वीरमा स्वास्थ्यमन्त्रीको अस्वस्थ खेल, आफ्नालाई जागिर खुवाउन ‘ब्याक डेट’ विज्ञापनको जालझेल – Nepal Press

वीरमा स्वास्थ्यमन्त्रीको अस्वस्थ खेल, आफ्नालाई जागिर खुवाउन ‘ब्याक डेट’ विज्ञापनको जालझेल

काठमाडौं । तलब खुवाउने पैसा नभएको भन्दै २ सय २१ जना स्वास्थ्यकर्मीलाई हटाएको एक महिना नपुग्दै वीर अस्पतालले छापामार शैलीमा नयाँ कर्मचारी भर्नाको प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको दबाबमा यसअघि कर्मचारी हटाएर उनकै मान्छे भर्ती गर्न छापामार शैलीमा सूचना टाँस गरी अरू व्यक्तिले आवेदन समेत दिन नपाउने गरी आज अन्तर्वार्ताको नाटक मञ्चन भइरहेको छ ।

बस्नेतको ठाडो निर्देशनमा असोज २१ गते डाक्टर,नर्सलगायत २२१ जना कर्मचारी हटाइएको थियो । स्वास्थ्य मन्त्रालयमा ८ सय जनाभन्दा बढी पुल दरबन्दी रिक्त हुँदा हुँदै मन्त्रालयबाट नियुक्त नगरी चोर बाटोबाट मन्त्री बस्नेतले आफ्ना मान्छे भर्ती गर्न अख्तियारको समेत दुरुपयोग गरेको आरोप छ ।

गत असोज २८ गते दशैं बिदाको समयमा न्याम्स वीर अस्पतालको आकस्मिक सिनेट बैठक राखेर ६३ जनाको दरबन्दी सिर्जना गरेका थिए । सोही आधारमा कात्तिक १० गतेको ब्याक डेटमा ७ दिन सूचना बनाई १७ गते शुक्रवार कार्यालय समय सकिने बेला दिउँसो ३ बजे सो सूचना नयाँ भवनको भित्तामा टाँस गरिएको थियो ।

दरखास्त बुझाउने अन्तिम समय सोही दिन राखेर सोही दिन सूचना टाँस गरी आफ्ना सेटिङका मान्छेले मात्र आवेदन दिन पाउने व्यवस्था मिलाइएको थियो । सो दिन आवेदन लिई आज अन्तर्वार्ताका लागि बिहान ९ बजे बोलाइएकोमा कर्मचारी युनियनकै नेताहरूले यो भ्रष्टाचार हो भन्दै आपत्ति जनाएका थिए ।

सूचना अनुसार मेडिकल ल्याब टेक्निसियन सातौँ–१ जना, ल्याब टेक्निसियन पाँचौँ ५ जना, इलेक्ट्रिसियन चौथो –२जना , प्लम्वर चौथो –१, लिफ्ट असिस्टेन्ट चौथो –४ जनाको विज्ञापन गरिएको छ ।

दशैंको मुखमा वर्षौँदेखि सेवा गरेका डाक्टर र नर्सहरूलाई निकालोपछि एकातिर आइसियु, इमरेन्जी, अपरेसनलगायतका सेवा प्रभावित भएका छन् भने अर्कोतिर मन्त्रीले आफ्ना मान्छे भर्ती गर्न स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारीको विज्ञापन गराएका छन् ।

उता निष्कासनमा परेका कर्मचारीले नियम विपरीत दरबन्दी सिर्जना गरी छापामार शैलीमा विज्ञापन गरेर मान्छे भर्ना गर्न लागिएको भन्दै अख्तियार,राष्ट्रिय सतर्कता केन्द्रदेखि प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका छन् ।

ओएण्डएम सर्वे समेत नगरी दरबन्दी सिर्जना गरिनु अख्तियारको दुरुपयोग हो । वीर प्रशासनले शुक्रवार दिउँसो मात्र टाँसेको सूचनाबमोजिम कति जनाले आवेदन दिए भन्ने समेत खुलाएको छैन ।

मन्त्रीको पीएमार्फत प्रतिव्यक्ति ४ लाख उठाइएको दाबी

अख्तियारलगायत निकायमा परेको उजुरीमा नियम विपरीत गरिएको विज्ञापन र गुपचुप कर्मचारी भर्तीका लागि गर्न लागिएको अन्तर्वार्ता रोकी कारबाहीको माग गरिएको छ ।

निवेदनमा भनिएको छ- स्वास्थ्य मन्त्री मोहन बस्नेत वीर अस्पतालमा आफ्नो मान्छे भर्ना गर्न असोज २१ गते कोभिडका अस्थायी दरबन्दी मा रहेका २२१ जना कर्मचारी हटाएर स्वास्थ्य मन्त्रालयमा ८३१ भन्दा बढी पुल दरबन्दी रिक्त हुँदा हुँदै मन्त्रालयबाट नियुक्ति गर्दा विरोध हुने भएकाले आफ्ना मुख्य पीए विश्वरूप खड्कामार्फत दर्जनौँ व्यक्तिसँग प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म उठाई पहिलो लटमा १३ जना पदमा किर्ते विज्ञापनको सूचना जारी भएकाले यसलाई बदर गरियोस् ।

दरखास्त बुझाउने म्याद १७ गते शुक्रवार ३ बजे सम्म राखे तर अस्पतालले भने सूचना १७ गते २ बजेतिर मात्रै नयाँ सर्जिकल भवन मा नदेखिने ठाउँमा टाँस गरेर अन्तर्वार्ताका लागि आज आइतबार ९ बजे बोलाउनुले भ्रष्टाचारको प्रमाण हुने निवेदकको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर