‘पशुपतिप्रसाद’ ले कमाएको साख भष्मे डनमा भष्म – Nepal Press
फिल्म समीक्षा

‘पशुपतिप्रसाद’ ले कमाएको साख भष्मे डनमा भष्म

‘पशुपतिप्रसाद-२ भष्मे डन’ को प्रमोसनताका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले भनेका थिए, ‘सिक्वेल एउटा चरणमा गएर सकिन्छ । हलिउड सिक्वेल कस्तो मजाले बुन्दै गएको देखिन्छ र कति नम्बरसम्म यसको सिरिज जान्छ । हामी पनि यसको युनिभर्स बनाएर लैजाऔं भन्ने छ । निर्माताको रूपमा मेरो यो पछिल्लो समयको सोच हो ।’

तर, लामिछानेले भनेजस्तो ‘पशुपतिप्रसाद’ को दोस्रो सिक्वेल मजाले बुनेर दर्शकलाई मोहित बनाउन भने फिल्म निर्माण टीम चुकेको छ । यसले अर्को सिक्वेल बन्ला कि नबन्ला ? संशय पैदा गरेको छ ।

‘पशुपतिप्रसाद’ ले ब्रान्डिङ गरेको ‘भष्मे डन’ दोस्रो सिक्वेलसम्म आइपुग्दा पात्रबाट रूपान्तरण भएको छ । युनिभर्स बनाएर लैजाँदा फिल्मको आफ्नै खाले सीमा र फैलावटहरू हुन्छन् । अघिल्लोभन्दा राम्रो फिल्म दर्शकलाई पस्कनुपर्ने चुनौति पनि हुन्छ । तर, ‘पशुपतिप्रसाद’ को तुलनामा दोस्रो सिक्वेल फितलो सावित भएको छ ।

विपीन कार्कीले भष्मे डनको रूपमा मिहेनत गरेका छन् । स्वस्तिमाले पनि गेटअपमा मिहेनत गरेकी छन् । सौगातको पनि मधेशी पात्रको गेटअपमा मिहेनत छ । तर, डाइलग डेलिभरीले गैरमधेशी हो भन्ने देखाउँछ ।

‘पशुपतिप्रसाद’ मा ५० हजार ऋण तिर्न पशुपतिघाट आइपुगेको पशुपतिप्रसाद र भष्मे डनबीचको सघन द्वन्द्वले दर्शकलाई खिचेको थियो । तर, दोस्रो सिक्वेल भने भष्मे डनको भासिएको स्वरमा मात्रै केन्द्रित हुँदा फिल्म समस्याग्रस्त बनेको छ ।

हो, भष्मे डन लोकप्रिय पात्र हो । कुनै पनि लोकप्रिय पात्रलाई फिल्ममा निरन्तरता दिँदा त्यसले व्यापारलाई सहयोग गर्छ नै । तर, चुनौतीहरू पनि थपिएर आउँछन् । उक्त पात्रमार्फत् दर्शकलाई पुनः नयाँ स्वाद दिन सक्नुपर्छ । नयाँ रोमाञ्चकता सृजना गर्न सक्नुपर्छ । रोमाञ्चकता विनाको पात्रको ओज हराउन थाल्छ ।

दोस्रो सिक्वेल भष्मे डनले झेल्ने समस्या र तनावहरूमा केन्द्रित छ । नयाँ पात्र थपिएका छन् । मुख्यरूपमा कालिप्रसादको भूमिकामा सौगात मल्ल, दुर्गा माताको रूमा स्वस्तिमा खड्का । बाँकी पुरानै पात्रहरूको निरन्तरता छ । र फिल्मको संरचना, रचना ‘पशुपतिप्रसाद’ कै निरन्तरता छ । ‘पशुपतिप्रसाद’को समापन र सुरूवात जे छ, त्यसबाट दोस्रो सिक्वेल बाहिर निस्कन सकेको छैन । जस्तो ‘कबड्डी’ सिरिज छ । ‘कबड्डी’ सिरिजमा चारवटा फिल्म आए । तर, संरचनाको हिसाबले चारमध्ये एउटा फिल्म हेरे पुग्छ । ‘भष्मे डन’ त्यही पथमा अग्रसर देखिन्छ ।

भष्मे डनले सुनको दाँत बनाएका छन् । कोरोनाकालमा लासहरू धेरै जलाइँदा फालिएका सुन जम्मा गरेर दाँतमा भरिएको छ । पशुपतिप्रसादको मितबासँग भष्मे नजिकिएका छन् । मितबालाई भष्मेले बा भनेर बोलाउँछ । डान्सबारमा काम गर्ने युवती दुर्गामाताको अवतारमा पुशुपतिमा आइपुगेकी छन् । अस्पतालबाट छोरीको लास उठाउने पैसा कमाउन पशुपति आइपुगेका छन् कालिप्रसाद । अनि यिनै पत्रहरूबीचको द्वन्द्व, प्रेम, घृणा, धोका र अन्तरसम्बन्धको कथामा बुनिएको छ ‘पशुपतिप्रसाद-२ भष्मे डन’ ।

विपीन कार्कीले भष्मे डनको रूपमा मिहेनत गरेका छन् । स्वस्तिमाले पनि गेटअपमा मिहेनत गरेकी छन् । सौगातको पनि मधेशी पात्रको गेटअपमा मिहेनत छ । तर, डाइलग डेलिभरीले गैरमधेशी हो भन्ने देखाउँछ ।

पशुपतिनाथ परिसरमै खिचिएको फिल्मको पहिलो मध्यान्तरले दर्शकलाई खिच्न सफल छ । पात्रहरूबीचको द्वन्द्व र संघर्षले फिल्मलाई सघन बनाएको छ । पहिलो मध्यान्तरसम्म दर्शकले बोर नमानी फिल्म हेर्न सक्छन् । पहिलो मध्यान्तरको अन्त्यमा भष्मे डनलाई बोरामा खाँदेर फोहोरको डंगुरमा फालिन्छ, तब दोस्रो भागलाई लिएर दर्शक व्यग्र प्रतीक्षामा जान्छन् ।

पहिलो मध्यन्तरसम्म पात्रहरू बीचको अन्तरसम्बन्धलाई पनि राम्रोसँग केलाइएको छ । एक-एक पात्रहरू किन जोडिए, त्यसको जवाफ दिँदै फिल्म अगाडि बढेको छ । यसले गर्दा दोस्रो मध्यन्तरको प्रतीक्षा पनि गराउँछ । दोस्रो मध्यन्तरको सुरूवात फोहोरको डंगुरबाट हुन्छ । बोरामा खाँदिएका भष्मे, पशुपतिमा चुम्बक हानेकाले भष्मेले नै लखेटेका अर्का पात्र र ‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा भएका बैकुण्ठ (रवीन्द्रसिंह बानियाँ) को भेट डम्पिङ साइटमा हुन्छ । पहिलो मध्यान्तरपछि ठूलो अपेक्षासहित फिल्म हेर्न आतुर दर्शक यहीँबाट निराश हुँदै जान्छन् ।

पात्रहरूको द्वन्द्व फितलो हुँदै जान्छ । मितबाको भूमिका किन दोहोरो भयो ? फिल्मले जवाफ दिएको छैन । बाउआमाको नाम नै थाहा पाउनका लागि त्यत्रो १० लाख बुझाउनु पर्ने भष्मेको के बाध्यता हो ? स्पष्ट छैन । दुर्गामाता बन्नुको कथा अपर्याप्त छ । त्यतिले मात्रै ऊ दुर्गामाता बनेर पशुपतिमा पहिचान लुकाएर हिँड्नुको तुक देखिँदैन । अझै कुनै बलियो तर्क भइदिए दुर्गामाता हनुमान जस्तै स्थापित हुन सक्थिन् । कम्तीमा फिल्मले यी कुराहरूमा पनि काम गरेको भए दर्शक निराश हुनुपर्ने थिएन ।

पशुपतिनाथ परिसरमै खिचिएको फिल्मको पहिलो मध्यान्तरले दर्शकलाई खिच्न सफल छ । पात्रहरूबीचको द्वन्द्व र संघर्षले फिल्मलाई सघन बनाएको छ । पहिलो मध्यान्तरसम्म दर्शकले बोर नमानी फिल्म हेर्न सक्छन् ।

तर, निर्माता तथा लेखक लामिछानेले भनेजस्तो युनिभर्स शैलीमा जाने ध्याउन्नमा फिल्मले मसिना कुराहरू धेरै छुटाएको छ । अर्को सिक्वेल भष्मे डन या कालीप्रसादको यात्रा र संघर्षमा केन्द्रित हुन सक्ला ।

सिलाजित बेच्ने व्यक्ति छोराको खोजीमा छ । कर्णालीतिरबाट आएका ती सिलाजित व्यापारी र मुगुबाट आएको भष्मेबीच केही न केही सम्बन्ध हो कि भन्ने त छ । कतै बाउछोरा नै हुन् कि भन्ने संकेत भष्मेले व्यापारीलाई रगत दिएपछि पनि गरिएको छ । तर, स्पष्टरूपमा खुलाइएको छैन । यी मसिना कुराहरू अर्को सिक्वेलको लागि नराखेर यही सिक्वेलमा खुलाउनुपथ्र्यो । सिरिज र फिल्म यही कारण त फरक हुन् नि ! हलिउडले युनिभर्स शैलीमा दर्जनौं फिल्म बनाए पनि हरेक फिल्म आफैंमा पूर्ण कथाले बनेका हुन्छन् ।

भष्मे डन र दुर्गामाताबीचको सम्बन्धलाई निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद र नबोल्ने युवतीबीचको सम्बन्धलाई जसरी नै दोहोर्‍याएका छन् । भष्मे बाहिर र दुर्गामाता कोठाभित्र रहेर गरिएको संवाद बडो बिम्बात्मक छ । ‘मलाई माता होइन, मैना भन्नु !’ भष्मे र दुर्गामाताबीचको प्रेमलाई यही संवादले स्पष्ट पारेको छ । जतिबेला भष्मे बाहिर हुन्छन् । दुर्गामाता भित्र हुन्छिन् । यो दृश्य फिल्मभरिकै सुन्दरमध्ये एक हो ।

निर्देशक खनालले यस फिल्ममा पनि अस्पताल जोडेका छन् । अस्पतालको वेतिथिलाई खोतल्न खोजेका छन् । खनालका पछिल्ला फिल्महरूमा कि त अस्पताल आएका छन् कि त लास आएका छन् । यो उनको सिग्नेचर हो या संयोगले आएका हुन्, खनाल नै जानुन् ।

समग्रमा ‘पशुपतिप्रसाद-२ भष्मे डन’ व्यवसायिक हिसाबले बनाइएको फिल्म हो । तर, यसको व्यापार भने ‘पशुपतिप्रसाद’को साखले टिकेको छ । यसको अर्को सिक्वेल आयो भने त्यसको व्यापार भने ‘पशुपतिप्रसाद २ भष्मे डन’को साखले हुनेवाला छैन । ‘पशुपतिप्रसाद’ ले कमाएको दर्शकको माया यही सिक्वेलमा आएर विसर्जन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *