रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं – Nepal Press

रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

रवीन्द्र जी,
जय राष्ट्र,जय जनता ।

कांग्रेसले जय नेपाल र कम्युनिष्टहरूले भन्ने लालसलामजस्तै राप्रपाको अभिवादन शैलीसहित तपाईँलाई यो छोटो खुला पत्र लेख्दैछु । हुन त तपाईँ विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश भन्नुहुन्छ ।

हुँदै नभएका नरेशलाई देशभन्दा माथि राख्ने तपाईँको अभियानप्रति मेरो टिप्पणी होइन । तर, राष्ट्र प्रमुखमाथि तपाईँले गरेका तुच्छ प्रहारप्रति यो पत्र केन्द्रित छ ।
तपाईँले सामाजिक सञ्जालमा राख्नुभएका विचार देख्दा नलेखुभन्दा पनि लेख्न बाध्य हुनुपर्‍यो । तपाईजत्तिको विद्वान पूर्वपत्रकारको यति दरिद्र विचार छ भन्ने कल्पना पनि गरेको थिइनँ ।

हो, लोकततन्त्रमा कमी कमजोरीहरु हुन्छन् । तर, यिनको समाधान पनि लोकतन्त्रभित्रै हुन्छ । कुनै वंश विशेषले शासन गर्ने र त्यसलाई देवत्व स्वीकार गरेर जनताालाई रैती र दास बनाउने तन्त्र नेपाली समाजलाई अब स्वीकार्य छैन ।

तपाईँहरूको नरेशको निरंकुशकालमा नमिता सुमिता काण्ड, मूर्ति बेच्ने जस्ता काण्डै काण्डहरूको चाङ थुप्रिएको होइन ? त्यस्तै बोल्न नपाउने प्रणालीको पक्षमा नेपाली जनता छन भन्ने तपाईँलाइ लागेको छ भने तपाईँ दिउँसै सपना देख्दै हुनुहुन्छ ।

गाँजा, चरेस, अफिम खाएर दिउसैँ मान्छे किच्ने अपराधीलाई मुलुकको शासक बनाउने र त्यसको पक्षपातिको वकालत गर्ने तपाईँको चाहनाप्रति घृणा होइन दया जागेको छ । व्यक्ति को हुन् मलाई मतलव छैन तर जनताले चुनेर पठाएको प्रतिनिधि आज मुलुकको राष्ट्र प्रमुख छन । जसको गरिमा, सम्मान र प्रतिष्ठा जति बढ्यो त्यति नै नागरिकको प्रतिष्ठा बढ्छ । उनले कुनै गल्ती गरे भने त्यो सच्याउने पनि यही लोकतन्त्रभित्रै जनतालाई अधिकार छ ।

राष्ट्रपतिले गल्ती गरे भने राम्रोको लागि आवाज मुखरित हुनु स्वाभाविक हो, तर जनताको शासनप्रति विद्वेष फैलाउने तपाईँहरूको व्यवस्थाविरोधी नियत भने स्वीकार्य छैन । हिजो मण्डलेतन्त्रमा बोल्दा गोली खानुपर्ने नेपाली जनता तपाईँका दरिद्र विचारबाट प्रभावित होलान भन्ने मलाई लाग्दैन ।

तपाईँले आज जसरी जनताको छोरो राष्ट्रप्रमुख बन्ने प्रणालीविरुद्ध विष वमन गर्दै हुनुहुन्छ त्यसै गरी मैले तपाईँहरूले कल्पना गरेको वंशीय शासक बन्ने प्रणालीको विरोध गरेँ भने मेरो हालत के होला ? तपाईँ भन्न सक्नुहुन्छ- मेरो छातीमा गोली हानिदैनथ्यो ?

तपाईँ बीबीसीमाा काम गर्दा मेरो आदर्श हुनुहुन्थ्यो, मेरो त्यो आदर्श कायमै गर्ने हो भने आज विजयादशमीको टीकामा शीतल निवास गेटमा भेटौं । रामचन्द्र पौडेलबाट होइन देशको अभिभावकबाट टीका र आशीर्वाद लिन आउनुस् ।

तपाईँले जसरी राष्ट्र प्रमुखको हातको टीका बहिष्कार गर्न आह्वान गरिरहनुभएको छ, यो आह्वान दसैँ बहिष्कार गरौं भन्ने आङकाजी शेर्पा शैलीको अर्को अतिवाद हो । आफूलाई सच्याउनुस्, त्यो अपील फिर्ता गरेर आज शीतल निवास आउनुस् ।

(लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन्)


प्रतिक्रिया

4 thoughts on “रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

  1. आफ्नो घर आगन र करेसामा भेटाैं किन अरूको निवास तर्फ, अहिलेसम्म सोच किन आएन् है !

  2. कैद मिनाहा भएका हत्याराबाट नजराना बुझेकाले मात्र हो रामचन्द्र पौडेलको बचाउ गर्ने । काग्रेसीले त नुनको सोझो गर्ने नै भए । अनि सरकार यस्तै पृष्ठभूमिबाट आएकाहरूको भएपछि अरू के कामको आस गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *