मिष्ठान व्यवसायीकाे अध्यक्षकै पसलमा खान नमिल्ने वस्तु बेचबिखन – Nepal Press

मिष्ठान व्यवसायीकाे अध्यक्षकै पसलमा खान नमिल्ने वस्तु बेचबिखन

रूपन्देही । बुटवलमा मिष्ठान्न व्यवसायी संघकै अध्यक्षले संचालन गरेको पसलमा खान नमिल्दो वस्तुको बेचबिखन गरेको पाइएपछि उपमहानगरपालिकाबाट खटिएको अनुगमन समितिले फेला परेको छ ।

गोलपार्कमा रहेको  संघका  अध्यक्ष  लक्ष्मण पोखरेलकाे सिद्धबाबा मिष्ठान भण्डारमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल र उपभोग मिति सकिएको पेय पदार्थ भेटिएको हो । यो पसलमा समितिले यस्तो समस्या भेटाएको पहिलो पटक भने होइन ।

नाम चलेका अधिकांश मिठाई पसल (मिष्ठान्न भण्डार) हरुले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने खान अयोग्य भइसकेका वस्तु प्रयोग गरेर विभिन्न परिकार बनाउने गरेको गुनासो पाइएपछि उपमहानगरले अनुगमन गर्दा यस्तो भेटिएको हो ।

बुटवल उपमहानगरपालिकाले गरेको मिठाई पसलको अनुगमनका क्रममा नाम चलेको र चेन बिजनेस गरिरहेको गणपति मिष्ठान भण्डार,सिद्धबाबा मिष्ठान भण्डारसहितका मिठाई पसलहरुले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको हो ।

सिद्धबाबा मिष्ठान भण्डारको शाखा गोलपार्कमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल र उपभोग मिति सकिएको पेय पदार्थ भेटिएको हो । चाडपर्वको बेलामा बढी विक्री वितरण हुने मिठाईसहितका परिकार तयार गर्ने क्रममा अधिकांश मिष्ठान भण्डारमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल प्रयोग गरेको पाइएको हो ।

कराईमा तारेको तेललाई पटक पटक प्रयोग गरेर अखाद्य अवस्थामा पुग्दा पनि प्रयोग गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बुटवल ट्राफिकचोकको गणपति मिष्ठान भण्डारमा फ्रिजमा राखिएको खाद्य सामग्रीमा ढुसी लागेको र खान नमिल्ने अवस्थामा पुगेको तेल प्रयोग गरेको भेटिएको हो ।

तारेको तेलमा टिपिएम मापन गर्दा ५० भेटिएको खाद्य गुण तथा नियन्त्रण कार्यालय भैरहवाका प्रविधिक निरीक्षक दिपक कुमार यादबले जानकारी दिए । यस्तो तेलमा २५ भन्दा कम टिपिएम हुनुपर्नेमा ५० टिपिएम भेटिएको हो ।यसरी तारेको तेलमा खानेकुरा पकाए खाए क्यान्सर रोगको जोखिम हुने गरेको खाद्य निरीक्षक यादबले बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा उपभोक्ता हित संरक्षण मंच बुटवलका अध्यक्ष समुन्द्र जिसी सहितको टोलीले गरेको अनुगमनमा बुटवल १७ मोतिपुरमा रहेको दुर्गा मिष्ठान भण्डारमा ढुसी लागेको १० किलो पेडा फेला पारेको छ ।

फ्रिज भित्र राखिएको १० केजी पेडामा ढुसी लागेको फेला पारेपछि अनुगमन टोलीले तत्काल नष्ट गरेको छ । खाद्य पदार्थको भण्डारण , भान्सा , फ्रिजको सरसफाईको मापदण्डको पालना गरेर मात्र मिठाई र अन्य खानेकुरा तयार गर्न बजार अनुगमन समितिको संयोजक उपप्रमुख सावित्रादेवी अर्यालले निर्देशन दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर