मुक्तिनाथमा पर्यटकको ठेलमठेल (भिडिओ) – Nepal Press

मुक्तिनाथमा पर्यटकको ठेलमठेल (भिडिओ)

पोखरा । मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ सकिएसँगै मुस्ताङका मुक्तिनाथसहित कोरला नाका, लोमान्थाङ दरबार, कागबेनी पुग्ने पर्यटकको संख्या बढेको हो ।

पछिल्ला दिनमा मुक्तिनाथ दर्शन गर्नेको संख्या बढेको मुक्तिनाथ मन्दिर विकास समितिमा अध्यक्ष जनकराज पन्तले जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका पन्तले मुस्ताङको मुक्तिनाथसहितको लोमान्थाङ, कागबेनीदेखि कोरला नाकासम्म पुग्नेको संख्या बढेको बताए ।

‘पछिल्लो केही दिन त पर्यटकको चाप एकदमै बढी थियो । आज अलि कम छ । हिजो, अस्ति त बस्ने र खाने ठाउँ पनि थिएन’, उनले भने, ‘दसैँमा बिदा हुँदा अत्यधिक आन्तरिक पर्यटकको संख्या बढेको छ ।’

मुस्ताङ भित्रिनेको संख्या पनि दैनिक ५ हजारभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

 

‘शुक्रबार र शनिबार ५ हजारभन्दा धेरै पर्यटक मुस्ताङ भित्रिनुभएको थियो । आइतबार ३ हजार प्लस पर्यटक मुस्ताङ भित्रिनुभएको छ । आज पनि आइराख्नुभएको छ’, डीएसपी पाण्डेयले भने ।

मुस्ताङ भित्रिने पर्यटकमध्ये ८० प्रतिशत नेपाली रहेको डीएसपी पाण्डेले सुनाए । उनले भने, ‘दसैँपछि मुस्ताङ भित्रिने पर्यटकको संख्या बढेको छ । पर्यटकमध्ये ८० प्रतिशत नेपाली छन् ।’

सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, स्कुल, कलेजमा दसैँ पर्वमा लामो बिदा हुँदा मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लागेको हो । सोह्र श्राद्धमा आन्तरिक पर्यटकको संख्या बढे पनि दसैँको बेला पर्यटकको चाप घटेको थियो । स्वदेशी पर्यटक बिदाको समयमा नेपालका पर्यटकीय गन्तव्य घुम्न रुचाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर