मन्दीका बाबजुद लगानी गर्नेहरु भन्छन्- कसैले रिस्क त लिनैपर्यो नि ! – Nepal Press

मन्दीका बाबजुद लगानी गर्नेहरु भन्छन्- कसैले रिस्क त लिनैपर्यो नि !

रुपन्देही । बजारमा आर्थिक मन्दीको कारण व्यापार व्यवसाय घटेको भन्दै व्यवसायबाट पलायन भएका समाचारहरु सार्वजनिक भइरहेका बेला रुपन्देहीमा नयाँ उद्यमीले ऊर्जाका साथ व्यवसायमा लगानी बढाएर त्यो भनाइलाई चुनौती दिइरहेका छन् ।

अघोषित रूपमा भनिएको आर्थिक मन्दीको समयमा ती व्यवसायीहरूले भने ठूलो लगानीदेखि स–सानो लगानीका उद्योग व्यवसाय स्थापना तथा बिस्तारमा लागेर नयाँ सन्देश दिएका हुन् ।

त्यसो त घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीमा अहिले पनि दर्ता भएका उद्योगहरू बन्द गर्नको लागि उद्योगीहरूले आवेदन परिरहेको भएपनि नयाँ व्यवसायीले यस्तै संकटको समयमा काम गर्नका लागि कम्मर कसेका हुन् ।

रुपन्देहीको मणिग्राममा जग्गाबाहेक करिब २ अर्ब लगानीमा एनजी मार्केट संचालनमा आयो । नारायण बन्जाडे र आवास बन्जाडे बाबुछोरा मिलेर यति ठूलो लगानीमा एकै छानामुनि सबै प्रकारका वस्तुहरु बेच्नेगरी व्यवसायिक प्रतिष्ठान संचालनमा ल्याएका हुन् । उनीहरुले औपचारिक उद्घाटन नगरेपनि बिस्तारै ठूलो क्षेत्रफलमा आफ्नो तयारी गरेर अनौपचारिक व्यवसाय सुरु गरिसकेका छन् ।

‘बजारमा आर्थिक मन्दीको बढी हल्ला भयो, हामी त्यो हल्लाका बीचमा पनि यति ठूलो लगानी गर्न तयार भयौं, बैंकले केही समय रोकेकाले ढिला भएको थियो, अब जसरी पनि यो काम अगाडि बढाउने रिस्क लिएर हिँड्यौ, यसमा हामी एकै परिवारको लगानी छ’ युवा व्यवसायी आवास बन्जाडेले भने । उनका अनुसार यो मार्केट बैशाखसम्म पूर्णरुपमा चल्नेछ र त्यो सबै संचालन हुँदा करिब ५ सयभन्दा बढीले रोजगारी पाउनेछन् ।

भैरहवामा १५ करोड लगानीमा होटल समृद्धि प्रा.लि. सञ्चालनमा आएको छ । बेलहिया नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकसँगै तेस्रो मुलुकका पर्यटकलाई समेत लक्षित गरी सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल सञ्चालनमा ल्याइएको होटल समृद्धि प्रा.लि.का प्रबन्ध निर्देशक रामबहादुर थापाले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित यो होटलमा सिल्भर, गोल्ड, डाईमण्ड र प्लाटिनम रुम गरी ३६ वटा रुम (कोठाहरु) रहेको थापाले जानकारी दिए । ‘लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर करिब १५ करोडको लगानीमा सञ्चालनमा आएको होटलमा समृद्धिमा पाहुनाहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ, स्वस्थकर खानालाई प्राथमिकतामा राखेका छौं, ’थापाले भने ।

पर्यटकको रोजाइ अनुसार नेपाली, इण्डियन, चाईनीज, कन्टिनेनटल खानाका परिकार होटलमा उपलब्ध हुने उनले जानकारी दिए । पर्यटकको लुम्बिनी बसाइ लम्बाउनका लागि होटल समृद्धिले भारतीय पर्यटकलाई लक्षित गरी भैरहवा, पोखरा मुक्तिनाथ तथा धार्मिक पर्यटकलाई बुद्धसर्किट भैरहवा, लुम्बिनी, तिलौकोट कपिलवस्तु र रामग्राम नवलपरासीसम्मको प्याकेजको व्यवस्था गर्ने उनले जानकारी दिए ।

होटलमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । थापाले भैरहवाबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरुलाई आर्थिक समस्या परेमा होटलमा खानबस्न निःशुल्क दिइने बताए । यस्तै, सबै किसिमका पाहुनालाई विमानस्थलसम्म लैजान र ल्याउन निःशुल्क सवारीको व्यवस्था मिलाइएको होटल समृद्धिले जनाएको छ ।

आर्थिक मन्दीको बेला व्यवसायिक योजनाको हिम्मत गरी व्यवसाय स्थापना गर्ने अर्को समूहको सिद्धार्थ भूमी समूह ।

नयाँ पुस्ताका पाका उद्यमी रामप्रसाद घिमिरे, ब्यवसायीहरू रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र इन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा सुरु भएको छ ।

 

 आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरूको हिम्मतले साथ दिएको उनीहरु बताउँछन् । २५ वर्षदेखि फर्निचर, प्लाई उडको क्षेत्रमा अनुभवी रहेका तीन जनाले सञ्चालनमा ल्याएको सिद्धार्थ भुमी ग्रपभित्र एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने निर्देशक रितेश सिलवाल बताउँछन् ।

१ बिघा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक शो रुम सहितको इन्टेरियर नेपालकै ठूलो भएको उनको दाबी छ । यो समूहले काठमाडौं जडीबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ गरेको छ । निकट भविष्यमा इटहरि र पोखरामा शाखा खोल्ने तयारी रहेको उनले बताए । एक सय जनालाई रोजगार दिन सफल भएको यो समूहको प्रयासलाई आर्थिक मन्दी भनेर डराएकालाई ढाडस दिएको छ ।

त्यसैगरी डेढ करोड लगानीमा बुटवलमा फ्रेन्जाइजको रूपमा गणपति मिष्ठान्नको शुभारभ गरे व्यवसायी मेघदेव पन्तले । सैनामैनामा कृषि फर्म चलाएका उनले एक दर्जन बढीलाई रोजगार दिने गरी यो फेन्चाइज शोरुम सञ्चालनमा ल्याएका छन्  ।

यस्तै बुटवलमा लामो समयदेखि सौन्दर्य सेवा व्यवसाय गर्दै आएकी व्यवसायी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याइन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

सैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनको भनाई रहेको छ ।

केही समयअघि रूपन्देहीको ४० करोड लागतमा वृज ग्लास उद्योग सञ्चालनमा आएको छ । यसमा २ सयभन्दा बढीले रोजगारी पाएका छन् । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले केही साताअघि उत्पादन सुरु गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर–४ छिपागढमा उद्योगले अत्याधुनिक मेशीन जडान गरी उत्पादन सुरु गरेको हो । यो उद्योगको अध्यक्षमा मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन् ।

केडिया अर्गनाइजेसन देशमै प्रतिष्ठित औद्योेगिक घराना हो । जसको १४ वटाभन्दा बढी ब्रान्डमा नेपाली उत्पादन भैरहेको छ । सिमेन्टदेखि बैंकसम्म, दूधदेखि ग्लास हाउससम्मको उत्पादन यो समूहले गर्दै आएको हो । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशालगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडियाले बताउँछन् ।

उनले आर्थिक मन्दीको कारण समस्या भएको बेलामा मजदुरहरूको रोजगारीका लागि पनि यस्तो प्रकृतिको उद्योग स्थापना गरिएको जानकारी दिए । कम्पनीले आवासीय, व्यवसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए ।

“आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवद्र्धन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ । केडियाले भने–‘वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ ।’

कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरी पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडियाले बताए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन् ।

यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडियाको भनाइ छ । प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरी नेपालको उन्नतिमा योगदान पु¥याउन समर्पित रहेको बताए ।

यसैगरी बुटवलमा करिब १ करोड लगानीमा केही समय अघि सुरु भएको नेपाली लुगा घर, भैरहवा क्षेत्रमा सावँरिया स्वीट्सलगायतका धेरै व्यवसायिक प्रतिष्ठानहरु संचालनमा आएका छन् । यी उदाहरण केही प्रतिनिधि पात्र मात्र हुन् । बजारमा जति धेरै निरासा आएको छ लगानीको लागि भविश्य खोजेको समूह पनि उसैगरी लागेको छ ।

आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल अब सबैतिर निरासाले मात्रै अलिहेको अवस्थाले समाधान नपाउने बताउँछन् । व्यवसायीहरूको लगानीमा सुधार हुनु नेपाली अर्थतन्त्रमा सुधारको संकेत भएको तर यसलाई मात्रै उपलब्धी मानेर सरकारी संरचना बस्दा अझै सहज नहुने उनको सुझाव छ । अर्थविश्लेषक मनिकर कार्की राज्यले स्थिर आर्थिक नीति र लगानीमैत्री वतावरण निर्माण गरी अर्थतन्त्रमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने बताउँछन् ।

लगानी गर्ने क्षेत्रको पहिचान गर्दै विस्तृत विश्लेषण, अध्ययन गरी लगानी गर्नुपर्ने उनको सुझाव छ । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले बढ्दो आर्थिक मन्दीलाई थप चलायमान बनाउनको लागि सबै क्षेत्रको समन्वय जरुरी रहेको बताए ।

व्यवसायीहरूले स–सानो रूपमा जम्मा भएको पुँजीलाई लगानी गरी सुरुवात गरिएको व्यवसायले पक्कै पनि देशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने भएपनि सरकारी निकायबाट उचित व्यवहार हुन नसकेको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर