इजरायल र प्यालेस्टाइनको संघर्ष कथा- ७५ वर्षमा के के भयो ? (टाइमलाइन) – Nepal Press

इजरायल र प्यालेस्टाइनको संघर्ष कथा- ७५ वर्षमा के के भयो ? (टाइमलाइन)

काठमाडौं । प्यालेस्टाइनी सशस्त्र समूह ‘हमास’ द्वारा अचानक शनिबार इजरायलमा भएको आक्रमणले विश्वभरका मानिसहरुलाई स्तब्ध पारेको छ । इजरायल र हमासको घातक द्वन्द्वमा हजारौं जनाले ज्यान गुमाइसकेका छन् । इजरायलीमात्र नभई नेपाललगायत विभिन्न देशका नागरिकहरु पनि मारिएका छन् ।

हमास र इजरायलको द्वन्द्व भर्खरै सुरु भएको भने होइन । यसको समयरेखा लामो छ । हामीले हमास के हो, हमासको उद्देश्य के हो, हमासलाई कसले सघाइरहेका छन् आदि विभिन्न तथ्यहरुबारे पहिल्यै चर्चा गरिसकेका छौं ।

याे पनि पढ्नुस् : इजरायललाई हमासले दिएको धमासको अन्तर्य (१० प्रश्नोत्तरमा)

यहाँ प्यालेस्टाइन र इजरायलबीचको दशकौं लामो टकरावलाई उधिन्ने प्रयास गरिएको छ । आखिर के हो यी दुई देशको पृष्ठभूमि ? कसरी आजको अवस्थासम्म आइपुग्यो ? आउनुस्, बुँदागत रुपमा चर्चा गरौंः

पश्चिमी किनारा र गाजा, जुन प्यालेस्टिनी क्षेत्रका रूपमा परिचित छन्, साथसाथै पूर्वी जेरुसेलम र इजरायलका सबै भूमिहरूलाई रोमनको समयदेखि प्यालेस्टाइन भन्ने गरिन्थ्यो । यी भूमिहरू बाइबलमा यहुदी राज्यका रूपमा उल्लेखित छ र यहुदीहरूले यसलाई आफूहरूको प्राचीन मातृभूमि मान्ने गर्छन् ।

सन् १९४८ मा इजरायल अलग राज्यका रूपमा घोषणा भयो । तर, यसलाई मान्यता नदिएका समूहहरूले इजरायललाई अझै पनि प्यालेस्टाइनको भूमि मान्ने गर्छन् । प्यालेस्टाइनीहरूले पश्चिमी किनारा, गाजा र पूर्वी जेरुसेलमलाई संयुक्त रूपमा प्यालेस्टाइन भन्दै आएका छन् । इजरायल अलग राज्यका रूपमा घोषणा भएबाटै द्वन्द्वको सिलसिला जारी छ ।

सन् १९४९ मा नवनिर्मित इजरायल राज्यले अरब देशहरूसँग युद्धविरामको एक श्रृंखलामा हस्ताक्षर ग¥यो । सो सम्झौतामा गाजापट्टी इजिप्टको नियन्त्रणमा रहने उल्लेख थियो ।

सन् १९५६ अक्टोबरमा इजिप्टका राष्ट्रपतिले स्विज क्यानल (इजिप्टमा अवस्थित कृत्रिम समुद्री सतह जलमार्ग) लाई राष्ट्रियकरण गरे । राष्ट्रियकरण गरेको केही महिनापछि इजरायललाई ढुवानीमा रोक लगाइयो । रोक लागेपछि इजरायलले ‘सिनाई प्रायद्वीप’ र ‘गाजा पट्टी’मा आक्रमण गर्‍यो । त्यसै वर्ष नोभेम्बरमा संयुक्त राष्ट्रसंघले बेलायत, फ्रान्स र इजरायललाई इजिप्टबाट आफ्ना सेना फिर्ता गर्न आह्वान गर्‍यो ।

सन् १९५७ जनवरीमा इजरायलले गाजापट्टी इजिप्टको कहिल्यै नभएको तर्क दिँदै गाजापट्टी र अकाबाको खाडीको क्षेत्रबाहेक इजिप्टको बाँकी भूमि फिर्ता गर्‍यो ।

सन् १९६७ जुनमा ६ दिने युद्धमा इजरायलले गाजापट्टी र इजिप्टमा अवस्थित सिनाई प्रायद्वीपको नियन्त्रण प्राप्त गर्‍यो ।

सन् १९७३ अक्टोबर ६ देखि २० सम्म अरब राष्ट्रहरु र इजरायलबीच योङ किपुर युद्ध सुरु भयो । १९ दिनसम्म चलेको युद्धमा लगभग ३० लाख जनसंख्या रहेको इजरायलका करिब २७ सय सैनिकको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

सन् १९७९ मार्च २६ मा इजिप्ट र इजरायलले ‘ह्वाइट हाउस (अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यस्थल)’ मा शान्ति सन्धिमा हस्ताक्षर गरे । सन्धिपछि इजरायलले ‘सिनाई प्रायद्वीप’ इजिप्टलाई फिर्ता गर्‍यो । दुई देशले कब्जा गरेको क्षेत्रमा बसोबास गर्ने प्यालेस्टाइनीहरूलाई स्वशासनको लागि अनुमति दिने सम्झौताको ढाँचामा सहमत भए । तीन वर्षपछि अमेरिकाका ४०औं राष्ट्रपति रोनाल्ड रेगन जोर्डनको सुपरिवेक्षणमा उनीहरुको पूर्ण स्वायत्तताको पक्षमा उभिए । तर, त्यस्तो प्रस्तावलाई इजरायलले अस्वीकार गर्‍यो ।

सन् १९८७ डिसेम्बरमा वेस्ट बैंक र गाजामा बसोबास गर्ने प्यालेस्टाइनीहरूले इजरायलविरुद्ध पहिलो इन्तिफादा (प्यालेस्टिनी इलाका र इजरायलमा प्यालेस्टाइनीहरूद्वारा गरिएको विरोध प्रदर्शन र हिंसात्मक दंगाहरूको निरन्तर श्रृंखला) सुरु गरे । सोही वर्ष मुस्लिम भाइचाराका सदस्यहरूले हमास स्थापना गरे ।

सन् १९९३ मा प्यालेस्टाइनी नेता यासिर अराफातले इजरायलसँग वार्ता गर्दै ओस्लो सम्झौतामा हस्ताक्षर गरे । तर, सम्झौताको विरोध गर्दै हमासले इजरायलमा श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट गरायो ।

सन् १९९७ मा पुनः दुई आत्मघाती बम आक्रमण भए, जसमा परी २७ जनाले ज्यान गुमाए । लगत्तै इजरायलका प्रधानमन्त्री सिमोन पेरेसले हमासविरुद्ध निरन्तर युद्ध लड्ने घोषणा गरे ।

सन् २००० सेप्टेम्बरमा इजरायल र प्यालेस्टाइनबीचको वार्ता ‘क्याम्प डेभिड’ मा गतिरोध भएको केही महिनापछि प्यालेस्टाइनी युवाहरूले इजरायली पुलिसलाई ढुङ्गा हानेर दोस्रो इन्तिफादा सुरु गरे । इजरायलसँग लड्ने तयारीका कारण प्यालेस्टाइनभित्र हमासको समर्थन झनै बढ्दै गयो ।

सन् २००५ सेप्टेम्बरमा इजरायली सेना गाजाबाट बाहिर निस्किए । सोही वर्ष गाजापट्टीभित्र र बाहिर आउने प्यालेस्टाइनीहरूको आवतजावतमा प्रतिबन्ध लगाएकोमा इजरायलले आलोचनाको सामना गर्नुपर्‍यो ।

सन् २००६ जनवरीमा प्यालेस्टाइनी नेता यासिर अराफातको मृत्यु भयो, जो अर्धसैनिक संगठन ‘फताह’का सहसंस्थापकसमेत थिए । उनको मृत्युपछि हमासले प्यालेस्टाइनी संसदीय चुनाव जित्यो । चुनाव जितेको एक वर्षपछि हमासले फताह सेनालाई ध्वस्त पार्दै गाजाको नियन्त्रण आफ्नो कब्जामा लियो ।

सन् २००८ डिसेम्बरमा हमासले गाजाबाट रकेट लञ्च गर्‍यो । इजरायलले पनि हमासविरुद्ध आक्रमण सुरु गर्‍यो, जसमा २०० प्यालेस्टाइनी मारिए । केही समयपछि इजरायलले पुनः हमासविरुद्ध स्थलयुद्ध सुरु गर्‍यो । त्यसमा कुल १ हजार २०० प्यालेस्टिनी र १३ इजरायली मारिएका थिए ।

सन् २००९ जनवरीमा इजरायल र प्यालेस्टाइनी समूहहरूले एकपक्षीय युद्धविराम घोषणा गरे । त्यसपछि इजरायल गाजाबाट फिर्ता भयो र बाहिरी परिधिमा पुनः परिचालन गरियो ।

सन् २०१२ नोभेम्बरमा इजरायलले हमासका सेना प्रमुख अहमद अल-जबारीको हत्या गर्‍यो, जसकारण एक हप्ताभन्दा बढी गोलीको वर्षा चल्यो । त्यसमा १५० बढी प्यालेस्टाइनी र कम्तीमा ६ जना इजरायली मारिए ।

सन् २०१४ मा हमासले तीन इजरायली किशोरकिशोरीलाई अपहरण गरी हत्या गर्‍यो । सोही वर्ष हमासले गाजाबाट रकेट प्रक्षेपण गरी इजरायलमा आक्रमण गर्‍यो । सो आक्रमणमा परी झण्डै १ हजार ८८१ प्यालेस्टाइनी र ६० भन्दा बढी इजरायलीले ज्यान गुमाए ।

सन् २०१८ मा इजरायलले गाजा र इजरायललाई छुट्याउने पर्खालबाट गरिएको प्रदर्शनको जवाफस्वरुप सुरु गरेको युद्धमा लगभग १७० प्यालेस्टाइनी मारिए ।

मे २०२१ मा इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिद (इस्लामको तेस्रो पवित्र स्थल) मा छापा मार्‍यो । जसको परिणाम इजरायल र हमासबीच ११ दिन युद्ध भयो । यस युद्धमा २०० भन्दा बढी प्यालेस्टाइनी र १० जनाभन्दा बढी इजरायली मारिए ।

सन् २०२२ मा इजरायली शहरहरूमा भएको आतंकवादी हमलापछि इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेस्ट बैंकमा कम्तीमा १६६ प्यालेस्टाइनीलाई मारे ।

यस वर्ष धेरै अवसरहरूमा सयौं इजरायली सेनाले प्यालेस्टाइनी शहर जेनिनमा सैन्य आक्रमण गरेको थियो । जनवरीमा पूर्वी जेरुसेलमको एक सभाघर बाहिर एक प्यालेस्टाइनीले सात जनाको हत्या गरेका थिए ।

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर