मधेशमा समसाँझै सुरु हुन्छ झिझिया नृत्य, उर्लिन्छन् सर्वसाधारण (भिडिओ) – Nepal Press

मधेशमा समसाँझै सुरु हुन्छ झिझिया नृत्य, उर्लिन्छन् सर्वसाधारण (भिडिओ)

जनकपुरधाम । दसैँ हिन्दूको मुख्य चाड हो । दसैँ सुरु भएसँगै मधेशका गाउँघरमा जताततै झिझिया गीत गुञ्जिरहेको छ । जनकपुरमा झिझियाको विशेष रौनक छ । साँझ पर्नेबित्तिकै दुर्गा शक्तिपीठहरुमा झिझिया नृत्य गर्ने महिला र मनोरञ्जन लिन सर्वसाधारणको भीड लाग्छ ।

दसैँभर प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्छन् । जनकपुरमा मात्र होइन्, तराई-मधेशका हरेक गाउँको दुर्गा मन्दिरमा झिझियाको रौनक देख्न सकिन्छ । झिझियाको आफ्नै प्रकारको गीत र लय छ । झिझिया गीतहरूले गाउँ र शहर गुञ्जायमान बनेको छ ।

अनगिन्ती प्वाल पारेर तयार गरिने घैंटोलाई स्थानीय भाषामा ‘झिझिया’ भनिन्छ । त्यो घैंटोमा दियो बालेर टाउकोमा राखी महिलाहरुले गर्ने नाच नै ‘झिझिया नृत्य’ हो । झिझिया टाउकोमा राखेर नृत्य गर्नुपूर्व धामी ओझाबाट मन्त्रद्वारा सिद्ध गरिन्छ । त्यसपछि मात्र महिलाहरु झिझिया नृत्यका लागि घरबाट निस्किन्छन् र दुर्गा मन्दिर पुगेर लोकभाकामा गीत गाउँदै ताली पिट्दै नृत्य गर्छन् ।

नृत्यमा सहभागी महिलाले घैंटोमाथि बलिरहेको दियो स्थिर राख्दैनन् । जहिल्यै हल्लाइ रहन्छन् । नृत्य गरिरहेको बेला घैंटोको प्वाल धामी वा बोक्सीले गन्न सफल भयो भने नाच्ने महिलाको मृत्यु हुने गर्छ भन्ने मान्यता पनि छ । झिझिया नृत्य अदभूत कला हो । यसका लागि निकै मेहनत र पहिलेदेखि अभ्यास गर्नुपर्ने हुन्छ ।

झिझिया गीत देवी दुर्गाको प्रशंसा र बोक्सी तथा कालो जादुविरुद्ध सुरक्षाको लागि गाइन्छ । झिझिया खेल्ने महिलाहरु बोक्सी (डाइन)लाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गर्ने गरिन्छ ।
जस्तैः

गीत १

चल चल गे डेनिया कदमतर
तोरा बेटाके खेबौ कदमतर

गीत २

कोठाके उपर डैनिया, खिडकी लगैले ना
खिडकी ओत्ते डैनिया, गुनावा चलैलो ना
आगे किछु होएतौ डैनिया, गदहा पर चढैवो
गदहा चढाए डैनिया नमुहाँ हसैबौ ना

पहिलो गीतमा भनिएको छऔ तिमी हिँड कदम रुखमुनि । तिम्रो छोरालाई पनि त्यही खाइदिन्छु (मारिदिन्छु) । बोक्सी बन्न तन्त्रमन्त्र सिक्ने उपयुक्त समय दसैँको बेला मानिन्छ । र, तन्त्रमन्त्र सिक्न रातिको समयमा सबै सुतिसकेपछि बोक्सी बन्न चाहनेहरु बाहिर आउँछन् । त्यसैले तन्त्रमन्त्र सिक्न नदिन धम्कीस्वरुप यो गीत गाएको देखिन्छ ।

दोस्रो गीतमा पनि बोक्सीलाई धम्काइएको छ । यस गीतले भन्छऔ ‘यदि बोक्सीले झ्याल पछाडिबाट टुनामुना गरी जादु चलायो भने उसलाई गधामाथि चढाएर गाउँमा घुमाउने र नाम बदनाम गराउने’ हो ।

दसैँभरि झिझिया नाच्दा गाउँघरमा बोक्सीबाट जोगिने र भूतप्रेत भाग्छ भन्ने विश्वास छ । जनकपुरकी ६० वर्षीया देवझरी सदा भन्छिन्, ‘झिझिया खेल्दा बालबच्चाको सुरक्षा हुन्छ । महारानीजीको आशीर्वाद लाग्छ । बोक्सी र धामीले परिवारका कसैको केही बिगार्न सक्दैनन् ।’

झिझिया गीत र यसको नृत्य मनोरञ्जनात्मक रूपमा सामाजिक कुप्रथामाथिको व्यंग्यात्मक प्रहार गर्ने शैली रहेको संस्कृतिविद्हरु बताउँछन् । तर, पहिले गाइने झिझिया गीत पछिल्लो समय लोप हुन लागेको छ । अब झिझिया नृत्य गर्नेहरु आफैंले गीत गाउँदैनन्, डिजेबाजाको चर्को साउण्डमा नृत्य गर्छन् ।‌ हुन त डिजेबाजाको गीतमा पनि बोक्सीको प्रकोपबाट मुक्ति पाउने भाव नै छ ।

शिक्षक ज्ञानेन्द्र ठाकुर भन्छन्, ‘माओवादी द्वन्द्वकालमा डरत्रासले झिझिया नृत्य बन्द भयो । झिझिया लोप हुने चिन्ता थियो । तर, लोप भएन, शैली भने बदलियो । पहिले महिलाको सुरिलो स्वरमा झिझिया गीत गुञ्जिन्थ्यो । अहिले डिजेको चर्को स्वरमा गुञ्जिन्छ ।’

उनले झिझियाको लोकगीतको संरक्षण जरुरी भएको बताए । ‘बोक्सीलाई महिलाहरुले झिझियामार्फत् अन्त्य गर्न खोजेको मलाई लाग्छ’, उनले भने, ‘मधेश र भारतका केही क्षेत्रबाहेक संसारमा यो कतै देख्न पाइँदैन । त्यसैले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर