१५४ देश सहभागी रहेकाे चीनको आयात मेलामा नेपाली स्टल (फोटो/भिडिओ) – Nepal Press

१५४ देश सहभागी रहेकाे चीनको आयात मेलामा नेपाली स्टल (फोटो/भिडिओ)

साङ्घाई । चीनको व्यापारिक राजधानी शहर साङ्घाईमा आज ६ दिने चीन अन्तर्राष्ट्रिय आयात महोत्सव सुरु भएको छ । चिनियाँ प्रधानमन्त्री लि छियाङले उद्घाटन गरेको महोत्सवमा १५४ देशको स्टल र विश्वका प्रभावशाली कम्पनीहरुको उपस्थिति रहेको छ ।

उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री छियाङले चीनले पछिल्लो ५ वर्षमा ४७ प्रतिशत आयात बढाएको भन्दै महोत्सवबाट अफगानिस्तानदेखि जापान हुँदै अमेरिकी कम्पनीहरुले फाइदा लिएको उदाहरण दिएका थिए ।

कार्यक्रममा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानेजले पनि सम्बोधन गरेका थिए । चीनमा प्रधानमन्त्रीको रुपमा पहिलो भ्रमण भए पनि निजी रुपमा सातौं भएको भन्दै एल्बानेजले अस्ट्रेलिया व्यापारमैत्री भएको बताए ।

महोत्सव आयात-निर्यात र व्यापारको भए पनि नेपाली स्टलमा पर्यटन र हस्तकला प्रदर्शनीले प्राथमिकता दिइएको छ । इजिप्ट, कम्बोडिया, ओमान र किरिबाटीसँग नेपाली स्टल रहेको छ ।

साङ्घाई डेलीका अनुसार विश्वका प्रमुख ५०० कम्पनी अर्थात ‘फर्च्युन ५००’ मा १०० का कार्यकारी अनुहार महोत्सवमा सहभागी छन् । महोत्सवमा ३ हजार ४०० प्रदर्शनी स्टल र झण्डै चार लाख व्यवसायिक अनुहारहरुको नाम दर्ता भएको छ । ११ देशको पहिलो सहभागिता रहेको छ ।

सन् २०१७ मा बेइजिङमा आयोजना भएको प्रथम बेल्ट एण्ड रोड फोरमको पहिलो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अन्तर्राष्ट्रिय आयात महोत्सवको अवधारणा सार्वजनिक गरेका थिए । सन् २०१८ बाट नियमित अनलाइन र अफलाइन स्टल राख्नेदेखि विभिन्न विमर्शबाट महोत्सव आयोजना हुँदै आएको छ ।

यो चीनको सबैभन्दा ठूलो व्यापार महोत्सव र आयातमा आधारित विश्वको प्रथम महोत्सव भएको आयोजकको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर