‘प्रेमको मन्दिर’ बुढासुब्बामा दर्शनार्थीको भिड (तस्बिरहरू) – Nepal Press

‘प्रेमको मन्दिर’ बुढासुब्बामा दर्शनार्थीको भिड (तस्बिरहरू)

धरान । नवरात्र सुरू भएसँगै देशभरका शक्तिपीठमा जस्तै धरान विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पनि भिड लागेको छ । पूर्वी पहाडलगायत विभिन्न ठाउँबाट दर्शन गर्न आउनेहरूको भिडले बिहानैदेखि मन्दिर परिसर खचाखच हुन्छ ।

आज अष्टमीका दिन पनि बिहानैबाट मन्दिरमा बाक्लो चहलपहल थियो । यो मन्दिर धार्मिकसँगै युवा पुस्ताका लागि माया साटासाट गर्ने थलोको रूपमा पनि प्रचलित छ । मन्दिरलाई लिएर विभिन्न मिथक जोडिएका छन् ।

एक मिथकले युगौं अगाडि बुढासुब्बा क्षेत्रमा बुढा सुब्बा र उनकी सुब्बिनी बहिनी बस्ने गरेको भन्छ । एक दिन काग आएर बाँसमा बस्दा गुलेलीले हान्दा काग भागेको तर बाँसको टुप्पो छिनेको बताइन्छ । त्यही गुलेलीले लागेर छिनेकाले बुढासुब्बाको बाँसमा टुप्पो नहुने मिथक प्रचलित छ । उनै बुढासुब्बाले पछि ध्यान गर्न थालेर उनको समाथि स्थल नै मन्दिर बनेको हो ।

अर्को, लिम्बूवानका राजा बुद्धिकण रायलाई गोर्खाली फौजले मारेपछि उनको चिहानस्थललाई श्रद्धाले मन्दिर बनाइएको भन्ने गरिन्छ ।

यस्तै एक अर्को महाभारतकालीन मिथक छ । यो मिथक धरानका पर्यटन उद्यमी वासुदेव बरालले धेरै ठाउँमा लेखेका र भनेका छन् । त्यो मिथकअनुसार महाभारतको युद्धबाट जो हारे/जिते पनि आफ्नै वंश भएकाले युद्धबाट भागेर तपस्या गर्न आएका एकलव्यको समाधिस्थल नै बुढासुब्बा हो ।

बुढासुब्बा मन्दिरमा बलि पनि दिइन्छ । कुखुरा र सुँगुर बुढासुब्बाको बलिमा धेरै प्रयोग हुन्छन् । सत्ता संघर्ष, ध्यान, युद्ध, महाभारत, बलि आदि जोडिएको बुढासुब्बाका पुजारी मगर समुदायका छन् । डम्बरबहादुर आलेमगरका सन्ततिहरूले पालैपालो समय मिलाएर पुजारीको रुपमा काम गर्ने गरेका छन् । पुजारीहरु पनि मन्दिरको कथनमा प्रेमको इतिहास नभए पनि पछि प्रेम जोडिएको सुनाउँछन् ।

प्रेम प्रसंग धेरैपछि जोडिए पनि बुढासुब्बाको प्रेम प्रसंग सबैभन्दा धेरै लोकप्रिय छ । यही सवालमा धरान घर भएका नेपालका चर्चित पप गायक सविन राईले चर्चित गीत गाएका छन् । धरानकै गोपाल देवानले लेखेको गीतको एक ठाउँमा बुढासुब्बाको प्रसंग यसरी आउँछः

आजै गई बुढासुब्बा लेखौं नाम बाँसैमा
कत्ति बस्नु म तिमी आउने आशैमा

अहिले यो गीतमा भनिए जस्तै बाँसमा नाम लेख्न निषेध गरिएको छ । त्यसको विकल्पमा जोडी धागो बाँध्ने प्रचलन आएको छ । बाँसमा नाम लेख्ने चलन प्रेमीप्रेमिकाहरु आफैंले चलाएका हुन् । बाँसमा धागो बाँध्ने प्रचलन भने मन्दिर व्यवस्थापन समितिले चलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर