इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला – Nepal Press

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

काठमाडौं । कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन् ।

कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । फैसलाको विस्तृत पाठ आइसकेको छैन ।

आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।

कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ ।

सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ । यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ ।

यसैबीच, भारत सरकारले भारतीयहरुलाई मृत्युदण्डको फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ । यस मुद्दाको पूर्णपाठ आएपछि सरकारले थप कद चाल्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी उनीहरुको परिवारका सदस्यहरु र कानूनी टिमसँग सम्पर्कमा छौं र सबै कानूनी विकल्पहरुको खोजी गरिरहेका छौं । हामीले यो मुद्दालाई महत्वका साथ नजिकबाट निकालिरहेका थियौं । हामी सबै कानूनी सहायताहरु निरन्तर प्रदान गर्नेछौं । यो विषयमा कतारी अधिकारीहरुसँग पछि छलफल गरिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर