मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो, मरमसलामा सबैभन्दा बढी – Nepal Press

मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो, मरमसलामा सबैभन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६, तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलब ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने १३ दशमलव ०८ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५, विविध वस्तु तथा सेवाहरु १२ दशमलव २१ प्रतिशत, शिक्षा क्षेत्रमा नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुमा आठ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा छ दशमलव ५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

यो अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति नौ दशमलव ८३ प्रतिशत, तराईको सात दशमलव ०३ प्रतिशत, पहाडको आठ दशमलव ०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर