उमेर कीर्ते गर्ने जर्नेलको बचाउमा जंगी अड्डाको विज्ञप्ति, पदोन्नति रोक्न उजुरीकर्ता अदालत जाने – Nepal Press

उमेर कीर्ते गर्ने जर्नेलको बचाउमा जंगी अड्डाको विज्ञप्ति, पदोन्नति रोक्न उजुरीकर्ता अदालत जाने

काठमाडौं । नेपाली सेनाले उमेर घटाएर बनाएको नागरिकताका आधारमा जागिर खाई प्रधान सेनापति बन्ने लाइनमा उभिन लागेका उपरथी ताराध्वज पाण्डेको बचाउमा विज्ञप्ति निकालेको छ ।

पाण्डेले उमेर कीर्ते गरेको प्रमाणसहित नेपाल प्रेसमा समाचार आएपछि त्यसको छानबिन गर्नुको साटो सैनिक मुख्यालयबाट पाण्डेको बचाउमा विज्ञप्ति आएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले रथी दर्जामा पदोन्नति प्रक्रियाबारे भ्रमपूर्ण सामग्री प्रसारण भएको भन्दै त्यस्ता समाचारलाई खेदजनक भनेको छ । वक्तव्यमा पाण्डेको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेको दाबी गरेको छ ।

जबकी यस्तै विवादमा यसअघि धेरै उपरथी शैक्षिक प्रमाणपत्रको उमेरका आधारमा अवकाश भएका थिए । सेनाले संस्थाको विधिसम्म प्रक्रियालाई विवादित तुल्याउने आशयले भएका टिकाटिप्पणीमा सत्यता नरहेको दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् : ‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी 

सेनापति प्रभुराम शर्मा राजनीतिक दबाबमा परेको भन्नेमा पनि सत्यता नरहेको वक्तव्यमा उल्लेख छ । रथी बढुवामा सिफारिस भएका ताराध्वज पाण्डेको उमेर कीर्ते सम्बन्धी उजुरीमा परिचय लुकाइएको भन्दै सेनाले आपत्ति जनाएको हो ।

उजुरीको छानबिन नगरी उल्टै उजुरीकर्ताको परिचय लुकाइएको भनेर पाण्डेको पक्षमा मुख्यालय नै खडा भएपछि यो प्रकरण अब अदालत र संसदीय समितिमा जाने भएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले रथी बढुवाको सन्दर्भमा आएका विवादबारे आफू जानकार रहे पनि समितिमा औपचारिकरूपमा उजुरी आएकोबारे बिदा भएकाले थाहा नभएको बताए ।

उमेर ढाँटेर जागिर खाएका पाण्डेको पदोन्नति सिफारिस रोक्न माग गर्दै अदालत खुल्नासाथ रिट दायर हुने भएको छ ।


प्रतिक्रिया

One thought on “उमेर कीर्ते गर्ने जर्नेलको बचाउमा जंगी अड्डाको विज्ञप्ति, पदोन्नति रोक्न उजुरीकर्ता अदालत जाने

  1. कांग्रेस माओवादीहरू अपराधी प्रबृत्ति परिचालित हुन कि के हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *