसको ठीकविपरीत दार्शनिक, ज्ञानीहरूका धन भने मृत्युले पनि छिनेर लैजान सक्तैन । ज्ञानले भरिएकाहरू सदैव प्रच्छन्न मुद्रामा रहन्छन् र ज्ञानले धपक्क बलेको यो प्रच्छन्न रूपी धन कसैले पनि डगमगाउन नसक्ने खालको हुन्छ । जीवन रुपी जुवामा ज्ञानको दाउ थापेर उनीहरू सदैव जितिरहन्छन् । हार त तिनीहरूको मात्रै हुन्छ, जोसँग ज्ञान रूपी धन छैन । केवल अहम्को तृप्तिका लागि खेलिने जुवाले जीवनमा सदैव हारमात्रै दिन्छ । अहम्लाई छाडेर निःस्वार्थ रूपले जीवनको जुवा खेल्न सकियो भने हामी सबैको हात भरी हुनेछन् र त्यो धन कसैले पनि छिनेर लैजान सक्दैन ।

जीवनमा जुवा नखेल्नू भन्ने हाम्रा तमाम धर्मशास्त्र तथा नीतिशास्त्र उपदेश गर्छन् । तर, हामी ठान्छौं कि अलिकति मौकामा अग्रसर हुन नसक्नु काँतरपन हो । खतरा नभएको, जोखिम नभएको जीवनमा हामी जिउनै सक्तैनौं । ईश्वरले मानिसलाई अमूल्य दौलतका रूपमा समय दिएको छ । प्रत्येक क्षणको पूर्ण उपयोग गर्ने कोसिसमा हामी अमूल्य क्षणरत्न दाउमा राखिरहेका छौं । अधिक सोझोपन आफैं दण्ड पाउँछ । तर, बागी बुद्धि क्षणक्षणमा जीवन खोज्ने गर्छ । विरक्तलाग्दो एकै किसिमको जीवनभन्दा चमत्कारयुक्त क्षणको मुटु समय रहँदै पक्रेर जीवनलाई अझ उन्नतशील तरिकाले जिउने कोसिस गर्छ ।

तर, धेरै दाउ मागिरहने आसक्तउपरमा खतराले गालामा झापड लगाउने गर्छ । खतराको यही झापडले नै राजा नल आफ्नी पत्नी दमयन्तीका साथमा वनबास गए । यही खतराको झापडले नै राजा युधिष्ठिर आफ्ना भाइहरूका साथमा पत्नीसमेत हारेर वनबास गए । सारा शास्त्र यही अभिप्रायका साथमा बोल्छन् कि जीवन पनि एक जुवा हो र जुवाका लागि ईश्वरले मानिसलाई अमूल्य रत्नका रूपमा समय दिएको छ । तब जुवा जहर होइन, अमृत पनि होइन । यो त एक लहडमात्रै हो । जुवा जीवनको एक तमाशा पनि हो । मान्छेको रुग्ण कलपुर्जामा हरहमेशा समाधि रहँदैन र सदैव जीत पनि हुँदैन । खित्रिक्क कुन बेला बिग्रिएर खर्लप्पै सबै स्वाहा हुन पुग्छ भन्न सकिँदैन ।

ईश्वरबाट मानिसले पाएको समय र त्यसको उपयोग गर्ने विवेकको दिव्य अभिप्रायलाई बुझेर जीवनको जुवाखालमा प्रवेश गरेर आत्मज्ञान रूपी दाउ हान्नु नै जीवनको सर्वोच्च जीत हुनसक्छ । जितियो भने सच्चिदानन्द रूप रहन पाइने र हारियो भने पनि सामान्य जीवन त यथावत नै छ । जब दुवै हातमा लड्डु हुनसक्ने अवस्था हुन्छ भने तब जुवा किन नखेल्ने ? विवेक र समझको पनि दिव्य अभिव्यक्ति हुन्छ भनेर सम्झन नसक्नेहरू नै वास्तविक रूपले सच्चा हरूवा जुवाडे हुन् । जब मानिसको जन्म र मृत्यु नै संयोगका आधारमा हुने गर्छ भने संयोगकै आधारमा खेलिने खेल जुवालाई मानव जीवनसँग तुलना गरिनु स्वाभाविक हो । अनिश्चित जीवनमा संयोग रूपी क्षणरत्नको मुटुलाई उडेर पक्रन सक्नु नै वास्तविक जीत हो ।


प्रतिक्रिया

One thought on “जुवा र जीवन

  1. हाम्रो अहंकार जितमा खुशी मान्छ । हिंसा सामाजिक रुपमा स्विकार्य नहुने भएकोले खेल प्रतियोगिताको रुपमा अप्रत्येक्ष हिंसाबाट आफ्नो अहंलाई पोषित गर्ने भएकोले हामी खेलमा रमाउछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *