कृषि नीति मन्त्री, नेता र कार्यकर्ता पोस्न बनाइए, किसानलाई कसैले हेरेन : पूर्वमन्त्री बलायर – Nepal Press

कृषि नीति मन्त्री, नेता र कार्यकर्ता पोस्न बनाइए, किसानलाई कसैले हेरेन : पूर्वमन्त्री बलायर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बीरबहादुर बलायरले नेपालमा कृषिसम्बन्धी नीतिहरु किसानका लागि नभएर सीमित स्वार्थ समूहका लागि बन्ने गरेको दाबी गरेका छन् ।

उनले कृषि उत्पादन बढाउन र किसानलाई सुविधा दिन सरकारले नीति बनाएको भन्ने गरेपनि व्यवहारमा त्यसको लाभ सिमिति व्यक्तिले मात्रै लिइरहेको दाबी गरे । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले भने, ‘कृषिमा उत्पादनका आधारमा जमिनको निर्धारण गरिन्छ । तर ति सबै पहुँचका आधारमा भएका छन् । म मन्त्री बनेँ भने मैले आफूले के चाहेँ, मेरो पार्टीका कार्यकर्ताले के चाहे त्यहीअनुसार सुपरजोन भनिदियो । त्यहाँ उत्पादनको केही वास्ता छैन । डोटीमा नार्कको सिफारिसमा धानको नयाँ बाली लगाइयो । मंसिर पुससम्म पनि धान लाग्दैन खाली घाँस मात्रै छ । किसानले क्षतिपूर्ती नै पाएनन् ।’

उनले वैज्ञानिक अध्ययन बिना नै पहुँचका आधारमा सरकारले कृषिसम्बन्धी नीति बनाउँदा कृषक लाभान्वित हुन नसकेको बताए । ‘हामीले उत्पादनतर्फ ध्यान दिएकै छैनौं । खाली नीतिगत कुरा गरेर बसेका छौं । किसानसम्म सरकारी कामको परिणाम पुग्दैपुगेन । केन्द्रमै हरायो । टीकापुरको केरामा हामी सफल भएका छौं । जुम्लाको स्याउ, मुस्ताङको स्याउलाई खै बजारीकरण ? स्टिकर लगाएको विदेशी स्याउ नै खोज्ने बानी छ । यसका लािग सरकारले जागरण ल्याउनसक्नुपर्छ’, उनले भने, ‘कुन क्षेत्रमा कुन बालीको उत्पादन हुन्छ, त्यसमा सरकारले काम गर्नुपर्छ । अनुसन्धानको कुनै कमी छैन । नीति नियम र कानुनको कमी छैन तर हाम्रो काम गराई र व्यवहारमा सुधार नभएसम्म किसानका समस्या यस्तै नै हुन्छन् ।’

पूर्वमन्त्री बलायरले किसानलाई सरकारले उपयुक्त सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर