नगरकोटमा ३ दिन सडक महोत्सव हुने – Nepal Press

नगरकोटमा ३ दिन सडक महोत्सव हुने

नगरकोट । भक्तपुरको पर्यटकीय गन्तव्यस्थल नगरकोटमा ३ दिन सडक महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले यही कार्तिक २३ देखि २५ गतेसम्म ३ दिन सडक महोत्सव गर्नै लागेको हो ।

नगरकोटको पर्यटन प्रवर्द्धन गरी स्थानीय रैथाने वस्तुका उत्पादनकर्ताहरुलाई लाभान्वित गर्न महोत्सव गर्न लागिएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।

महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकहरुबीच सहकार्यमार्फत नगरकोटको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरेका हौं ।’

महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा स्टल रहने उनले जानकारी दिए । महोत्सवमा स्थानीय खानाको स्वादसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने गरी सांस्कृतिक कार्यक्रम हुनेछ । त्यस्तै कृषि मेलासँगै चंगा चेट प्रतियोगिता राखिएको छ ।

नगरकोटस्थित मुख्य चोकमा आयोजना हुने महोत्सवअवधि भर यहाँका ठूला तथा साना होटलहरुले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार होटल तथा रेस्टुरेन्टहरुले खानामा पनि महोत्सव अवधिभर आआफ्नो हिसाबले छुटको व्यवस्था गर्नेछन् ।

भूकम्प र कोरोना भाइरस संक्रमणले थला परेका नगरकोटको पर्यटन व्यवसायलाई लयमा ल्याउन विभिन्न गतिविधि गर्ने क्रममा महोत्सवलाई पनि एउटा माध्यम बनाइएको समितिले जनाएको छ । पछिल्लो समय आर्थिक मन्दीले पर्यटन व्यवसाय थप प्रभावित हुन लागेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर सर्वसाधारणको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन मेला महत्वपूर्ण हुने नगरकोट नाल्दुम पर्यटन विकास समितिका पूर्वमहासचिव एवं चाँगुनारायण नगरपालिका- ६ नगरकोटका वडाध्यक्ष धनबहादुर तामाङले विश्वास व्यक्त गरे ।

उनले नगरकोटलाई पर्यटकीय हब बनाउन चाँगुनारायण नपाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको जानकारी दिए ।

समितिका अनुसार नगरकोटमा हाल ठूलासाना गरी ८२ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यहाँ १ देखि ४ स्टारसम्मको होटल सञ्चालनमा आएको छ । मिस्टिक माउन्टेन नगरकोटमा ४ स्टार पाउने एउटामात्रै होटल हो ।

त्यस्तै यहाँ दर्जनभन्दा बढी होटल निर्माणको अवस्थामा रहेको छ । चौधरी समूहले समेत नगरकोटमा होटल निर्माण गरिरहेको छ । रिसोर्टतर्फ नगरकोटमा क्लब हिमालयनलाई उत्कृष्ट मानिन्छ । तर, पछिल्लो समय काव्या रिसोर्टले पनि उत्तिकै चर्चा पाउन थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर