शुभ साइतमा लगाइयो बडादशैंको टीका र जमरा (तस्बिरहरु) – Nepal Press

शुभ साइतमा लगाइयो बडादशैंको टीका र जमरा (तस्बिरहरु)

काठमाडौं । बडादसैँको शुभ साइतमा आज टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११ बजेर २ मिनेटपछिको शुभ साइतमा अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाए । आज दिनभर नै टीकाको लागि उत्तम साइत रहेको बताइएको छ ।

विजया दशमी अन्तर्गत आज मुख्य दिन बडा दसैँ हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो ।यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।

हेरौँ २०८० को दसैँ टीकाका केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर